• ३० वैशाख २०८३, बुधबार

मल अभावले चेपाङ बस्तीमा अन्न उत्पादन घट्ने चिन्ता

blog

राप्ती नगरपालिका–१३ स्यामराङमा मल अभावका कारण राम्रोसँग फस्टाउन नसकेको मकैबाली । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
स्यामराङ (चितवन), वैशाख ३० गते ।
चितवनको पहाडी क्षेत्रका चेपाङ समुदाय रासायनिक मल अभावका कारण खेती उत्पादन घट्ने र अन्नको समस्या हुने चिन्तामा परेका छन् ।

जिल्लाको राप्ती नगरपालिका–१२ र १३ का विकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायले परम्परागत रूपमा मकै खेती गर्दै आएका थिए । पछिल्ला केही वर्षयता भने रासायनिक मल प्रयोग गरी मकै, पाखोबारीमा हुने धान तथा सिजन र बेमौसमी तरकारी खेतीसमेत गर्न थालेका छन् । तर बजारमा युरिया मल अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

मलको अभावमा उत्पादन घट्ने भएपछि जीवनयापन कसरी गर्ने भन्ने चिन्ताले गाउँ नै प्रभावित बनेको स्थानीयवासी बताउँछन् । बजारमा एक महिनाभन्दा बढी समयदेखि युरिया मल अभाव रहेको छ ।

राप्ती नगरपालिका–१३ स्यामराङका ६३ वर्षीय रेशमलाल चेपाङले भन्नुभयो, “पहिला पाखोबारीमा मकै रोपेर छाड्ने गरिन्थ्यो । उत्पादन भए खान पाइन्थ्यो, नभए हुँदैनथ्यो । चार–पाँच वर्षदेखि युरिया मल प्रयोग गर्न थालेपछि मकै राम्रो फल्न थाल्यो । अहिले मल नपाएपछि फेरि समस्या भएको छ ।”

उहाँका अनुसार गत वर्षसम्म युरिया मल पाइएकाले मकै उत्पादन राम्रो भएको थियो । यस वर्ष पानी राम्रो परे पनि मल नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको छ ।

सोही वडाकी सुनमाया चेपाङले पनि मल अभावका कारण खेती प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला खेती गर्न नजान्दा भोकै भयौँ, अहिले खेती गर्न सिक्यौँ तर समयमा मल नपाएर फेरि समस्या हुने भयो । पाखोबारीमा खेती गर्न कठिन हुन्छ । अहिले पानी राम्रो परेको छ, मल पाए उत्पादन राम्रो हुन्थ्यो ।”

अर्का किसान आइतराम चेपाङले मकै र धानबाट वर्षभरि खान पुग्ने अवस्था रहे पनि अहिले मल अभावले उत्पादन घट्ने चिन्ता बढेको बताउनुभयो ।

चैतदेखि पानी परेपछि यहाँका पाखोबारीमा मकै राम्रोसँग हुर्किएको छ । तर समयमा मल हाल्न नपाउँदा बाली फस्टाउन नसक्ने चिन्ता किसानमा देखिएको छ ।

यहाँका चेपाङ समुदायले कोदो, आलु, बदामलगायतका बाली पनि लगाउने गरेका छन् । पछिल्ला वर्षमा पाखोबारीमा हुने धान खेतीसमेत बढेको स्थानीय विष्णु चेपाङले बताउनुभयो । उहाँका अनुसार कम पानीमा हुने उन्नत जातको धान रोप्ने गरिएको छ र खानेपानीको पाइप तथा वर्षाको पानीबाट पनि धान उत्पादन हुने गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड भरतपुर कार्यालय प्रमुख राजन बगालेले एक महिनाभन्दा बढी समयदेखि युरिया मल अभाव रहेको बताउनुभयो । चैते धानको समयमा केही मल वितरण गरिए पनि त्यसपछि वितरण गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवन जिल्लामा करिब तीन हजार मेट्रिक टन युरिया र दुई हजार मेट्रिक टन डीएपी मलको आवश्यकता पर्छ । तर हाल गोदाममा मल नहुँदा समस्या भएको हो ।

समयमा मल प्रयोग गर्न नपाउँदा बाली फस्टाउन नसकेको स्थानीय चेपाङ समुदायले बताएका छन् । राप्ती नगरपालिकाका दुई वडामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । जिल्लाभर नै रासायनिक मल अभावका कारण व्यावसायिक तथा घरायसी खेती गर्ने किसान प्रभावित बनेका छन् ।