• ३० वैशाख २०८३, बुधबार

१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड : प्रतापपुर गाउँपालिका प्रथम

blog

प्रतियोगिता समापन समारोह । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख ३० गते ।
पश्चिम नवलपरासीमा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सुनवल नगरपालिकाको समन्वयमा सञ्चालित १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतापपुर गाउँपालिका प्रथम हुन सफल भएको छ ।

सुनवलस्थित लुम्बिनी माध्यमिक विद्यालयको प्राङ्गणमा मङ्गलबार सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका विभिन्न पालिका तथा विद्यालयका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

तीन दिनसम्म चलेको प्रतिस्पर्धापछि पदक तालिकाअनुसार प्रतापपुर गाउँपालिकाले समग्रमा प्रथम स्थान हासिल गरेको हो । प्रतापपुरले १३ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३४ पदक जितेको छ । त्यस्तै, बर्दघाट नगरपालिकाले १६ स्वर्ण, ८ रजत र ७ कास्यसहित कुल ३१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने सुनवल नगरपालिकाले ६ स्वर्ण, ८ रजत र ७ कास्यसहित कुल २१ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभावान खेलाडीहरूलाई छनोट गरिएको छ । छनोटमा परेका खेलाडीहरूले आगामी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पश्चिम नवलपरासी जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको समापन समारोहमा आगामी १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ को आयोजना गर्ने जिम्मेवारी प्रतापपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सो अवसरमा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आगामी प्रतियोगितालाई अझ भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।