अमरराज नहर्की
तनहुँ, वैशाख ३० गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा बसको ठक्करबाट एकजना वृद्धको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको प्र.३–०१–००१ प १६०९ नम्बरको पर्यटक मिनि बसले पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हो ।
बसको ठक्करबाट स्थानीय ७० वर्षीय बिर्खबहादुर चुमीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार साँझ करिब ७ः४० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चुमीको शरीरका विभिन्न भागमा चोट लागेको थियो।
घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी बिकले बताउनुभयो । हाल मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ ।
प्रहरीले बस चालक गोरखाको पालुङटार नगरपालिका–१ बस्ने ३८ वर्षीय मनोज पोखरेललाई नियन्त्रणमा लिएको छ । ठक्कर दिने बसलाई भने प्रहरी चौकी डुम्रेको नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।