• २९ वैशाख २०८३, मङ्गलबार

गायिका सुष्माको एसइईमा ‘ए’ ग्रेड

blog

क दोहोरी गायिका सुष्मा शाही ठकुरी

अमरराज नहर्की
तनहुँ, वैशाख २९ गते ।
‘मकै बारी दराम दराम’ बोलको गीतबाट युट्युबमा ५६ मिलियनभन्दा बढी भ्यूज बटुलेर चर्चामा रहनु भएकी चर्चित लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट सफलता हासिल गर्नु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उहाँले ३.२५ जीपीए (ए ग्रेड) ल्याएर उत्तीर्ण हुनु भएको हो ।

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलबाट अध्ययन गरी कपनको दीक्षालय स्कुलमा परीक्षा दिएकी सुष्माले यो सफलतालाई आफ्नो कल्पनाभन्दा बाहिरको खुसी बताउन भएको छ । १४ वर्षको अन्तरालपछि पुनः कलम समातेर उहाँले यो सफलता प्राप्त गर्नुभएको हो । 

विवाहपछि रोकिएको पढाइ, सपनामा देखिने परीक्षा
सामाजिक सञ्जालमा आफ्नो खुसी साट्दै सुष्माले विगतका संघर्षपूर्ण दिनहरूको स्मरण गर्नुभएको छ । २०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा ‘भागि विवाह’ गरेकोले गर्दा उहाँको पढाइ रोकिएको थियो । उहाँले लेख्नु भएको छ “पढाइ छुटेपछि कयौँ रातहरू कक्षा १० को परीक्षा दिइरहेको सपना देख्थेँ र ब्युँझिएपछि भक्कानो छोडेर रुने गर्थेँ ।”

बच्चाले बच्चा जन्माएँ, तर हार खाइनँ
विवाहपछि सानै उमेरमा आमा बन्नु भएकी सुष्माले छोराको भविष्य र आफ्नो कलाकारिताको यात्रालाई अघि बढाउँदै जाँदा पढाइलाई फेरि निरन्तरता दिने आँट गर्नुभयो । “बच्चाले बच्चा जन्माएँ, छोराको भविष्य सोच्दा सोच्दै कलाकारिता रोजेँ, शाहीले भन्नभयो, “तर आफ्ना मान्छेहरूको दबाब र सकारात्मक सोचका कारण फेरि पढ्ने निर्णय लिएँ र आज जिन्दगीको एउटा ठुलो सपना पूरा भएको छ ।”

कलाकारितामा पनि उत्तिकै सफल
सुष्मा अहिलेकी ‘भाइरल’ र व्यस्त गायिका हुनुहुन्छ । उहाँको स्वरमा रहेको ‘मकै बारी दराम दराम’ गीतले नेपाली लोक सङ्गीतको बजारमा ठुलो चर्चा कमाएको छ । गायन क्षेत्रमा व्यस्त रहँदा रहँदै पनि समय व्यवस्थापन गरेर उहाँले ल्याएको यो नतिजा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । आफ्नो यो सफलतामा साथ दिने परिवार र मार्गदर्शकहरूप्रति आभार व्यक्त गर्दै उहाँले आफ्नो जन्मदिनकै दिन (चैत १९ गते) परीक्षाको सेन्टर परेको संयोगलाई पनि स्मरण गर्नु भएको छ । उहाँको यो प्रगतिपछि सामाजिक सञ्जालमा शुभचिन्तक र कलाकारहरूले बधाईको ओइरो लागेको छ ।