• २९ वैशाख २०८३, मङ्गलबार

भन्सार छलीका ३२ लाख बराबरका सामान बरामद

blog

जिल्ला प्रहरी कार्यालय नवलपुरले बरामद गरेको अवैध सामान । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, वैशाख २९ गते ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले ३२ लाख रुपियाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१६ रजहरमा ना ५ ख ८९९० नम्बरको ट्रकबाट लुकाइछिपाइ बिलबिजक नभएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिनुभयो । उक्त ट्रकमा नुनका बोरा लोड गरिएको थियो ।

बरामद गरिएका सामानमा ४५० किलो काँचो कफी, ८८० थान एयरबड, १७ हजार ८७० थान मोबाइल टेम्पर ग्लास, दुई हजार १०० थान स्मार्ट वाच, एक हजार थान मोबाइलमा टाँस्ने स्टिकर, २२० थान लेडिज सुट, १३८ थान जिन्स तथा कटन पाइन्ट, १७० थान साडी र एक हजार ३०० थान फाइबर ब्याग रहेका छन् ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ । भन्सार छली गरी चोरी निकासी भइरहेको भन्ने विशेष सूचनाका आधारमा अवैध सामान बरामद गर्न सफल भएको सूचना अधिकारी पण्डितले बताउनुभयो ।