• ३० फागुन २०८२, शनिबार

पश्चिम एसियाको तनाब : नेपालीको सुरक्षा संवेदनशीलता

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ३० गते । पश्चिम एसियाको विषम परिस्थितिले नेपालको रोजगारीमा प्रत्यक्ष असर पर्ने देखिएको छ । ठुलो सङ्ख्याका नेपालीको कर्मथलोमा द्वन्द्व चर्किंदा नेपालीको रोजगारी गुम्ने अवस्था देखिएको हो । 

श्रमविज्ञ एवं आप्रवासन अनुसन्धानकर्ता रामेश्वर नेपालले द्वन्द्व बढ्दै जाँदा सबैभन्दा ठुलो चिन्ता त्यहाँ कार्यरत नेपालीको सुरक्षाको रहेको बताउनुभयो । त्यस्तै रोजगारीका लागि ती देशमा दैनिक जाने एक हजार सात सय नेपाली र उनीहरूका परिवारको आकाङ्क्षा पनि प्रभावित भएको र यसलाई सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

“वैदेशिक रोजगारीमा जान ऋण लिएका र ठुलो रकम खर्च गरिसकेका श्रमिक यस्तो सङ्कटका कारण गम्भीर आर्थिक समस्यामा पर्न सक्ने भएकाले त्यस विषयमा पनि सरकार गम्भीर हुनु पर्छ,” उहाँले भन्नुभयो । ती देशमा औपचारिक रूपमा १७ लाख र अनौपचारिकसमेत गरेर २०/२१ लाख नेपाली कार्यरत रहेको अनुमान छ । युद्ध वा सङ्कटको अवस्थामा रोजगारदाता कम्पनीले तलब रोक्का गर्ने र श्रमिकलाई स्वदेश फर्किन नदिने समस्या पनि देखिन सक्ने उहाँको बुझाइ छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले खाडी क्षेत्रमा भइरहेका मिसाइल आक्रमणले पनि श्रमिकलाई ठुलो जोखिममा पारेको र उनीहरू त्रासमा रहेको अवस्थामा सरकारले समयमा आधिकारिक सूचना दिने संयन्त्र तयार गर्न पनि सुझाव दिनुभयो । 

“परराष्ट्र मन्त्रालयले दूतावासमा थप जनशक्ति परिचालन गरेर सूचना र टेलिफोन सेवालाई चौबिसै घण्टा सक्रिय बनाउनु पर्छ,” उहाँले भन्नुभयो, “स्वदेश फर्कन चाहने श्रमिकका लागि उडान र यात्रा अनुमति सहज बनाउनुपर्ने आवश्यकता छ ।” उहाँले उद्धार कार्यमा गर्भवती महिला, बिरामी तथा जटिल स्वास्थ्य समस्या भएका श्रमिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

“कूटनीतिक पहलमार्फत रोजगारदातासँग बाँकी रहेको तलब र सेवासुविधा दिलाउन सरकार सक्रिय हुनु पर्छ,” उहाँले भन्नुभयो, “सङ्कट व्यवस्थापनका लागि उच्चस्तरीय ¥यापिड रेस्पोन्स टोली बनाएर उद्धार र राहतको काम अघि बढाउनु पर्छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले ती देशमा रहेका नेपाली नियोगले आफ्ना नागरिकको सुरक्षाका लागि असाध्यै संवेदनशील भएर सक्रियताका साथ काम गरिरहेको बताउनुभयो । अहिलेसम्मको परिस्थितिमा उद्धार नै गर्नुपर्ने अवस्था नदेखिए पनि प्राथमिकताका आधारमा सहायता गर्ने काममा निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार यात्रा सहजीकरण र सचेतना ट्रान्जिटमा रहेका वा अत्यावश्यक परी नेपाल आउनुपर्ने अवस्था भएका नेपालीका लागि सम्बन्धित एयरलाइन्स र सरकारी निकायसँग समन्वय गरी यात्रा सहजीकरण भइरहेको छ । 

सरकारले तत्कालमा गर्नुपर्ने काम र दीर्घकालमा असाध्यै जटिल अवस्था भएर सबै नागरिकलाई उद्धार गर्नुपर्ने अवस्थासमेतलाई सोच विचार गरेर काम गरिरहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । “हामीले त्यो अवस्था नहोस् भनेर कामना गर्नु पर्छ र गरिरहेका छौँ, “मन्त्री भण्डारीले भन्नुभयो, “यति अप्ठ्यारो अवस्था आएको खण्डमा हाम्रो तर्फबाट तयारी पनि हुनु पर्छ ।” साथै उहाँले ती देशमा विभिन्न कानुनी झमेलामा रहेका, कागजातविहीन भएका र अस्पतालमा रहेका नागरिकलाई अनलाइन पोर्टलमार्फत आफ्नो विवरण दर्ता गर्न आग्रह गर्नुभयो ।

विशेष उडानबाट उद्धार जारी

हिमालय र नेपाल एयरलाइन्सले खाडी क्षेत्रमा जारी पछिल्लो परिस्थितिबिच संयुक्त अरब इमिरेट्स (युएई) मा रोकिएका नागरिकलाई स्वदेश फिर्ता ल्याउने क्रम जारी छ ।

अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि पश्चिम एसियाका नौ वटा देशले फागुन १६ गतेदेखि आफ्नो हवाईक्षेत्र आंशिक तथा पूर्ण रूपमा बन्द गरेसँगै युएई, कतार, साउदी अरब, कुवेतलगायतका देशमा नियमित उडान बन्द छ । हवाई सुरक्षाको बढ्दो चुनौतीबिच हिमालयले युइईको दुबईमा पछिल्ला पाँच दिनमा दैनिक एक विशेष उडान सञ्चालन गरेर त्यहाँ रोकिएका ७६५ नेपाली नागरिक स्वदेश फर्काएको जनाएको छ ।

नेपाली नागरिकको उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, नेपाल नारिक उड्डयन प्राधिकरण, कूटनीतिक नियोग तथा सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सुरक्षित रूपमा विशेष उडान सञ्चालन गर्दै आएको हिमालयन एयरलाइन्सले जनाएको छ ।

हाल हिमालयसँग चार वटा जहाज छन् । उक्त जहाजले मध्यपूर्व र दक्षिण एसियातर्फ युएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनका विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । नेपाल वायुसेवा निगमले पनि पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याउन सुरु गरेको छ ।

बिहीबार दुबई विमानस्थलमा गरेको विशेष उडानमार्फत २७२ जना नेपालीलाई स्वदेश ल्याएको निगमले काठमाडौँ विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पु¥याइएको छ । निगमले शुव्रmबार पनि यहाँबाट २६७ जना यात्री दुबई पु¥याएर उताबाट १६४ जना नेपालीलाई स्वदेश ल्याउने तयारी छ ।