• ३० फागुन २०८२, शनिबार

पञ्चेबाजा कलाकार दर्जीलाई सम्मान

blog

पञ्चेबाजा कलाकार हरिबहादुर दर्जीलाई सम्मान गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, फागुन ३० गते ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाले पञ्चेबाजा कलाकार ७० वर्षीय हरिबहादुर दर्जीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानले २५ औँ राष्ट्रिय लोक दोहोरी दिवस सन्दर्भमा पुतलीबजार नगरपालिका–१४ लामागेस्थित पाणिनी आश्रममा गरिएको कार्यक्रममा सम्मान गरिएको हो ।

प्रतिष्ठानले लोकसंस्कृति संरक्षण तथा प्रवर्धनमा योगदान पुर्‍याएको भन्दै पुतलीबजार नगरपालिका–१४ लामागे पञ्चेबाजा समूहका संयोजक दर्जीलाई सम्मान गरिएको हो ।

दर्जीलाई दोसल्ला ओढाएर सम्मानपत्रले प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले सम्मान गर्नुभएको हो । स्याङ्जाली कलाकारहरूको राष्ट्रियस्तरमै उल्लेखनीय उपस्थिति रहेको उल्लेख गर्दै रिजालले इतिहास भुल्न नसकिने बताउनुभयो ।

नेपाली लोकसंस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको प्रतिष्ठान स्याङ्जाका अध्यक्ष जगत गौडेलले बताउनुभयो ।

यस्तै दिवसमा प्रतिष्ठानले लोकसंस्कृतिको जगेर्ना, कलाकारको सम्मान तथा नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले पाणिनी गुरुकुलम् आश्रमलाई २० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुका साथै वृक्षरोपण कार्यक्रम गरेको थियो ।  

२०७० सालमा स्थापना भएको आश्रममा विभिन्न जिल्लाबाट आएका २० जना बटुक अध्ययनरत रहेका छन् । कार्यक्रममा नाचगानसहित सांस्कृतिक प्रस्तुति दिँदै सहभागीलाई मनोरञ्जन प्रदान गरिएको थियो ।