मुलुक अहिले सामाजिक, आर्थिक, राजनीतिक र प्रविधिको परिवर्तनको दौरानमा छ । आर्थिक विविधीकरण, प्रविधिको विस्तार र सामाजिक संरचनामा आएको परिवर्तनले आन्तरिक श्रम बजारलाई प्रत्यक्ष असर पारेको छ । युवा लक्षित रोजगारीका अवसर, रोजगारीको किसिम, सिपको आवश्यकता र वैदेशिक रोजगारीको प्रवृत्तिमा गहिरो प्रभाव पारेको छ ।
रोजगारीका अवसर प्रायः सहरी क्षेत्रमा केन्द्रित छन् । ग्रामीण क्षेत्रमा रोजगारीका सीमित अवसर छन् । ग्रामीण क्षेत्रमा कृषि, निर्माण, उद्योग, सेवा, पर्यटन, सूचना प्रविधि, उद्यमशीलता तथा नवप्रवर्तनलगायत अन्य कैयौँ क्षेत्रमा समेत युवा रोजगारीका अत्यधिक सम्भावना छन् । यी सम्भावनालाई मूर्त रूप दिन नीति, संरचना, लगानी, विधि, प्रविधि, प्रक्रिया र श्रम बजार सञ्जालको विकास गर्नु अति अत्यावश्यक छ । स्थानीय स्रोत, सिप र सम्भावनाको पहिचान गरी विभिन्न सरोकारवाला निकायको सहयोग, समन्वय र सहकार्यमा स्टार्टअप, इनोभेसन र उद्यमशीलतामार्फत स्वरोजगारीका अवसर सिर्जना गर्नु पर्छ । सङ्घीय र प्रदेश सरकारले ग्रामीण क्षेत्रमा औद्योगिक विकास एवं विस्तारमा समेत लगानी गर्नु आवश्यक छ ।
युवा जनशक्ति राष्ट्रिय विकासको मेरुदण्ड मात्र नभई सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख संवाहक पनि हो । राष्ट्रिय युवा नीति, २०८२ अनुसार १८–३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवा मानिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्याको ३०.१० प्रतिशत जनसङ्ख्या १८–३५ वर्ष उमेर समूहभित्रको युवाको जनसङ्ख्या छ भने ४२.५६ प्रतिशत जनसङ्ख्या १६–४० वर्ष उमेर समूहको । नेपालको जनसङ्ख्यिक संरचनामा युवाको बाहुल्य छ । नेपाल हाल जनसाङ्ख्यिक लाभको अवस्थामा छ । जहाँ काम गर्न सक्ने युवाको हिस्सा उच्च छ र यो अवस्था आगामी करिब २५/२६ वर्षसम्म मात्र रहने छ । यो राष्ट्रको आर्थिक वृद्धि र विकासका लागि ठुलो अवसर हो । यस अवधिभित्र युवालाई राष्ट्रिय उत्पादनसँग जोड्न सकिएन भने भविष्यमा यो जनसाङ्ख्यिक लाभ राष्ट्रका लागि ठुलो आर्थिक र सामाजिक भार बन्न सक्छ ।
युवा रोजगारीको अवस्था
नेपाल श्रमशक्ति सर्वेक्षण, १९९५/९६ अनुसार नेपालको बेरोजगारी दर ४.९ प्रतिशत थियो । नेपाल श्रमशक्ति सर्वेक्षण, २०१७/१८ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत पुगेको थियो भने नेपाल जीवनस्तर सर्वेक्षण, २०२२/२३ अनुसार बेरोजगारी दर १२.६ प्रतिशत पुगेको छ । सन् १९९५/९६ मा १५–२४ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर ७.३ प्रतिशत रहेकोमा सन् २०२२/२३ मा यो दर २२.७ प्रतिशत पुगेको छ । यसले नेपालमा बेरोजगारी दरको साथसाथै युवामा बेरोजगारी दर पनि बढ्दै गएको स्पष्ट देखिन्छ । यो उच्च बेरोजगारी दरले सक्रिय जनसङ्ख्यालाई निष्क्रिय पुँजीमा परिणत गरिरहेको देखाउँछ, जसले जनसाङ्ख्यिक लाभांशको अवसरलाई आर्थिक बोझमा परिणत गर्ने जोखिम पनि बढाएको छ ।
युवा रोजगारीका अवरोधक
मुलुकमा रोजगारीको अवस्था एकदम जटिल छ । युवा जनशक्तिको ठुलो हिस्सा बेरोजगार वा अर्धबेरोजगार छ । मुलुकमा सिपयुक्त जनशक्तिको कमी, अनौपचारिक क्षेत्रमा उच्च रोजगारी र वैदेशिक रोजगारीमा निर्भरता जस्ता श्रम बजारका मुख्य चुनौती छन् । युवा शैक्षिक र रोजगारीका अवसरको खोजीमा दिनानुदिन विदेश पलायन भइरहेका छन् ।
अर्थतन्त्रको बनावट वा स्वरूपमा परिवर्तन भएकै कारण आन्तरिक रोजगारीका अवसरमा सङ्कुचन आएको छ । अर्थतन्त्र औद्योगिक चरणमा प्रवेश नगरी सिधै कृषि क्षेत्रबाट सेवा क्षेत्रमा रूपान्तरण भएको छ । जसले गर्दा देशमा उत्पादनशील रोजगारीको आधार एकदमै कमजोर बनेको छ । नेपालको श्रम बजारको अर्को मूल समस्या भनेको अनौपचारिक अर्थतन्त्रको प्रभुत्व हो । श्रम बजारको करिब ८० प्रतिशत हिस्सा अझै अनौपचारिक क्षेत्रले ओगटेको छ ।
नेपालका ५८.५ प्रतिशत युवा शिक्षा, सिप वा रोजगारीमा संलग्न नरहेको देखिन्छ । विश्वमा हरेक पाँच जनामा एक जना अर्थात् २०.४ प्रतिशत युवाको संलग्नता शिक्षा, सिप वा रोजगारीमा नरहेको अवस्था छ । यो विश्वव्यापी औसत भन्दा झन्डै तीन गुणा बढी छ । यसले नेपाली युवा शक्तिको ठुलो हिस्सा निष्व्रिmय रहेको देखाउँछ । ७३ प्रतिशत युवासँग शैक्षिक प्रमाणपत्र भए पनि श्रम बजारले खोज्ने प्राविधिक र व्यावसायिक सिपको चरम अभाव छ । जसले युवा बेरोजगारीको वर्तमान अवस्थालाई उजागर गरेको छ ।
युवा रोजगारीका मार्गचित्र
विश्वव्यापी रूपमा सूचना प्रविधि, स्वचालन, डिजिटल रूपान्तरण र आर्थिक क्षेत्रमा द्रुत गतिमा भइरहेका परिवर्तनले कामको प्रकृति र स्वरूपमा समेत परिवर्तन गरिरहेका छन् । जसले रोजगारीको स्वरूप र आवश्यकता दुवैलाई रूपान्तरण गरेको छ । पुराना एवं परम्परागत प्रकृतिका काममा ह्रास हुँदै गएको छ भने नयाँ नयाँ सिप र दक्षता आवश्यक पर्ने कामको सङ्ख्या बढ्दै गएका छन् । श्रम बजारको प्रकृतिमा आएको परिवर्तनसँगै नयाँ नयाँ सिपको माग र आवश्यकता पनि बढ्दै गएको छ । परिणामतः आजको युवा पुस्ता रोजगारीका लागि श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्षम छैन ।
रोजगारी केवल श्रम र ज्यालाको विषय मात्र नभई यो विभिन्न प्रणाली र पात्रबिचको एकीकृत सञ्जाल हो । नेपालमा रोजगारीका क्षेत्रमा भएका विगतका प्रयास असफल हुनुको मुख्य कारण भनेको एकीकृत दृष्टिकोणको अभाव हो । श्रम बजारको प्रभावकारी व्यवस्थापनका लागि मुख्य पाँच वटा पक्ष–प्रणाली, कर्ता/भूमिका निर्वाह गर्ने पक्ष (एक्टर्स), कारक तत्व, क्षेत्र (सेक्टर्स) र सरोकारवाला (स्टेकहोल्डर्स) बिचको लिङ्केज र अन्तरसम्बन्ध ।
प्रणाली : रोजगारी सिर्जनाको मुख्य आधार प्रणाली हो । प्रणाली भनेको कानुनी पूर्णता, नीतिगत स्पष्टता र संस्थागत संरचना हो । सञ्चालन पद्धति हो । प्रणालीगत कमजोरीले रोजगारी सिर्जना एवं रोजगारमूलक सूचना प्रवाहमा अवरोध सिर्जना गर्छ । प्रणालीले रोजगारसम्बन्धी नीति, रणनीति, योजना, कार्यक्रम, सिप विकास नीति र श्रम बजार सूचना व्यवस्थापन प्रणालीको रूपरेखा तय गर्छ । प्रणाली बलियो र सुदृढ भएमात्र श्रम बजारमा रोजगारीको माग र आपूर्तिबिच सन्तुलन कायम हुन्छ । व्यवस्थित र सक्षम प्रणाली नभएसम्म रोजगारी सिर्जना गर्न जटिल छ । उपयुक्त प्रणालीको विकासले नै श्रम बजारलाई सन्तुलित, व्यवस्थित र गतिशील बनाउने काम गर्छ ।
कर्ताहरू (एक्टर्स) : रोजगारी सिर्जनामा प्रत्यक्ष वा सक्रिय भूमिका निर्वाह गर्ने नीति निर्माता, रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था, सहयोगी संयन्त्र वा सङ्घ संस्था श्रम बजारका प्रमुख कर्ता हुन् । यी पात्रबिच समन्वयको अभाव वा समयानुकूल जिम्मेवारी वा भूमिका सही ढङ्गले वहन गर्न नसकेको खण्डमा न रोजगारी सिर्जना गर्न सकिन्छ न त बेरोजगारी नै घटाउन सकिन्छ । तसर्थ श्रम बजारलाई चलायमान बनाउन नीति निर्माता, कार्यान्वयनकर्ता, रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति र तालिम प्रदायक संस्थाले श्रम बजारको माग र आपूर्तिलाई सन्तुलन गर्ने खालको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नु पर्छ ।
कारक तत्व (फ्याक्टर्स) : रोजगारी सिर्जना र श्रम बजारलाई प्रभाव पार्ने आधारभूत कारक तत्व शिक्षा, सिप, पुँजी, प्रविधि, जनसाङ्ख्यिक अवस्था, भौगोलिक बनावट, लैङ्गिक समानता, श्रम बजारको माग र आवश्यकता आदि रहेका छन् । यी कारक तìवबिचको असफलताले जनसाङ्ख्यिक लाभको अवस्था हुँदाहुँदै पनि मुलुक न्यून उत्पादकत्वको चक्रमा फसेको अवस्था छ । शिक्षा प्रणाली श्रम बजार अनुकूल हुनु पर्छ । सिप विकासमा लगानी बढाउनु पर्छ । सिप विकास नीतिलाई श्रम बजार उन्मुख बनाउन सकियो भने रोजगारी सिर्जनामा सुधार ल्याउँछ र वैदेशिक रोजगार माथिको निर्भरतालाई घटाउँछ । युवालाई रोजगारीमा सहज पहुँचका लागि श्रम बजार प्रणालीलाई प्रविधिमैत्री र सिपकेन्द्रित बनाउन एकदम जरुरी छ ।
क्षेत्रहरू (सेक्टर्स) : रोजगारीका अवसर फरक–फरक क्षेत्र जस्तैः कृषि, सूचना प्रविधि, निर्माण, स्वास्थ्य, पर्यटन, सेवा क्षेत्र, उत्पादन क्षेत्र जस्ता उच्च सम्भावना भएका क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ । रोजगारी सिर्जना हुने फरक–फरक अर्थतन्त्र वा आर्थिक क्षेत्रहरू जस्तैः हरित अर्थतन्त्र, डिजिटल अर्थतन्त्र, केयर अर्थतन्त्रको रूपान्तरणबिना रोजगारीका नयाँ नयाँ अवसरको सिर्जना प्रायः असम्भव नै छ । तसर्थ कृषि क्षेत्रको आधुनिकीकरण गर्नु पर्छ । औद्योगीकरणलाई प्रोत्साहन गर्नु पर्छ । पर्यटन क्षेत्रको विकास एवं विस्तार गर्नु पर्छ । थप लगानी गर्न लगानीयोग्य वातावरण निर्माण गर्नु पर्छ ।
सरोकारवाला (स्टेकहोल्डर्स) : रोजगारी सिर्जना एवं प्रवर्धनमा विभिन्न सरोकारवाला निकाय जस्तैः सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, ट्रेड युनियन, रोजगारदाता महासङ्घ, शैक्षिक संस्था, तालिम प्रदायक संस्था, विकास साझेदार, दातृ निकाय आदि सबैको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका रहने गर्छ । यी सरोकारवाला निकायबिचको समन्वय, सहकार्य र एकीकृत संयोजनले मात्र रोजगार नीति, रणनीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ र श्रम बजारलाई चलायमान बनाउन सकिन्छ । यी पाँच पक्षबिच लिङ्केज, समन्वय र सहकार्य हुन एकदम जरुरी छ ।
निष्कर्ष
रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले हो । लगानीयोग्य वातावरणको अभाव र लगानीको असुरक्षाका कारण निजी क्षेत्रले दीर्घकालीन रूपमा थप लगानी गर्न हिच्किचाउँछ । जसले श्रम बजारमा थप चाप बढ्ने र अस्थिरता ल्याउने सम्भावना प्रबल हुन्छ । नेपालमा रोजगारीको अवस्था चुनौतीपूर्ण भए पनि रोजगारीका सम्भावना पनि उत्तिकै छन् । अब रोजगारी सिर्जना मुख्य एजेन्डा बन्नु पर्छ ।