• ८ मंसिर २०८१, शनिबार

चलचित्रको हिसाबकिताब: भन्ने एउटा, देखाउने अर्कै

blog

काठमाडौँ, जेठ ५ गते । चलचित्र निर्माता र चलचित्र प्रदर्शक (हल मालिक) बिचको हिसाबकिताब विवाद नयाँ होइन । निर्माता र हल सञ्चालकबिच चलचित्र प्रदर्शनको विषयलाई लिएर गए वर्ष ठुलै विवाद चलेको थियो । नेपाली चलचित्रलाई पर्याप्त ‘सो’ नदिने आरोप हल मालिकमाथि निर्माताले लगाउँदै आएका थिए । हल सञ्चालकले नेपाली चलचित्रले हलको भाडासम्म उठ्नुपर्ने जिकिर गर्ने गर्थे तर अहिले यो विवाद साम्य भएको छ । नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घबिच ५०/५० प्रतिशत सेयर बाँडफाँट गर्ने सहमति भएपछि यो विवाद टुङ्गिएको हो । हिसाबकिताबको यो विवाद टुङ्गिएपछि काठमाडौँका हलमा दर्शक सङ्ख्या बढ्न थालेका छन् । चलचित्रको व्यापार लयमा फर्किन थालेको हल सञ्चालक बताउँछन् । ‘मल्टिप्लेक्स’ र ‘डिजिटल’ ले गर्दा पनि अहिले हलमा दर्शक बढ्न थालेका हल सञ्चालकको भनाइ छ । 

चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार मल्टिप्लेक्स र डिजिटल चलचित्रको समानान्तर प्रवेशसँगै काठमाडौँमा चलचित्र हेर्ने दर्शकको संस्कारमा आमूल परिवर्तन आएको छ । अध्यक्ष महर्जनले भन्नुभयो, “हामीले हलमा दर्शकलाई दिने भनेकै सेवा हो । दर्शक हलमा मनोरञ्जन र माइन्ड फ्रेस गर्न आउँछन् ।”

उहाँले भन्नुभयो, “दर्शकलाई टिकट बुकिङदेखि हल छिर्दासम्म सजिलो वातावरण बनाउनु जरुरी छ ।” उहाँका अनुसार पहिला विश्वज्योति, रञ्जनालगायत पुराना चलचित्र हलमा दर्शक क्षमता आठ सयदेखि हजारसम्म थियो । अहिले मल्टिप्लेक्स आइसकेपछि एउटा हल दुईदेखि तीन सय दर्शक क्षमताका छन् । देशभरि १५० भन्दा बढी चलचित्र हल भएको उहाँले दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “यसमा सयभन्दा माथि नेपाली चलचित्र प्रदर्शन भइरहेका हुन्छन् ।” तराईमा पनि चलचित्र हल थुप्रै छन् तर नेपाली चलचित्रको अझै पनि व्यवस्थापन गर्न नसकेको उहाँले दुःखेसो गर्नुभयो । उहाँका अनुसार तराईका दर्शकलाई नेपाली चलचित्र अझै पनि देखाउन नसकेका कारण तराईतिर नेपाली चलचित्र हेर्ने दर्शक अलि कम छन् । एउटा चलचित्रले यति नै पैसा उठाउँछ भन्ने कुरामा उहाँको भनाइ केही भिन्न छ । उहाँका अनुसार चलचित्रले कति पैसा उठायो भन्ने कुरा चलचित्र अनुसार फरक हुन्छ । चलचित्र ‘महाजात्रा’ को एउटा तथ्याङ्क आउन सक्छ भने चलचित्र ‘बोक्सीको घर’ को अलग्गै तथ्याङ्क आउन सक्छ । त्यसैले एउटा थिएटरमा यति नै आयो भन्न नहुने उहाँले बताउनुभयो । पहिला सिङ्गल थिएटर हुँदा टिकट पनि सस्तो थियो । ३०/४० रुपियाँमै चलचित्र हेर्न पाइन्थ्यो तर अहिले टिकटको पाँच सय रुपियाँसम्म पर्छ । सधैँ एउटा प्रविधिमा चलचित्र हेर्ने हेराउनेभन्दा पनि प्रविधिसँगै चलचित्र हलले पनि आफूलाई परिमार्जित गरेर लिएर गएको उहाँले बताउनुभयो । सायद विश्वज्योति, रञ्जना पहिलेकै जस्तो भएको भए चल्थेन होलान् । 

“अहिले जति पनि चलचित्रले ५१ दिन मनाएको घोषणा गरेका छन् । त्यो हलमा साँच्चै नै दर्शक आएर नै भएको हो,” उहाँले भन्नुभयो । हलमा चार हप्तासम्म दर्शक भरिभराउ नै हुन्छन् तर पाँच हप्तापछि दर्शक घटेको हो कि भन्ने महसुस हुन्छ । हरेक मल्टिप्लेक्समा दर्शक भरिभराउ नै भएर ५१ दिन भएको उहाँको भनाइ छ । निर्माताले सिधै हलवालासँग आफ्नो चलचित्रको पैसा माग्दैनन् । निर्मातालाई वितरकले चलचित्र दिएको हुन्छ र वितरकले पहिला नै अग्रिम भुक्तानी निर्मातालाई बुझाइसकेका हुन्छन् । अहिले जति पनि ठुला चलचित्र छन्, सबैमा वितरकले अग्रिम भुक्तानी दिइसकेका छन् । फेरि वितरकले बिल काटिसकेको १५ दिनपछि मात्र पैसा आउने हो । आज बिल काट्दैमा आजै पूरा पैसा भुक्तानी हुन्छ भन्ने हुँदैन । अग्रिम भुक्तानीमा ५० देखि ८० लाख रुपियाँ वितरकले निर्मातालाई बुझाउने गरेको महर्जनले बताउनुभयो । अहिले राम्रो चलचित्र बनाउनेका लागि पैसा अभाव हँुदैन । नेपाल वितरक, ओभरसिज, डिजिटल राइट्सबाट अग्रिम भुक्तानी आउने गरेको छ । 

चलचित्र ‘मनसरा’ का कार्यकारी निर्माता सिजन दाहाल चलचित्र राम्रो चलेमा वितरकले पनि भुक्तानी गर्न ढिलो नगर्नेमा सहमति जनाउनुहुन्छ । उहाँका अनुसार भुक्तानी हुन्छ, खालि ढिलोचाँडोको कुरा मात्र हो ।