• ६ मंसिर २०८२, शनिबार

स्वास्थ्य शिविरबाट सात सय बढि लाभान्वित

blog

स्वास्थ्य शिविरमा सेवा लिन पालो पर्खदै नागरिक । तस्बिर : राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे 

वालिङ (स्याङ्जा), मङ्सिर ६ गते । स्याङ्जाको चापाकोट नगरपालिका–४ मा सञ्चालन भएको वृहत स्वास्थ्य शिविरबाट सात सय २७ जना लाभान्वित भएका छन् ।

 गाउँमा नै विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध हुने भए पछि चापाकोट सहित छिमेकी हरिनास र बिरुवा गाउँपालिकाबाट पनि नागरिक शिविरमा पुगेका थिए ।

 खुमा अर्याल फाउन्डेसनले आफ्नो सातौँ स्थापना दिवसको अवसर पारेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

फाउन्डेसनले स्थानीय मल्याङकोट स्वास्थ्यचौकी दार्सिङमा चापाकोट नगरपालिकाको समन्वय, गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

शिविरमा उपचार गराउन आएकाहरू मध्ये जटिल समस्या भएका बिरामीहरूका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।

 रिफर गरिएका बिरामीका लागि औषधीमा पाँच प्रतिशत र सेवामा २० प्रतिशत सम्म छुट दिइने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको भनाइ छ । 

शिविरमा महिलाको पाठेघरको क्यान्सरको लागि विशेषज्ञ परिक्षण एवम् भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इको, इ सि जि तथा प्रयोगशाला सेवा समेत उपलब्ध रहेको थियो । 

खुमा फाउन्डेसनले हरेक वर्ष फाउन्डेसनले स्थापनाको अवसरमा मङ्सिर ५ मा विभिन्न रचनात्मक र राहत मूलक कार्यक्रमहरू आयोजना गरेर दिवस मनाउँदै आएको छ ।

 शिविरमा चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाण ९ईश्वर०ले फाउण्डेसनले विकट गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिँदा गाउँका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो । 

कार्यक्रममा उद्यमी तथा फाउन्डेसनका संस्थापक खुमा प्रसाद अर्यालले आफूहरूले विकट गाउँका नागरिकलाई लक्षित गर्दै स्वास्थ्य सेवा दिने अभियान नै चलाएको जानकारी दिनुभयो । 

शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मधु रोका, वरिष्ठ रेडियोलोजिस्ट डा केशव शर्मा ,वरिष्ठ नाक कान, घाँटी रोग विशेषज्ञ डा सञ्जय कोइराला, स्त्रीरोग विशेषज्ञ डा बिनिता शर्मा, वरिष्ठ हाडजोर्नी, बाथ तथा छाला रोग विशेषज्ञ डा ईश्वर कडेल, छाला रोग विशेषज्ञ डा रक्षा पाठक, वरिष्ठ दन्त रोग विशेषज्ञ डा उज्ज्वल कोइराला, बाल रोग विशेषज्ञ डा सन्दीप पोख्रेल र जनरल सर्जन डा आनन्द भट्टराई लगायतका वरिष्ठ स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।