• १४ वैशाख २०८३, सोमबार

र्‍यापिड तथा ब्लिट्ज राष्ट्रिय बुद्धिचालको तयारी पूरा

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, वैशाख १४ गते । रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ । 

काठमाडौँ क्षेत्रपाटी क्लबले आफ्नो संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा वैशाख १६ देखि १८ गतेसम्म सञ्चालन गर्न लागेको प्रतियोगितामा देशभरका दुई सय खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष गोपाल मालीले जानकारी दिनुभयो । 

मालीले बुद्धिचाल खेलको विकास तथा युवा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले क्बलका संस्थापकको स्मृतिमा प्रतियोगिता गर्न लागिएको पनि बताउनुभयो ।

कूल तीन लाख रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा र्‍यापिडतर्फ दुई लाख र ब्लिट्जतर्फ एक लाख पुरस्कार रहेको छ । जसमा र्‍यापिडतर्फको विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ३५, २५  १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै ब्लिट्जतर्फ विजेता, उपविजेता र तेस्रो हुनलाई क्रमश: १५, १० र आठ हजार रुपियाँ प्रदान गरिने छ । महिलातर्फको विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः १०, सात र पाँच हजार रुपियाँ प्रदान गरिने छ । 

प्रतियोगितामा उमेरसमूह (सिनियर ५५ वर्षमाथि), रेटिङ १८०० र १६०० भन्दा कम, अनरेटेड तथा जुनियर (यु–१२, १४ र १६) सहित ४४ जना खेलाडीलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ । 

उपत्याका बाहिरबाट आउने खेलाडीलाई बसोवासको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको अवसरमा काठामाडौँ महानगरपालिका वडानं. १७ बाट अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका विभिन्न खेलका १३ जना खेलाडीलाई सम्मान गरिने जानकारी पनि अध्यक्ष मालीले दिनुभयो । 

प्रतियोगितालाई नेपाल बुद्धिचाल महासङ्घले प्राविधिक सहयोग गर्ने छ । र्‍यापिडतर्फ दुई लाख र ब्लिट्जतर्फको विजेताले अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिता जनाउन पाउने महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले बताउनुभयो । 

यस प्रतियोगिता बुद्धिचाल महासङ्घको राष्ट्रिय प्रतियोगिता अन्तर्गतको एक प्रतियोगिता पनि हो । प्रतियोगिताको निर्णायकमा एफए सोराज ताम्राकार रहनुहुने छ ।