काठमाडौँ, वैशाख १४ गते ।नेकपा एमालेका सचिव भानुभक्त ढकालले पार्टी जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) कै मार्गमा सुदृढ ढङ्गले अगाडि बढिरहेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको एक विचार गोष्ठीमा बोल्दै ढकालले उक्त कुरा बताउनुभएको हो ।
सचिव ढकालले मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई बन्दुकको बलमा मात्र राज्यसत्ता प्राप्त गर्न सकिन्छ भन्ने सङ्कीर्ण मान्यताबाट बाहिर ल्याउँदै प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने विचार स्थापित गर्नुभएको बताउनुभयो ।
ढकालले एमालेको लोकतान्त्रिक अभ्यासले अन्य राजनीतिक दलहरूलाई पनि लोकतन्त्रीकरण हुन बाध्य पारेको तर्क गर्नुभयो ।
जननेता मदन भण्डारीले भनेझैँ सत्तामा रहँदा पनि पार्टीले सरकार भन्दा जनतालाई नै मुख्य प्राथमिकता दिनुपर्ने मान्यतालाई एमालेले आत्मसाथ गर्दै आएको ढकालको भनाइ छ ।
उहाँले तत्कालीन समयमा ४७ सालको संविधानमा मदन भण्डारीले राखेका २७ बुँदे आलोचनात्मक टिप्पणीहरू नै अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको आधारस्तम्भ बनेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संविधानको सर्वोच्चता, कानुनको शासन, मानव अधिकार र जनताको अभिमतलाई शिरोधार्य गरेर हिँड्नु नै आजको मुख्य कार्यभार हो, जसमा एमाले अडिग छ । नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र सुधारमा पनि हाम्रो पार्टीले लिएको नीति र अभ्यासको ठुलो योगदान छ ।”
उहाँले मदन भण्डारी फाउन्डेसनलाई एक विशेष सुझाव दिँदै ६२-६३ को परिवर्तनपछि पार्टीलाई कसरी अझ बढी युवामैत्री र प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा गहिरो अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
प्रविधिको विकासलाई आत्मसाथ गर्दै विचारलाई थप समृद्ध बनाउन फाउन्डेसनको भूमिका महत्त्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो ।