काठमाडौँ, वैशाख १४ गते । सरकारले देशैभर “राष्ट्रिय पोषण लेखाजोखा अभियान” सञ्चालन हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाको पोषण सुधारका लागि देशभर “राष्ट्रिय पोषण लेखाजोखा अभियान” सञ्चालन गर्न लागेको हो।
मन्त्रालयले सूचना जारी गर्दै ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गरी कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले मन्त्रालयले “राष्ट्रिय पोषण लेखाजोखा अभियान” सञ्चालनमा गर्न लागेको जानकारी दिएको छ ।
अभियान समयमै पहिचान ,सही उपचार कुपोषण मुक्त पुस्ताको आधार भन्ने नारा सहित वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने छ ।
मन्त्रालयका अनुसार अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (एमयुएसी) नापेर पोषण अवस्था मूल्याङ्कन गरिँदैछ ।
जाँचका क्रममा कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र मार्फत “तयारी उपचारात्मक खाना निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
अभियानले कुपोषणको जोखिममा रहेका बालबालिकाको समयमै उपचार सुनिश्चित गर्ने तथा दीर्घकालीन स्वास्थ्य समस्या न्युनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
मन्त्रालयले आफ्ना बालबालिकाको नियमित पोषण जाँच गराई कुपोषणबाट जोगाउन अभिभावकलाई अभियानमा सहभागिता जनाउन अनुरोध गरेको छ ।
अभियान स्वास्थ्य संस्था, खोप केन्द्र सामुदायिक क्लिनिक, वडा कार्यालय र सामुदायिक भवन, प्रारम्भिक बाल विकास केन्द्रबाट सञ्चालन हुने छ ।