गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १४ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनौठो शैलीमा ठगी गर्ने एक गिरोहका छ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु ‘सक्कली नोट साटेर दोब्बर रकम दिने’ प्रलोभन देखाएर ग्राहकलाई नक्कली नोटमा फसाउने र अन्त्यमा कागजको बिटो थमाएर ठगी गर्ने गरेको खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काकाअनुसार पक्राउ पर्नेहरु उदयपुर, बारा, चितवन र रौतहट घर भएका आरोपितहरू छन । उनीहरुलाई काठमाडौँको टौदह क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
उनीहरूबाट ४० बण्डल नक्कली नोट (कागजका बिटो) , नम्बर प्लेट छोपिएको ईभी गाडी (मिनी हाइस) र मोटरसाइकल बरामद गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा गिरोहले सुरुमा सानो रकममा सक्कली नोट नै दोब्बर दिएर ग्राहकको विश्वास जित्ने र केही पटक घाटा व्यहोरे जस्तो देखाए पछि ग्राहकबाट ठूलो रकम साट्न तयार हुने अवस्था सिर्जना गरेको पाइएको छ ।
यसरी ठूलो कारोबारको बेला भने बाहिर सक्कली जस्तो देखिने तर भित्र कागज राखिएको बण्डल थमाएर ठगी गर्ने गरिएको पाइएको छ । यसरी ठगी गर्दा सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत सम्पर्क गरी पैसाका बण्डल देखाउँदै झुक्याउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यस्तो शंकास्पद कारोबारमा संलग्न भएकै कारण धेरै पीडित उजुरी गर्न नआउने गरेको र यस घटनाका दुईजना पिडितमात्र सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरीले अस्वाभाविक लाभको लोभमा नपर्न र ठगीमा परे तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।