• १४ वैशाख २०८३, सोमबार

निर्माणमा सामग्रीको लागत ह्वात्तै बढ्दा व्यवसायी चिन्तित

blog

निर्माण व्यवसायी सङ्घ सल्यानको कार्यक्रममा सहभागी व्यवसायीहरू । तस्बिर : शंकर केसी

शङ्कर केसी

सल्यान, वैशाख १४ गते । इन्धनजन्य सामग्रीमा भएको अत्याधिक तथा अप्रत्याशित मूल्यवृद्धिका कारण पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्रीको लागत ह्वात्तै बढ्दै गएको भन्दै सल्यानमा निर्माण व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । 

नेपाल निर्माण व्यवसायी सङ्घ सल्यानको आयोजनामा सोमबार खलङ्गामा भएको पत्रकार भेटघाट कार्यक्रममा सहभागीहरूले इन्धन मूल्यवृद्धिले ढुवानी खर्च बढाउँदा गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको बताएका थिए । 

स्थानीय तहमा निर्माण सामग्री अभाव र आपूर्ति असहजताले निर्माण उद्योग नै ठप्प हुने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित डिल्लीप्रकाश केसीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । 

सो अवसरमा बोल्दै केसीले इन्धन मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर सङ्कटतर्फ धकेलिएको उल्लेख गर्दै समयमै सम्बोधन नभए विकास निर्माणका कामहरू प्रभावित हुने बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी सङ्घ सल्यानका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले ढुवानी खर्च बढ्दा निर्माण सामग्रीको मूल्य आकासिएको र वर्तमान अवस्था कायमै रहे निर्माण उद्योग नै ठप्प हुने जोखिम बढेको बताउनुभयो । 

कर्णाली प्रदेश सदस्य मनोज सिंह, निवर्तमान अध्यक्ष राजेश गिरीले निर्माण व्यवसायीहरू आर्थिक दबाबमा परिरहेको उल्लेख गर्दै काम गर्दा घाटा हुने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको धारणा राख्नुभयो । 

त्यस्तै नेपाल पत्रकार महासङ्घ सल्यानका जिल्ला अध्यक्ष डिल्लीराज रावत, पूर्वअध्यक्ष प्रतीक इच्छुक शर्मा लगायतले निर्माण क्षेत्रको समस्या आम नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।