रमेश विश्वकर्मा
गुल्मी, वैशाख १४ गते। गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवमा यतिबेला २० किलोग्राम तौलको विशाल खुकुरीले सबैको ध्यान खिचिरहेको छ ।
गुल्मी उद्योग वाणिज्य सङ्घको आयोजनामा वैशाख ११ गतेदेखि सुरु भएको महोत्सवमा विभिन्न जिल्लाबाट आएका व्यवसायीले आफ्ना उत्पादनहरू प्रदर्शन तथा बिक्री वितरण गरिरहेका छन्।
यही क्रममा स्याङ्जाबाट सहभागी हुनुभएका ३९ वर्षीय व्यवसायी सन्तोष विश्वकर्माले ल्याउनुभएको विशाल खुकुरी विशेष आकर्षणको केन्द्र बनेको हो।
स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी विश्वकर्मा विगत लामो समयदेखि घरेलु उद्योगमार्फत फलामजन्य सामग्री उत्पादन गर्दै आउनुभएको छ।
उहाँले विभिन्न मेलामहोत्सवमा सहभागी भई आफ्नै हातले निर्माण गरेका कृषि औजार, घरायसी सामग्री तथा परम्परागत हतियारहरू बिक्री गर्दै जीविकोपार्जन गरिरहनुभएको छ।
विश्वकर्माका अनुसार उक्त २० किलोग्राम तौलको खुकुरी निर्माण गर्न झण्डै १० दिन समय लागेको थियो। पूरै फलाम प्रयोग गरेर बनाइएको यो खुकुरी केवल प्रदर्शनका लागि मात्र होइन, परम्परागत सिप र मिहिनेतको प्रतीक बनेको छ।
महोत्सव परिसरभित्र रहेको स्टल नम्बर २२१ मा उहाँले विभिन्न किसिमका कृषि औजार, भान्सामा प्रयोग हुने सामग्री तथा हस्तनिर्मित फलामका सामग्रीहरू राख्नुभएको छ। तीमध्ये २० किलोको खुकुरी हेर्न र फोटो खिच्नका लागि दैनिक सयौँ दर्शकहरू स्टलमा पुग्ने गरेका छन्।
उक्त खुकुरीको मूल्य ५५ हजार ५५५ रुपियाँ तोकिएको छ। अनौठो आकार, तौल र कलात्मक निर्माणका कारण यो खुकुरीले धेरैको ध्यान खिचेको छ भने केहीले खरिदमा समेत रुचि देखाएको व्यवसायी विश्वकर्माले जानकारी दिनुभयो।
यसअघि पनि उहाँले यस्तै प्रकारका ठुला खुकुरीहरू निर्माण गरिसक्नुभएको छ। वालिङ महोत्सवमा ३० किलोग्राम तौलको खुकुरी एक लाख ११ हजार १११ रुपियाँमा बिक्री गरेको अनुभव उहाँसँग छ।
त्यस अनुभवले आफूलाई अझै नयाँ र आकर्षक सामग्री बनाउन प्रेरणा मिलेको उहाँको भनाइ छ। महोत्सवमा स्थानीय उत्पादन, कृषि सामग्री, हस्तकला, लघु उद्योगका वस्तु तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेटिएका छन्।
यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै परम्परागत सीप र उत्पादनहरूको प्रवर्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेको आयोजकले जनाएको छ।
विशाल खुकुरी जस्ता मौलिक र सिर्जनात्मक सामग्रीहरूले महोत्सवको आकर्षण अझ बढाएको छ भने यस्ता प्रस्तुतीहरूले नेपाली परम्परा, सीप र सृजनशीलताको जगेर्ना गर्न सघाउने विश्वास गरिएको छ।