• १५ कात्तिक २०८२, शनिबार

सङ्गीतलाई जीवन्त राख्ने आधार

blog

आज नेपाली सङ्गीतको स्वरूप फेरिएको छ । हात हातमा मोबाइल, घर घरमा इन्टरनेट र ‘युट्युब’ को विशाल संसारले श्रोता र स्रष्टाबिचको दुरी ज्यादै साँघुरो बनाइदिएको छ । प्रविधिको उपलब्धिसँगै पछिल्ला वर्षमा ‘कभर सङ’ नामक सङ्गीत संस्कृतिले फरक आयाम ल्याएको छ । यो केवल गीतको पुनर्गायन मात्र होइन, नयाँ गायक गायिकाका लागि आफैँलाई प्रमाणित गर्ने, परीक्षण गर्ने र सोझै श्रोताको मनसम्म पुग्ने शक्तिशाली पुल बनेको छ ।

करिब एक दशकअघिको त्यो समय सम्झौँ, जब नेपाली बजारमा ‘रिमिक्स गीत’ को एउटा आँधी चलेको थियो । पुराना कर्णप्रिय गीतहरूलाई ¥याप डिजे बिट र अत्यधिक ‘इलेक्ट्रोनिक नसा’ ले जबरजस्त भरिदिएको थियो । यसले मौलिकतालाई तहसनहस पा¥यो र वास्तविक सर्जकका लागि आफ्ना सिर्जनाको अपमान भएको महसुस गरायो । परिणामतः, रिमिक्सको त्यो लहर जति वेगले आएको थियो, त्यत्तिकै वेगले हरायो । ‘कभर सङ’ को यात्रा भिन्न छ । यसले सुरुदेखि नै सङ्गीतप्रेमीको सम्मान र प्रेम पाइरहेको छ । यसको कारण स्पष्ट छ, कभर गीतले पुरानो सङ्गीतको ‘आत्मा’ लाई मेटाउँदैन, बरु त्यसलाई नयाँ पुस्ताको भावना र आवाजसँग जोड्ने माध्यम बन्छ । यो पुरानो वास्तुकलालाई नभत्काई नयाँ रङरोगन गर्ने कला हो ।

आज युट्युबको भर्चुअल मञ्च हजारौँ ‘कभर सङ’ को ग्यालरी बनेको छ । कतिपय सङ्गीतप्रतिको शुद्ध प्रेमले प्रेरित भएर यस्ता गीतहरू तयार गर्छन्, उनीहरूका लागि यो एउटा साधना हो । कतिपयले भने यसलाई आम्दानीको एक भरपर्दो स्रोत बनाएका छन्, उनीहरूका लागि यो एउटा व्यावसायिक ‘प्ल्याटफर्म’ हो । युट्युबको ‘मनिटाइजेसन’ प्रणालीले कभर गाउने प्रतिभाहरूलाई आर्थिक बल पनि दिएको छ ।

थुप्रै गायक गायिकाले आफ्नो सङ्गीत यात्रा ‘कभर सङ’ बाटै सुरु गरेका उदाहरण पनि छन् । एलिना चौहान, दीक्षा जे थापा, स्वप्न सुमन, विजय घिमिरे, प्रीति घिमिरे, निक्की कार्की, अल्मोदा राणा उप्रेती, अक्षता अधिकारी, त्रिशाला गुरुङ, त्रिशना गुरुङ, भीजे, प्रीति, जोभन भुजू, चिन्टुलगायतका गायक गायिका ‘कभर सङ’ मार्फत नै लाखौँ दर्शक–श्रोताको मन जित्न सफल भएका छन् । विशेष गरी अल्मोदाको ‘जून त लग्यो ताराले’ र ‘बोल बोल’ जस्ता कभरले पुरानो गीतलाई नयाँ जीवन दिएर ‘कभर सङ’ को शक्ति प्रदर्शन गरिरहेको थियो । 

श्याम कार्कीको गीत ‘तिम्रो मायाले बाँधेर राख’ को कभर भर्सन गाएर नै गायिका एलिना चौहान चर्चामा आउनुभएको थियो । त्यस्तै प्रविण गुरुङ र बिमाकुमारी दुराले बर्सौंअघि गाउनुभएको यो दाजुको मिर्मिरे आँखा’ ‘कभर सङ’ मा चेतन गोतामे र निरु श्रीस मगरले गाउनुभयो र सो गीतले पनि राम्रो चर्चा बटुल्न सफल भयो । 

कुनै समय कलाकार प्रियङ्का कार्कीले गाउनुभएको ‘तिमीले त होइन तिम्रा भाखाहरूले’ बोलको गीतले पनि राम्रै चर्चा बटुलेको थियो । यस्तै गायक धिरज राईले आफ्नै गीतको कभर भर्सन पनि बनाएको कुरा अझै पनि ताजै छ । धिरजको ‘तिम्रा नयन तिम्रा अधर’ ओरिजिनलभन्दा कभर बढी रुचाइएको थियो । यस्तै एड्रिन प्रधान, आस्था तामाङ मास्के, निखिता थापा जस्ता स्थापित कलाकारले समेत कुनै समय आफ्नो कभर गायन युट्युबमा राखेका थिए । कतिपयले त अहिले पनि म्यासअप (दुईभन्दा बढी गीतको लय, शब्द वा सङ्गीत जोडेर बनाइएका गीत) भन्दै अर्काकै सिर्जना थुपार्ने गरेका छन् । नारायणगोपाल, गुलाम अली, बच्चु कैलाश वा अरूणा लामादेखि उदय/मनिला सोताङ, नेपथ्य, १९७४ एडी हुँदै सुगम पोखरेल र समृद्धि राईका गीतसमेत कभरस्वरूप धेरैले गाएका छन् । यति मात्र नभएर बलिउड र हलिउडका गीतलाई पनि उनीहरूले छाडेका छैनन् । 

‘कभर सङ’ भनेको पहिले गाइसकेका कुनै गीतलाई नयाँ रेकर्डिङ, फरक शैली वा नवीन प्रस्तुतीकरणमा पुनः श्रोतामाझ ल्याउनु हो । यो मौलिकतालाई नष्ट गर्ने प्रयास होइन, बरु त्यो गीतको ‘मिठो याद’ लाई वर्तमानमा पुनर्जीवित गर्ने कार्य हो । सङ्गीतका जानकारहरूका अनुसार, पुराना गीतहरूलाई डिजिटल युगमा पुनः प्रस्तुत गर्नु केवल एक व्यावसायिक कदम मात्र होइन, यो त नेपाली सङ्गीतको इतिहासलाई नयाँ पुस्तासम्म पु¥याउने एक किसिमको ‘सङ्गीत संरक्षण’ पनि हो । फरक वाद्यवादन, नयाँ शैलीको ‘एरेन्जमेन्ट’ र भिन्न स्वरको प्रयोगमा पुरानो गीतलाई आधुनिक स्वाद दिनु नै यसको सफलताको सूत्र हो ।

यद्यपि यो सिर्जनात्मक स्वतन्त्रतामाथि नेपालको ‘प्रतिलिपि अधिकार ऐन, २०५९’ को नजर भने रहन्छ । गैरनाफामूलक कभर गीत बनाउनु कानुनी रूपमा स्वीकार्य छ तर कसैले व्यावसायिक रूपमा यसलाई प्रयोग गर्छ भने, मूल सर्जक वा अधिकारधारीको अनुमति अनिवार्य हुन्छ । अनुमतिबिना व्यापार गर्दा प्राप्त आम्दानी जफत गर्न सकिने र क्षतिपूर्ति तिर्नुपर्ने प्रावधानले ‘कभर सङ’ को यात्रालाई सिर्जनात्मकताको सीमाभित्रै राख्न प्रेरित गर्छ । अझ विदेशतिर विशेष गरी अमेरिकामा अर्काको गीत गाउन पर्फर्मिङ राइट्स अर्गनाइजेसन (पिआरओ) सँग अनुमति लिनु पर्छ । त्यसले पर्फर्मिङ लाइसेन्स दिएपछि मात्र होटल, क्लब, स्टेज वा कुनै समारोहमा गाउन पाइन्छ । हाम्रो देशमा होटलतिर पनि निर्धक्क कभर गाउन लगाउने चलन बढ्दो छ ।

कवि तथा गीतकार दिनेश अधिकारीले ‘कभर सङ’ को बढ्दो प्रवृत्तिमाथि केही गम्भीर प्रश्न उठाउनुभएको छ । उहाँका अनुसार अहिले कभर सङ भनेर मनलागी तरिकाले गीत गाउन थालिएको छ । उहाँ प्रष्ट्याउनुहुन्छ, ‘अनुमति नलिई, सल्लाहबिना गरिएको कुराले कहिल्यै राम्रो बाटो देखाउँदैन ।’ अहिले प्रविधिको प्रयोग नयाँ भए पनि गीतको स्वरूप र सौन्दर्यलाई बिगार्ने किसिमका काम भइरहेको उहाँको भनाइ छ । ‘कभर सङ’ आफैँमा खराब कुरा होइन तर जसरी गरिँदै छ, त्यो प्रक्रिया खराब भइरहेको छ,’ उहाँले थप्नुभयो ।

अधिकारीले यस क्रममा भइरहेको ज्यादतीको उदाहरण दिँदै भन्नुभयो, ‘यहाँ कतिसम्म ज्यादती छ भने रुसलान भोड्काले प्रायोजन गरेको मेरो ‘लैजा चरी’ बोलको गीतलाई विज्ञापनको प्रचारका लागि प्रयोग गरियो । त्यसमा न गायकको नाम नै छ, न सङ्गीतकारको न त गीतकारकै नाम राखिएको छ ।’ उहाँले आर्थिक दृष्टिकोणले यसरी शोषण गर्नु गलत भएको बताउँदै थप्नुभयो, ‘मैले रक्सीको प्रचारका लागि त गीत लेखेको होइन नि ! यसले मेरो आर्थिक अधिकार त हनन भयो नै, नैतिक अधिकार पनि छैन ।’ उहाँका अनुसार, ‘कभर सङ’ गाउनेहरूको अर्को ठुलो समस्या भनेको उहाँहरूले गीतको शब्दहरू गलत उच्चारण गरिरहेका हुन्छन् । उहाँले सहमति लिएर गर्दा शब्द नबिग्रने, मौलिकता रहिरहने र दुवै पक्षको सम्मान हुने बताउनुभयो ।

गायक युवराज चौँलागाई पुराना गीतलाई भाव मर्न नदिई गीतारको ट्युनिङ हालेर डिजिटलमा ल्याउनु आफैँमा राम्रो काम भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गीत नबिगारिकन गिटारको ट्युनिङ हालेर कभर गीत बनाउनु आफैँमा सिर्जनशीलता चाहिन्छ । रहरका रूपमा ‘कभर सङ’ गाउनु राम्रै भए पनि गीत सङ्गीतमै ‘करिअर’ बनाउँछु भन्नेले नयाँ गीत नै गाउनुपर्ने उहाँको सुझाव छ ।

यसरी हेर्दा, ‘कभर सङ’ को यो प्रवृत्ति नेपाली सङ्गीतको इतिहासमा एउटा सामान्य फेरबदल मात्र होइन, बरु यो त नयाँ पुस्ता र पुरानो सङ्गीतबिचको एउटा गहन, सुन्दर तथा अपरिहार्य ‘संवाद’ हो । ‘कभर सङ’ हरूले प्रविधिको बलमा समयले बिर्साउन लागेका कालजयी धुनहरूलाई पुनर्जीवित गर्ने र तिनलाई आधुनिक श्रोताको रुचि अनुरूप नयाँ आकार दिने महत्वपूर्ण कार्य गरिरहेका छन् । यो संवाद केवल मिठो धुन र नयाँ स्वरको मिश्रणमा मात्र सीमित रहनु हुँदैन । सर्जकको सम्मान र कानुनी दायराभित्र रहेर अगाडि बढ्नु अनिवार्य छ । सिर्जनात्मक प्रयोगको नाममा कसैको आर्थिक वा नैतिक अधिकारमाथि हनन हुनु वा गीतको मौलिक शब्दको उच्चारण बिग्रनुले समग्र सङ्गीत संस्कृतिलाई नै अपरिपक्व बनाउँछ । 

धेरैले सोखको रूपमा ‘कभर सङ’ गाउने गरेको पाइए पनि व्यावसायिक रूपम यसको विकास भइरहेको छ । उच्च गुणस्तरको साउन्ड र भिडियो बनाएर ‘कभर सङ’ बनाउने प्रचलन बढेको छ । कतिपय नयाँ कलाकार एवं पुराना कलाकारले पनि ‘कभर सङ’ का लागि प्रशस्त खर्च गर्न थालेका छन् । नेपाली सङ्गीतले प्रविधि र पुस्ता दुवैको अन्तरलाई जोड्दै निरन्तर नयाँ आयाम खोज्न ‘कभर सङ’ को ठुलो भूमिका रहन्छ । यसको दिगो सफलता तब सुनिश्चित हुने छ, जब नयाँ प्रतिभाले पुरानो सिर्जनाप्रति पूर्ण सम्मान देखाउँदै, आवश्यक कानुनी सहमति लिएर र मौलिक भाव तथा शुद्धतालाई कायम राख्दै आफ्नो प्रतिभालाई उजागर गर्ने छन् । सर्जकको अनुमति, मौलिकताको संरक्षण र सिर्जनात्मक प्रयोगको सन्तुलन नै ‘कभर सङ’ संस्कृतिको उज्ज्वल भविष्यको आधारशिला हो, जसले नेपाली सङ्गीतलाई युगौँयुगसम्म जीवन्त र गतिशील बनाइरहने छ ।