दुबई, फागुन १९ गते । दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरु सुरु भएको आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ ।
“दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी) बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ ।
‘एमिरेट्स’ र कम लागतको विमान कम्पनी ‘फ्लाई दुबई’ दुवैले सोमबार साँझ केही उडानहरू पुनः सुरु गर्ने बताएका छन् । अबुधाबीबाट उडान भर्ने इहाद एयरवेजले मङ्गलबारदेखि उडान सुरु गर्ने जनाएको छ ।
खाडी मुलुकहरूमा इरानले व्यापक बमबारीको सहयोगमा सैन्य अखडाहरूमा प्रहार गरेको छ, साथै उसले आवासीय भवनहरू, होटलहरू, विमानस्थल र समुद्री बन्दरगाहजस्ता नागरिक पूर्वाधारहरूमा पनि प्रहार गरेको पाइएको छ । आक्रमणले लामो समयदेखि जारी मध्यपूर्व द्वन्द्वबाट सुरक्षितस्थलको रूपमा हेरिएको क्षेत्रमा तनाव सिर्जना भएको छ ।
इरानले शनिबारदेखि अभियान सुरु गरेयता दुबई, अबुधाबी, कुवेत र मनामा विमानस्थललाई निशाना बनाइएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भएको उक्त घटनामा एक जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको शनिबार घोषणा गरेको थियो ।
दुबईको मुख्य विमानस्थल (डिएक्सबी) संयुक्त राज्य अमेरिकाको एटलान्टापछि विश्वव्यापी रूपमा दोस्रो व्यस्त विमानस्थलको रूपमा रहेको ‘अन्तर्राष्ट्रिय विमानस्थल परिषद्’ले जनाएको छ ।
हवाई क्षेत्र बन्दले शहरका लागि एक महत्त्वपूर्ण क्षेत्रलाई असर गर्या, दुबईको हवाई उद्योगले युएईको अर्थव्यवस्थाको लगभग एक तिहाई हिस्सा ओगटेको छ । रासस/एएफपी