काठमाडौँ, फागुन २० गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा अत्यावश्यक सेवा सञ्चालनमा कुनै समस्या नहुने भएको छ । सरकारले निर्वाचनको सुरक्षालाई ध्यान दिँदै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिए पनि सो अवधिमा अत्यावश्यक सेवा सञ्चालनमा कुनै समस्या नहुने गरी आवश्यक प्रबन्ध सरकारले गरेको छ ।
सर्वसाधारणको दैनिक जीवनयापन गर्न सहजताका लागि अत्यावश्यक सेवालाई ध्यानमा राख्दै सरकारले केही विशेष प्रकृतिका सवारीसाधनलाई भने निर्वाध रूपमा सञ्चालनको अनुमति दिएको छ । अत्यावश्यक सेवा अन्तर्गत पर्ने एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका सवारीसाधन र सुरक्षा निकायका गाडीलाई मतदानका दिन चल्न कुनै अवरोध नहुने गरी तयारी अवस्थामा सरकारले आग्रहसमेत गरेको छ ।
त्यसै गरी विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत र दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन पनि सञ्चालन हुन पाउने छन् । कूटनीतिक नियोगका सवारीसाधनलाई पनि आयोगले सञ्चालनको अनुमति लिएर सञ्चालन गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले अत्यावश्यक सेवा सञ्चालनका लागि अवरोध नहुने र त्यसका लागि तयारी अवस्थामा रहन सम्बन्धित मन्त्रालयलाई आग्रह गरिएको बताउनुभयो । हवाईमार्गबाट यात्रा गर्ने यात्रीको सुविधाका लागि आयोगले विशेष व्यवस्था गरेको छ । निर्वाचन अवधिमा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान यथावत् सञ्चालन हुने छन् । विमानस्थलसम्म जानुपर्ने वा विमानस्थलबाट घर वा होटेलसम्म फर्कनुपर्ने यात्रीले आफ्नो हवाई टिकट देखाएर निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
यसका अतिरिक्त पास प्राप्त गरेका सवारीसाधन पनि सञ्चालन हुन पाउने छन् । सवारी पास वितरणलाई व्यवस्थित बनाउन निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि सम्मिलित एक विशेष एकाइ आयोगको सचिवालयमा स्थापना गरिने भएको आयोगले जनाएको छ । मतदानलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले मतदानका दिन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । जसको कार्यान्वयनका लागि आयोगले गृह मन्त्रालयलाई आवश्यक निर्देशनसमेत दिइसकेको छ ।
स्वास्थ्यकर्मीलाई आग्रह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा आवश्यक पर्ने स्वास्थ्य सेवा छिटोछरितो र प्रभावकारी रूपमा प्रदान गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
मतदान स्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदाताको स्वास्थ्यलाई ध्यानमा राखी प्राथमिक उपचारका सामाग्रीसहित आवश्यक स्वास्थ्यकर्मीको परिचालन सुनिश्चित गर्न ७५३ वटै स्थानीय तहलाई आग्रह गरेको छ । नागरिकको नजिकको सरकार भनेकै गाउँपालिका र नगरपालिका भएको भन्दै मन्त्रालयले निर्वाचनलाई लक्षित गरी आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सबै स्थानीय तहलाई तयारी अवस्थामा रहन मन्त्रालयले परिपत्र गरेको मन्त्रालयका प्रवक्ता नीता पोखरेल अर्यालले बताउनुभयो ।