• १६ फागुन २०८२, शनिबार

हृदयस्पर्शी कथा ‘अस्सी’

blog

काठमाडौँ, फागुन १६ गते । निर्देशक अनुभव सिन्हाको निर्देशकीय पाटो  र नायिका तापसी पन्नूले गर्नुभएको बेजोड अभिनयले दर्शकलाई मनोरञ्जन मात्र दिने काम गर्दैन, यसले समाजमा घटेका अनेकन् घटनालाई बहसको विषय बनाउन मद्दत पुर्‍याउँछ । चलचित्र ‘मुल्क’ र ‘थप्पड’ पछि, ‘अस्सी’ ले असहज र जरुरी दुवै विषयलाई उजागर गर्न खोजेको छ । चलचित्र तपाईं हामी बाँचिरहेको समाजभित्र रहेको अँध्यारो सत्यको कथा हो । 

चलचित्रको कथा शिक्षिका परिमा (कानी कुश्रुति) को वरिपरि घुमेको छ । उहाँ श्रीमान् विनय (जिसान अय्युब) र छोरा धु्रव (अद्विक जयसवाल) सँग आफ्नो जीवन बिताइरहनुभएको छ । एक दिन यस्तो घटना घट्छ जसले उक्त घटनाको कल्पनासमेत गरेको हुँदैन । विद्यालयमा आफ्नो साथीको बिदाइ पार्टीबाट फर्कने क्रममा परिमालाई केही केटाले अपहरण गर्छन् । उनीहरूको अपहरण मुख्य लक्ष्य भनकै सामूहिक बलात्कार गर्ने हुन्छ । बलात्कारपछि रेलवे स्टेसनको पटरीनजिकै घाइते अवस्थामा उहाँलाई फ्याँकिदिन्छन् । यसपछि चलचित्रभित्र अनेकन् अड्चनका कथा सुरु हुन्छ । मुख्य गरेर न्याय पाउन उहाँको लडाइँ सुरु हुन्छ । उहाँको लडाइँमा वकिल रवि (ताप्सी पन्नू) ले साथ दिनुहुन्छ । 

चलचित्रको कथाले एउटा यस्तो महत्वपूर्ण मोड लिन्छ जब परिमालाई बलात्कार गर्ने एक अभियुक्तको हत्या गरिन्छ । के रवि परिमाका लागि न्याय पाउन सक्षम हुने छिन् ? बलात्कारीलाई मार्ने मान्छे को हुन् ? चलचित्रको कथा यिनै कुराको प्रश्न खोजिरहेको हुन्छ । 

चलचित्रको सबैभन्दा बेजोड पक्ष संवाद भए पनि दर्शकलाई संवादले मात्र होइन यसभित्र देखाइएको अनेकन् दृश्यले आङ सिरिङ्ग बनाउने काम गर्छ । चलचित्रको कथादेखि लिएर कलाकारको अभिनयले पनि दर्शकलाई छिन छिनमा झकझकाउँछ । मुख्य भूमिकामा देखिएकी कानी कुश्रुतिले सबैभन्दा चुनौतीपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँले बलात्कारपीडितको पीडा र क्रोधलाई उत्कृष्ट रूपमा चित्रण गर्नुभएको छ । धेरै दृश्यमा उहाँलाई हेर्दा आफैँलाई पीडा भएको महसुस हुन्छ । तपसी पन्नूले बोलेको संवादलाई दर्शकले अवश्य नै बिर्सने छैनन् । उहाँको संवाद बोल्ने हाउभावले दर्शकलाई प्रभावित बनाउँछ । सधैँ झैँ उहाँको अभिनय तारिफयोग्य छ ।

अभिनेता जतिन गोस्वामीको अभिनय उत्कृष्ट लाग्छ । मोहम्मद जिसान अय्युब, रेवती र मनोज पाहवा जस्ता कलाकारले आफ्नो भूमिकामा न्याय गरेका छन् । नसिरुद्दिन शाह, सुप्रिया पाठक र सीमा पाहवाको विशेष उपस्थितिले पनि चलचित्रलाई माथि उठाउने काम गरेको छ ।  

चलचित्रको कथा मध्यान्तरसम्म सरर बगेको छ तर मध्यान्तरपछि चलचित्रले आफ्नो लय गुमाउँछ । केही अदालतका दृश्य राम्रोसँग बनाइएका छन् भने केही जम्न सकेका छैनन् । यद्यपि यति हुँदाहुँदै पनि चलचित्रको कथाले दर्शकलाई अवश्य तान्ने काम गरेको छ । अन्य चलचित्रमा झैँ निर्देशक सिन्हाले यस पटक पनि बाजी मार्नुभएको छ । चलचित्रमा पात्रलाई सही तरिकाले उपयोग गर्नाले उहाँको निर्देशकीय पक्षको चर्चा चलिरहेको छ । चलचित्र ‘अस्सी’ केवल एउटा मुद्दामाथि आधारित भएको कथा मात्र नभएर एउटा प्रणालीमाथि प्रश्न उठाउने कुरा हो जुन सत्य थाहा हुँदाहुँदै पनि न्यायमा पुग्न गाह्रो बनाउँछ भन्ने कुरालाई प्रस्ट्याउँछ ।