जनार्जन खत्री
सर्लाही, फागुन १९ गते । सर्लाहीमा एक जना मतदान अधिकृतको हृदयघातबाट मृत्यु भएको छ । सर्लाही क्षेत्र नं. २ स्थित पर्सा गाउँपालिका–४, जिङ्गडवामा रहेको आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो मात्र मतदान केन्द्रमा पुग्नुभएका महतो एक्कासि बेहोस भएर ढलेपछि उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको थियो ।
अस्पताल ल्याउँदा महतोलाई मृत घोषणा गरिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो ।
प्रादेशिक अस्पतालका हेल्थ असिस्टेन्ट शङ्करकुमार पटेलले मतदान अधिकृत महतोको हृदयघातबाट मृत्यु भएको बताउनुभएको छ । मृतक महतो सिनियर अहेब हुनुहुन्थ्यो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र बरहथवा नगरपालिका एक हजारियामा कार्यरत रौतहट घर भएका महतो बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन आधारभूत विद्यालय जिङ्गडमा मतदान अधिकृतको रूपमा खटिनुभएको थियो ।
क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत थपलियाका अनुसार मतदान अधिकृत महतोको मृत्यु भएपछि नयाँ मतदान अधिकृत पठाउने तयारी भइरहेको छ ।
आधारभूत विद्यालय जिङ्गडवामा सहायक मतदान अधिकृतको रूपमा खटिनुभएका गोविन्द पोखरेलले मतदान अधिकृतको मृत्यु भएपछि पनि मतदान केन्द्र निर्माण र अन्य तयारीको काममा जुटिरहेको जानकारी दिनुभयो ।
सहायक मतदान अधिकृत पोखरेलले मतदान अधिकृत महतोले आफूले मङ्गलबार सर्वदलीय बैठक राख्नेसहितका काम गर्ने र तपाईँहरू बुधबार बिहानै आउनु भने पनि उहाँको मृत्यु भएपछि आफूहरू मङ्गलबार नै मतदान केन्द्रमा पुगिसकेको बताउनुभयो ।