कोकिला ढकाल
इलाम, फागुन १९ गते । फागुन २१ को निर्वाचन हुन दुुई दिन बाँकी रहँदा पहाडी जिल्ला इलाममा मौसम बद्लिभएपछि मतदानस्थल निर्माण गर्न समस्या पर्न थालेको छ । केही दिन यता जिल्लाका उत्तरपूर्वी क्षेत्रहरुमा दिउँसो भएपछि हल्का वर्षाको क्रम निरन्तर हुँदा कसरी मतदानलाई व्यवस्थित गर्ने भन्ने समस्या परेको हो ।
‘पानी हल्का परिरहेको छ, भोलिको मौसम कस्तो हुुन्छ भन्ने भन्न सकिने अवस्था छैन । त्यसैले मतदान स्थलहरुमा पालको पनि व्यवस्था गर्नुपर्छ कि भन्ने ठाउँमा पुगेका छौं,’ जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयँलले भन्नुुभयो, ‘मतदान अधिकृत र सहायक अधिकृतहरुलाई तालिममा पनि त्रिपालको आवश्यकता पर्न सक्छ भनेर सचेत गराएका छौं ।’ अहिले पनि जिल्लाको उत्तरपूर्वी स्थानहरु माइजोगमाई, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका सहित इलाम नगरपालिकामा समेत छिटफुट पानी परिरहेको छ ।
जिल्लामा अहिले सम्ममा प्रायःसबै मतदान स्थलहरुमा सर्वदलीय बैठक सम्पन्न भएको र निर्वाचन सम्बन्धी सूचनाहरु टाँस गरि सकिएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । यस्तै अहिले सम्ममा एक सय भन्दा बढी मतदान स्थलहरु तयार भइसकेको र भोलि विहान सम्ममा सबै मतदान स्थल तयार हुने जिल्ला निर्वाचन अधिकारी फुँयल बताउनुहुन्छ । इलाममा एक सय ५२ मतदान स्थलमा दुई सय ९२ मतदान केन्द्र रहेका छन् ।