• २० फागुन २०८२, बुधबार

निर्वाचनलक्षित स्वास्थ्य सेवा

आकस्मिक कक्षमा विशेषज्ञ चिकित्सक

blog

काठमाडौँ, फागुन २० गते । बिहीबार सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले निर्वाचनमा हुन सक्ने झडपलाई आकलन गरेर आकस्मिक कक्षमा जनशक्ति बढाउने भएको छ । आकस्मिक कक्षमा जनशकित बढाउनुका साथै विशेषज्ञ सेवा आकस्मिक कक्षमै व्यवस्थापन गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न विशेष तयारी गरेको जानकारी दिएको छ । 

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्यका जनशक्ति व्यवस्थापनदेखि आकस्मिक कक्षमा उपकरण बढाउने, विशेषज्ञ चिकित्सक राख्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । सचिव डा. देवकोटाले निर्वाचनका दिन सम्भावित भिडभाड, राजनीतिक दलका कार्यकर्ताबिच हुने झडप तथा आकस्मिक स्वास्थ्य समस्या व्यवस्थापनका लागि आवश्यक जनशक्ति परिचालन, एम्बुलेन्स तयारी, औषधी तथा उपकरण आपूर्तिलगायतका व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । 

स्वास्थ्य मन्त्रालयका प्रवकता डा. प्रकाश बुढाथोकीले देशभरका हब अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जानकारी गराउनुभयो । निर्वाचनमा आकस्मिक उपचार मात्र होइन, नियमित स्वास्थ्य परीक्षणका लागि तयारी गरेका छौँ, प्रवक्ता बुढाथोकीले भन्नुभयो, “हब अस्पतालबाहेक प्रदेश र स्थानीयस्तरका अस्पताललाई पनि तयारी अवस्थामा रहनका लागि आग्रह गरिएको छ ।” उहाँले प्रादेशिक अस्पतालमा जनशक्ति परिचालनका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको जानकारी दिँदै स्थानीय सरकारमातहतका अस्पताल परिचालनका लागि सङ्घीय मामिला मन्त्रालयमार्फत समन्वय गरिसकेका छौँ ।” प्रवक्ता डा. बुढाथोकीले २१ गतेलाई फोकस गरेर आइतबार देशभरका २५ वटै हब अस्पतालका निर्देशकसँग बैठक बोलाइएको जानकारी गराउनुभयो । 

उहाँले निर्वाचनका दिन देशभरका सङ्घीय, प्रादेशिक तथा स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थालाई ‘हाई अलर्ट’ अवस्थामा राखिएको जानकारी गराउँदै सबै सरकारी अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल तथा प्रमुख स्वास्थ्य केन्द्रलाई चौबिसै घण्टा सेवा दिने गरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।

प्रवक्ता बुढाथोकीका अनुसार निर्वाचनका दिन नियमित काममा रहने स्वास्थ्यकर्मीबाहेक अतिरिक्त जनशक्ति पनि परिचालन गरिने छ । आपत्कालीन कक्षमा थप चिकित्सक, नर्स, ल्याब टेक्निसियनलगायतका जनशक्ति थप गर्ने व्यवस्था मिलाइएको छ । 

सरकारले तोकेका हब अस्पतालमा काठमाडौँमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती अस्पताल, सैनिक अस्पताल छन् । उपत्यकाबाहिर कोशी, नारायणी, गजेन्द्र नारायण, डडेलधुरा अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य प्रतिष्ठान, कटारीलगायतका अस्पताल हब अस्पतालका रूपमा छन् । “तीन÷चार वटा जिल्लालाई समेटेर हब अस्पताल बनाइएको छ,” बुढाथोकीले भन्नुभयो, “ती अस्पतालमा जनशक्ति, उपकरणलगायतका सामग्री तयारी अवस्थामा राखिएको छ ।” मन्त्रालयले सबै प्रदेश स्वास्थ्य निर्देशनालयलाई परिपत्र जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्रका अस्पतालको तयारी अवस्थाबारे प्रतिवेदन पठाउन निर्देशन दिएको छ । आवश्यक परे छिमेकी जिल्लाबाट पनि स्वास्थ्यकर्मी परिचालन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता बुढाथोकीको भन्नुभयो, “अस्पतालबाहेक फिल्डमा स्वास्थ्यकर्मी खटिने छैनन्, आवश्यक परेको अवस्थामा अस्पतालबाट तत्काल रेस्पोन्स गर्ने गरी व्यवस्था मिलाइएको छ ।”

उहाँले निर्वाचनका दिन आकस्मिक घटना बढ्न सक्ने सम्भावना भएमा एम्बुलेन्सको व्यवस्था गरिएको भन्दै हब अस्पताल, प्रादेशिक अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताउनुभयो ।  गम्भीर घाइतेलाई तुरुन्तै प्रादेशिक वा सङ्घीयस्तरका अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । 

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।