• १४ फागुन २०८२, बिहिबार

भाषण छोडेर भाकामा मत माग्दै

blog

काठमाडौँ, फागुन १४ गते । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारका परम्परागत प्रचारशैली फेरिएका छन् । गाउँबस्तीमा माइकिङ गर्ने र पर्चा बाँड्ने पुरानो चलनलाई विस्थापित गर्दै यस पटक सामाजिक सञ्जाल, भिडियो र साङ्गीतिक धुनहरू चुनावी अभियानको मेरुदण्ड बनेका छन् । आगामी फागुन २१ को निर्वाचनलाई लक्ष्यित गर्दै उम्मेदवारले मतदाताको मन जित्न लोकदोहोरीदेखि र्‍याप र भोजपुरीदेखि देउडासम्मका भाका प्रयोग गरिरहेका छन् ।

सर्लाही–४ बाट चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाको पक्षमा यतिबेला भोजपुरी र मैथिली गीतले माहोल तताइरहेको छ । भोजपुरी भाषाको ‘सरकार गगन भरत के’ बोलको गीतमा सञ्जय यादवले स्वर दिनुभएको छ, जहाँ थापालाई जनताको दुःख बुझ्ने नेताका रूपमा चित्रण गरिएको छ । नेता थापालाई गीत/सङ्गीतले उहाँको एजेन्डालाई मतदाताको मनसम्म पुर्‍याउन सफल मात्र बनाएको छैन चुनावी माहोललाई पनि तताउने काम गरेको छ । । ‘भोट फर गगन थापा’ देखि ‘हमारे मन के गाव मे’ सम्मको यात्राले थापाको राजनीतिक परिवेशलाई उकालोतर्फ मात्र धकेलेको छैन, उहाँको चुनावी रणनीतिलाई झन् झन् सफल बनाउँदै लगिरहेको छ । 

चुनावी प्रचारमा गीत/सङ्गीतलाई रणनीतिक औजार बनाउन नेकपा (एमाले) सधैँ झैँ अगाडि देखिन्छ । यस पटक सुजन लम्सालको ‘एमाले हुँ एमाले मन पर्छ’ बोलको गीत चर्चामा छ । यो गीत सार्वजनिक हुनुपूर्व नै मोडेल स्मारिका ढकालले आलोचनाका कारण माफी माग्नु परेको घटनाले सामाजिक सञ्जालमा थप चर्चा पायो ।  

यता चितवन–३ मा नेकपाकी उम्मेदवार रेनु दाहालका लागि तयार पारिएको चुनावी गीत टिकटकमा भाइरल बनेको छ, जसलाई हरि सुनार र सरिता सुनारले स्वर दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा–५ मा उम्मेदवारी दिएका बालेन शाह आफैँ कलाकार हुनुहुन्छ । इन्जिनियरिङ र र्‍याप सङ्गीतलाई सँगै अगाडि बढाउनुभएका बालेनका लागि यस पटक पनि ¥यापर ‘भिओ’ ले ‘झापा–५’ शीर्षकको र्‍याप गीत निकालेको छ । मधेशी क्षेत्रमा ‘अबकी बार बालेन सरकार’ भन्ने नारालाई गीतको रूप दिइएको छ ।

नुवाकोट क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार हितबहादुर तामाङलाई जिताउन साङ्गीतिक माहोल निकै तातेको छ । तामाङको पक्षमा तयार पारिएको ‘भोट हालौँ तारामा’ बोलको गीत यतिबेला चर्चाको केन्द्रमा छ । पूजा श्रेष्ठको शब्द रचना र नारायण दङ्गालको सङ्गीत रहेको गीतमा शरदा रसाइली, दिनेश श्रेष्ठ र पवित्रा दङ्गालले स्वर दिनुभएको छ । गीतले नुवाकोटका ग्रामीण भेगदेखि सामाजिक सञ्जालसम्म तामाङको चुनावी एजेन्डालाई जनस्तरमा पुर्‍याउन मद्दत गरिरहेको छ । चुनावी लहरबाट कर्णाली र सुदूरपश्चिम पनि अछुतो छैन । सर्जक अमृतकुमार अनमोलको देउडा भाका जुम्लाका नरेश भण्डारी र हुम्लाका दीपेन्द्र रोकायाको चुनावी अभियानमा घन्किरहेका छन् । यस्तै राप्रपाका ज्ञानेन्द्र शाहीको पक्षमा विपना सिंहको स्वर गुन्जिरहेको छ भने नेकपाका संयोजक पुष्पकमल दाहालको ‘महिमागान’ गर्ने गीतहरू पनि युट्युबमा उत्तिकै सक्रिय छन् ।

अहिलेका चुनावी गीत केवल मनोरञ्जनका साधन मात्र रहेनन् । यी त मतदाताको मनोविज्ञान बुझेर तयार पारिएका ‘राजनीतिक हतियार’ हुन् । सडकदेखि स्मार्टफोनको स्क्रिनसम्म गुन्जिने यी धुनले उम्मेदवारको एजेन्डालाई सरल भाषामा घर घर पुर्‍याइरहेका छन् । साङ्गीतिक माहोलले चुनावी सरगर्मीलाई तताएको मात्र छैन, राजनीतिलाई आमजनताको रुचि र प्रविधिसँगसमेत जोडेको छ ।