यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर ७ गते । अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले पर्यटकको चहलपहल निकै बढेको छ । विशेषगरी वर्षायाम सकिएर खुलेको मौसमका कारण मनाङमा आउने विदेशी पर्यटकको दैनिक सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात तथा व्यापार–व्यवसायसमेत फाइदा उन्मुख बनेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको तथ्याङ्कअनुसार यो सिजन मनाङ पर्यटनका दृष्टिले निकै सशक्त देखिएको छ ।
अन्नपूर्ण पदमार्ग हुँदै मनाङ प्रवेश गर्ने यो समय पर्यटकको बाक्लो आगमन हुने मुख्य मौसम मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने मनाङ विश्वकै प्रतिष्ठित पदयात्राको गन्तव्य भएकाले साउनदेखि कात्तिकसम्म यहाँ आउने विदेशी पर्यटकहरूको सङ्ख्या हरेक वर्ष उच्च रहने गर्छ । यस वर्ष पनि सोही प्रवृत्ति दोहोरिएको छ ।
साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मनाङ भ्रमण गर्ने विदेशी पर्यटकको कुल सङ्ख्या १६ हजार २९६ पुगेको छ । तीमध्ये सार्क देशका पुरुष ८१२ र महिला १७७ छन् । अन्य मुलुकका पर्यटकमध्ये पुरुष ९ हजार ६९१, महिला ६ हजार ६०१ तथा अन्य लिङ्गका ४ जना मनाङ पुगेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चार महिनाको अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गर्दा चहलपहल बढेको बताउनुभयो । उहाँले आगमन सङ्ख्याका आधारमा यस वर्ष पनि इजरायल, फ्रान्स र जर्मनी शीर्ष तीन स्थानमा परेको बताउनुभयो । उहाँका अनुसार इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन्, जसले युरोपेली तथा मध्यपूर्वी पर्यटकको मनाङप्रतिको रुचि झनै पुष्टि गरेको छ ।
स्थानीय होटल व्यवसायी फुर्वा लामाले सिजनमा जहिल्यै कोठा अभाव हुने अवस्था आउने गरेको बताउनुभयो । थोरङ्ला पास, तिलिचो ताल, बेस क्याम, भ्राका गुम्बा, मनाङ गाउँलगायतका स्थानमा पर्यटकको चहलपहल बाक्लिँदै जाँदा स्थानीय अर्थतन्त्र चलायमान भएको उहाँको भनाइ छ ।
उच्च मौसम सुरु भएसँगै दैनिक रूपमा चार सयदेखि पाँच सय पर्यटक मनाङ प्रवेश गर्छन् । मौसम सामान्य रहेमा अझै केही सातासम्म पर्यटक आगमन उकालो लाग्ने अनुमान पर्यटन व्यवसायीको छ । स्थानीय तह र सरोकारवाला निकायले पर्यटकको सुरक्षासहित सूचना, सडक सञ्जाल र पूर्वाधार व्यवस्थापनमा ध्यान दिए मनाङको पर्यटन अझ प्रभावकारी हुनेछ ।