• १४ वैशाख २०८३, सोमबार

‘शिक्षामा बेलाको बोली’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख १४ गते । प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ आइतबार लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्साल, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो । 

सो कार्यक्रममा शिक्षाशास्त्रका डिन वेदराज आचार्यले पुस्तकले शिक्षा क्षेत्रमा कार्य गर्नका लागि र शिक्षामा सुधार गर्नुपर्ने कार्य कसरी गर्न सकिन्छ भनेर धेरै नै सकारात्मक क्षेत्रको जानकारी दिएको बताउनुभयो । पूर्वसचिव डा. लम्सालले यो पुस्तकले शिक्षा क्षेत्रमा नीति निर्माण गर्न, कार्ययोजना बनाउनेलगायत शिक्षा क्षेत्रका सबैका लागि अति नै उपयोगी भएको बताउनुभयो । 

काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक रूपा मुनाकर्मीले किताबले शिक्षा क्षेत्रमा भएका अवसर चुनौतीमाथि प्रश्न गर्दै समाधानका विकल्प दिने बताउनुभयो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यानाथ सरसित केही असहमति भए पनि किताबले शिक्षकसितको दुरी कम गरेको बताउनुभयो । किताबमा आइतबारे बिदा, कसले जिम्मा लिए शिक्षा सुध्रेला, बिदेसिने युवा कसरी रोक्ने जस्ता समसामयिक लेखको सङ्कलन छ । पुस्तक शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।