• १४ वैशाख २०८३, सोमबार

मनमोहन अविचलित निष्ठाका प्रतीक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १४ गते । नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीको २७ औँ स्मृति दिवस आइतबार एमालेले विभिन्न कार्यक्रम गरेर मनायो ।

विसं १९७७ मा जन्मिनुभएका कम्युनिस्ट नेता अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ १ र ३ नम्बर क्षेत्रबाट उम्मेदवार रही प्रचारप्रसारका सिलसिलामा गोठाटारमा अधिकारीको हृदयाघात भएको थियो । उहाँ दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो । 

स्मृति कार्यक्रममा नेकपा (एमाले) का नेता  ईश्वर पोखरेलले मनमोहन अधिकारी ‘अविचलित निष्ठाका प्रतीक’ भएको उल्लेख गर्दै अधिकारीको राजनीतिक सङ्घर्ष र त्यागको स्मरण गर्नुभयो । उहाँले नेपाल कम्युनिस्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै अधिकारी लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्नुभयो । 

अधिकारी भारतमा रहँदा भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भई जेल जीवन बिताएको र भारतबाट अङ्ग्रेज शासन नहटेसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव नहुने बताउने गर्नुभएको नेता पोखरेलले स्मरण गर्नुभयो । नेपाल फर्केपछि पनि अधिकारी कठोर बन्दी जीवन र यातना सहनुपरेको तर कहिल्यै सिद्धान्तसँग सम्झौता नगरेको पोखरेलले बताउनुभयो । 

प्रधानमन्त्री रहँदा हेलिकोप्टर दुर्घटनापछि गम्भीर शारीरिक समस्या झेलेका अधिकारीको आत्मबलको उदाहरण दिँदै पोखरेलले भन्नुभयो, “बैसाखीको सहारा लिनुपर्दा पनि उहाँले हार खानुभएन । उहाँ भन्नुहुन्थ्यो, “मेरा दुई वटा खुट्टा थिए, अब चार वटा भएका छन्, म अझै हिँड्न सक्छु ।” अधिकारीको जीवनबाट वर्तमान राजनीतिले सिक्नुपर्ने मुख्य पाठ भनेकै प्रतिकूल समयमा पनि आफ्नो सिद्धान्त र निष्ठाको झन्डा झुक्न नदिनु रहेको पोखरेलले उल्लेख गर्नुभयो । एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको कम्युनिस्ट आन्दोलनलाई इतिहासमा नै ठुलो धक्का लागेको उल्लेख गर्नुभयो । उहाँले फागुन २१ को निर्वाचनबाट कम्युनिस्ट मात्र नभई समग्र लोकतान्त्रिक शक्तिले नै धक्का खाएको बताउनुभयो ।

पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताउनुभयो । उहाँले २०४७ सालमा तत्कालीन नेकपा (माले) र माक्र्सवादीको एकता गर्दा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नु पर्छ भन्ने सन्देश दिएको बताउनुभयो । 

“आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो,” ज्ञवालीले भन्नुभयो, “पुस्ता पुस्ताबिचको अतिवादी सोचलाई एमालेले अनुभव र जोसको संयोजनको अभ्यास गरेको थियो ।”