गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ६ गते । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’ को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामरा र स्व्रिmप्ट पूजा गर्दै निर्माण युनिट छायाङ्कनमा निस्केको हो । पछिल्लो चलचित्र ‘ड्रिम्स’ प्रदर्शनको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’ मा पुनरागमन गर्दै हुनुहुन्छ ।
अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उनलाई अभिनेतृद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनुहुने छ । भुवन केसी आफैँ पनि प्रमुख अभिनयमा रहनुहुने चलचित्रका अन्य कलाकारमा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरीलगायतको अभिनय रहने छ । निर्देशक केसीले चलचित्र ग्रामीण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताउनुभयो । अनमोललाई हिजोको दिनमा देख्दै आउनुभएको भन्दा भिन्न लुक्स र अवतार दर्शकले यो चलचित्रमा देख्न सक्नुहुने छ, निर्माता जिया केसीले भन्नुभयो, “चलचित्र नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवकयुवतीको आफ्नै कथा बन्नेमा हामी विश्वस्त छौँ ।”