काठमाडौँ, कात्तिक २७ गते । कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालो चढ्दै छ । अहिले दर्शकले पनि नेपाली चलचित्रलाई मन खोलेर माया गर्न थालेका छन् । यद्यपि दर्शक चलचित्रमा कथाको कमजोरी र एकै किसिमका भावनात्मक रुवावासीका कुरा मिसिएर बनेका चलचित्र हप्तैपिच्छे प्रदर्शनमा आउन थालेपछि निराश पनि छन् । नेपाली चलचित्रमा के हेर्ने र के खोज्ने ? भनी दर्शकलाई सोच्न बाध्य बनाएको छ ।
कलाकारको एकै प्रकृतिका अभिनय, रुवाबासी र बलिउडका साउथ चलचित्रको हुबहु एक्सनका दृश्यले दर्शक वाक्कदिक्क भइसकेका छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको पूर्णबहादुरको सारङ्गी र १२ गाउँदेखि लिएर यस वर्ष प्रदर्शनमा आएका हरिबहादुरको जुत्ता, माइतीघर, बलिदान र परान यसका ज्वलन्त उदाहरण हुन् ।
निर्देशक केपी पाठकका अनुसार चलचित्रको कथा भनेको मान्छेले जीवनमा गर्ने दैनिक काम जस्तै हो । नेपालमा एआईदेखि लिएर ऐतिहासिक चलचित्र बनिरहेका छन् । यस्तै खालका चलचित्र बनाउनका लागि हामीसँग पर्याप्त बजेट छैन । चलचित्र क्षेत्र सानो बजारमा मात्र सीमित भएको हुनाले पनि दर्शक एकै किसिमका चलचित्र हेर्न बाध्य भइरहेका छन्, उहाँ भन्नुहुन्छ । आफ्नो बजार पनि छैन र विश्वव्यापी रूपमा हामीले यस क्षेत्रलाई चिनाउन सकिरहेका पनि छैनौँ । फरक किसिमका काम गर्न बजेटको आवश्यकता पर्छ जसको अभाव अहिले सबैभन्दा धेरै छ । २९ करोडको चलचित्र निर्माण गर्नु प¥यो भने त्यसको बजार कहाँ छ ? पाठकले प्रतिप्रश्न गर्नुभयो ।
कलात्मक र व्यावसायिक हिसाबले अहिले नेपाली चलचित्र केही माथि उठेको अवश्य हो तर अझ पनि बदलिँदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्नका लागि जति कथावस्तु र प्रस्तुतिले पेल्नु पथ्र्यो त्यो भइरहेको छैन । अझै पनि उही घिसिपिटी रोनाधोना र एक्सनको फन्डाले चलचित्र सधैँ चलाउन सकिन्छ भन्ने भ्रममा छन्, हाम्रा निर्देशकहरू । “चलचित्र भनेको प्रस्तुति हो कथा त सानो प्लटमा पनि बनाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
अर्का निर्देशक ज्ञानेन्द्र देउजाको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार चलचित्रको कथामा खासै परिवर्तन आएको छैन । यहाँ चलचित्रको कथाभन्दा पनि दुःखान्त कुरालाई मुख्य विषय बनाएर चलचित्र चलाउने होडबाजी चलेको छ । सधैँ भावनात्मक अभिनय र एक्सनले मात्र चलचित्र चल्छ भन्नु पनि मूर्खता हो । अहिले पारिवारिक चलचित्रले बजार पिटिरहेको छ जुन सधैँ एकनास तरिकाले जान्छ भन्ने हुँदैन । चलचित्रले करोड कमायो भनेर प्रचार गर्नुको खासै तुक नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “करोड कमायो भने त्यसबापत कति पैसा आउँछ भन्ने पनि सोच्नु पर्छ । एउटा चलचित्र हलमा एक करोड रुपियाँ कमायो भने त्यसलाई ३५ प्रतिशत आउँछ । त्यसैले पनि चलचित्रले यति कमायो उति कमायो भन्नु नै बेकार हो,” उहाँ भन्नुहुन्छ । चलचित्रको कथा जे जस्तो होस् अहिले निर्देशक र निर्मातालाई आफ्नो चलचित्रमा रुवावासीका भावनात्मक दृश्य र भारतीय चलचित्रबाट हुबहु कपि गरिएका एक्सनका दृश्य भए पुग्छ । कलाकारको अनुहारभन्दा पनि नीर शाह, हरिवंश आचार्य, विजय बराल प्रविन खतिवडा, महेश त्रिपाठी, समीर भट्ट, अञ्जना बराइली, पूजा चन्द, केकी अधिकारीलगायतले गरेको भावनात्मक रोइकराइको अभिनयले नै दर्शकलाई हलसम्म तान्न बाध्य बनाइरहेको छ ।