काठमाडौँ, कात्तिक २९ गते । दुई वर्षपहिला प्रदर्शनमा आएको चलचित्र ‘जारी’ मा निर्देशक उपेन्द्र सुब्बाले ‘पालम’ र ‘च्याब्रुङ’ को धुनलाई दर्शकमाझ पस्कनुभएको थियो । जसमा लिम्बू समुदायभित्र देखिने जीवनयापनका कुरा मिश्रित थिए । चलचित्र जारीमा हाङमा (मिरुना मगर) र नामसाङ (दयाहाङ राई) बिच देखिएको निःसन्तानपनले जीवनमा आउने आरोह अवरोह मिसिएको कथालाई निर्देशक सुब्बाले दर्शकमाझ उजागर गर्नुभएको थियो । त्यतिबेला दर्शकले चलचित्रलाई धेरै रुचाएका थिए र बक्स अफिसमा पनि चलचित्रले करोडौँको व्यापार गर्न सफल भएको थियो ।
यस पटक निर्देशक सुब्बाले ‘जारी २ : सङ अफ च्याब्रुङ’ मा दम्पतीको झगडालाई यथावत् राख्दै माओवादी जनयुद्धले ती दम्पतीको जीवनमा त्याएको उचारचढावको कथालाई मुख्य विषय बनाउनुभएको छ । चलचित्रमा सेनाले च्याब्रुङ च्यातिँदा नामसाङमाथि पर्ने प्रभाव, दम्पतीमा आउने उतारचढाव र माओवादी जनयुद्धका लडाकुले नामसाङलाई अपहरण गरेर लगेपछि हाङमा नामसाङलाई खोज्न गरेको सङ्घर्षका कुरा छन् । यस पटक हाङमा र नामसाङ निःसन्तान छैनन् । उनीहरूको सानो एउटा छोरी पनि छ । नामसाङ लिम्बू भए पनि उहाँले च्याब्रुङ बजाउन जान्नुभएको छैन । कथाको सुरुवातमा नै नामसाङलाई ससुरालीले ल्याइदिएको उपहारस्वरूप च्याब्रुङ बजाउन नआउने भन्ने थाहा पाएपछि हाङमाका भाइ (अनिल सुब्बा) ले भिनाजुलाई च्याब्रुङ बजाउन सिकाउनुहुन्छ । च्याब्रुङ बजाउन जान्ने भएपछि नामसाङको घरमा बास नै हुँदैन । उहाँ गाउँघरका मेलामा नै धेरै रमाउन थाल्नुहुन्छ । घरको काम छाडेर च्याब्रुङ बोक्दै उहाँ गाउँघरको रमाइलोमा मात्र रमाइरहनुहुन्छ । जब गस्तीमा आएको नेपाली सेनाले च्याब्रुङ बजाएर घर फर्कंदै गरेका नामसाङलाई नियन्त्रणमा लिएर हेर्न खोज्दा च्याब्रुङ च्यातिन्छ । यसपछि कथाले अनेकन मोड लिन्छ ।
नामसाङ र हाङमाबिचको झगडाको बिउ पनि च्याब्रुङ नै हुन्छ । दुवैबिचको झगडा माइतीसम्म पुग्छ । हाङमाका भाइ साथीभाइ लिएर भिनाजुलाई मार्छु भन्दै लखेट्छन् । अति नै भएपछि सहन नसकेर हाङमा पनि माइती जान्छिन् । माइतीले हाङमाको अर्को विवाह गर्न खोज्नु, नामसाङलाई माओवादीले आफ्नो कब्जामा लिनु जस्ता कुराले नै चलचित्रको कथामा ट्विस्ट ल्याउने काम गर्छ । अघिल्लो चलचित्र जारीमा जस्तो यस पटक निर्देशकले सधैँ देखिरहेको र भोगिरहेका कुरालाई कथामा देखाएर दर्शको ध्यान चलचित्रउपर खासै तान्न सक्नुभएको छैन । अभिनयको हिसाबले यस पटक पनि मिरुना मगरले बाजी मार्नुभएको छ । उहाँको रूपरङ र संवादको शैलीले दर्शकलाई लट्ठ बनाउँछ । दयाहाङ राईको अभिनय खासै नौलो होइन । उहाँले पुरानो लयलाई छाड्न सक्नुभएको छैन । मङ्गलसेनको भूमिकामा देखिनुभएका (विजय बराल) को भूमिकालाई निर्देशक सुब्बाले अलि बढी स्थान दिनुभएको हो कि भन्ने भान हुन्छ । जबकि चलचित्रमा मङ्गलसेनको काम भनेको रोएर दर्शक हँसाउने मात्र हो । जसले दर्शकलाई दुई घण्टासम्म हलमा टिकाउन अवश्य मद्दत गर्छ ।
चलचित्रको राम्रो पक्ष भनेकै निर्देशकले कथा र संवादमा आफ्नो साहित्यिक अनुभवलाई बाँड्नु हो । यति हुँदाहुँदै पनि कतै कतै संवादमा मिठास कम भएको हो कि भनेर मनमा खट्किन्छ । चलचित्रमा नयाँ भनेको नामसाङले च्याब्रुङ बजाउन सिक्नु र पालम गाउन जान्नु पनि हो । मङ्गलसेनसँगै नामसाङले यस पटक बुद्धि तामाङदेखि विष्णु मोक्तानसम्म थुप्रै अन्य साथी पाएका छन् । निर्देशकले यस पटक पनि दर्शकको मन त जित्न खोज्नुभएको हो तर उहाँले धेरै विषयलाई एकसाथ भन्न खोज्दा कथाले आफ्नो मौलिक मिठास गुमाएको जस्तो अनुभव गराउँछ ।