सिराज खान
नेपालगन्ज, मङ्सिर ७ गते । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके जिल्लामा १६ हजारभन्दा बढी नयाँ मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले नामावली दर्ता गराउने कार्यमा नयाँ युवा मतदाताको उत्साह अत्यधिक देखिएको जनाउँदै हालसम्म जिल्लामा १६ हजार ८११ जनाले नाम दर्ता गराएको बताउनुभयो ।
उहाँले ११ हजार ७११ जनाले निर्वाचन कार्यालयमा आएर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जनाउँदै पाँच हजार १०० जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाइनमार्फत नाम दर्ता गराएको बताउनुभयो ।
निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीका अनुसार कार्यालयमा आएर नाम दर्ता गराउनेहरुमा पाँच हजार ८३७ जना पुरुष र पाँच हजार ८७४ जना महिला छन् । राष्ट्रिय परिचयपत्रको आधारमा नाम दर्ता गराएकाहरुमध्ये महिला पुरुष छुट्याउने कार्य भइरहेको छ ।
नाम दर्ता गराउन कात्तिक मसान्तसम्मको समयलाई थप गरेर मङ्सिर ५ गतेसम्म गरिए पनि नाम दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको देखिएकाले अझै पनि धेरैको नाम छुटेको हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।
बाँकेमा नयाँ नाम दर्ता गराएका मतदाताहरुमा अधिकांश मतदाता युवा मतदाता रहेको सो कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शाहीले थपिएका अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका रहेको बताउनुभयो ।
बाँकेमा २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४ जना मतदाता थिए । त्यसमा एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र अन्य नौ जना थिए ।
निर्वाचन कार्यालयले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गरेर नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, ठाउँसारी गर्ने लगायतका कामहरू गरेको थियो ।
मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका युवाहरु अधिकांश रहेको पनि जनाइएको छ ।