• १४ वैशाख २०८३, सोमबार

हिमाली जिल्लाको शैक्षिक क्यालेन्डर विद्यार्थीमैत्री बनाउन माग

blog

मुस्ताङका सांसद योगेश गौचन थकालीको अगुवाइमा हिमाली जिल्लाका सांसदहरूको शिक्षामन्त्री सस्मित पोखरेलसँग भेट । तस्बिर हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख १४ गते ।
मुस्ताङका सांसद योगेश गौचन थकालीले हिमाली जिल्लाको भौगोलिक अवस्था र हावापानीअनुसार शैक्षिक क्यालेन्डर नहुँदा विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको बताउनुभएको छ । उहाँले पहाडी र तराई जिल्लासरह एउटै शैक्षिक क्यालेन्डर लागू नगर्न पटक–पटक ध्यानाकर्षण गराउँदै आएको जानकारी दिनुभयो ।

उपल्लो मुस्ताङमा मङ्सिरदेखि फागुनसम्म तापक्रम शून्यभन्दा तल झर्ने र घुम्ती विद्यालय सञ्चालनका लागि विद्यार्थीलाई जिल्ला बाहिर लैजानुपर्ने बाध्यता रहेको भन्दै उहाँले फागुनबाट शैक्षिक सत्र सुरु गरी मंसिरमा अन्त्य गर्नुपर्ने मागसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउनुभएको छ ।

सांसद गौचनले अघिल्लो सरकारकै पालामा पनि यस विषयमा आवाज उठाएको उल्लेख गर्दै चिसोका कारण विद्यार्थीको शैक्षिक गतिविधि प्रभावित हुने गरेको बताउनुभयो । उहाँका अनुसार कात्तिक महिनादेखिनै पठनपाठन प्रभावित हुने भएकाले मुस्ताङसहित हिमाली जिल्लाको समस्या समाधानका लागि आफूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेटघाट गरी पहल गरेका छन् ।

वि.सं. २०७९ मा निर्वाचित सांसद गौचनले विगतमा संघीय सरकारले शैक्षिक क्यालेन्डरमा जबर्जस्ती निर्णय लादेको गुनासो समेत गर्नुभयो । लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक रूपमा सक्षम विद्यालयहरूले पोखरा र तनहुँमा घुम्ती विद्यालय सञ्चालन गर्दै आएका छन् ।

हिमाली जिल्लाका सांसदहरूको पहलपछि शैक्षिक सुधार र नियमित पठनपाठनका लागि सैद्धान्तिक सहमति जुटेको र आगामी आर्थिक वर्ष २०८४/८५ को कार्ययोजनामा समावेश गर्न मन्त्री पोखरेलले निर्देशन दिएको सांसद गौचनको भनाइ छ ।
हाल शैक्षिक सत्र वैशाखमा सुरु भई चैतमा वार्षिक परीक्षा हुने व्यवस्था छ । तर हिमाली जिल्लामा भने फागुनबाट शैक्षिक सत्र सुरु गरी मङ्सिरको दोस्रो सातासम्म परीक्षा सञ्चालन उपयुक्त हुने दिव्यदीप मावि छोसेरका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाका दिव्यदीप मावि, छोन्हुप झिन्झु आधारभूत विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय, निफुक नाम्डोल गुम्बा, महाकरुणा शाक्यापा, मञ्जुश्री गुम्बालगायत तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका चराङ मावि, घमी मावि र जनज्योति आधारभूत विद्यालय घिलिङका साथै बौद्ध शिक्षा सञ्चालन गर्ने गुम्बाहरू चिसो समयमा बेंसी झरेर पठनपाठन गराउन बाध्य छन् । तल्लो क्षेत्रका विद्यालयहरू भने पुसदेखि माघ मसान्तसम्म वार्षिक तालिकाअनुसार बिदा दिने गरिन्छ ।