• ७ मंसिर २०८२, आइतबार

उत्तर पूर्वको पृष्ठभूमिको कथा ‘दी फ्यामिली म्यान ३’

blog

काठमाडौँ, मङ्सिर ७ गते । पछिल्ला समय बलिउडमा चलचित्रले भन्दा वेभ सिरिजहरूले प्रभुत्व जमाएका छन् । वेभ सिरिज हेर्ने दर्शक दिनप्रतिदिन बढ्दै जानु यसको ज्वलन्त उदाहरण हो । चलचित्र ‘दी फ्यामिली म्यान ३’ ले वेभ सिरिजको लोकप्रियता अझ बढाउने अपेक्षा गरिएको छ ।

चलचित्र ‘दी फ्यामिली म्यान ३’ को  कथा उत्तर पूर्वको संवेदनशील पृष्ठभूमिमा आधारित छ । पछिल्ला शृङ्खला १ र २ को सफलतापछि यसको तेस्रो अध्यायले राजनीतिक उतारचढावलाई मात्र समेटेको छैन । सो सिरिजले श्रीकान्त तिवारी (मनोज बाजपेयी) को पारिवारिक सम्बन्धमा आएका बाधा अडचनलाई पनि कोट्याउन खोजेको छ । सिरिजमा एक्सन, प्रेम भावनाका कुरा र राजनीतिक उतारचढावलाई बिलकुलै फरक ढङ्गबाट देखाइएको छ ।  

तेस्रो शृङ्खलाको कथाभित्र श्रीकान्तले सूची (प्रियामणि) सँगको डगमगाएको वैवाहिक सम्बन्ध समाल्ने मात्र होइन आफ्ना चुलबुल स्वभाव भएका छोराछोरी (अश्लेषा ठाकुर र वेदान्त सिन्हा) सँग तालमेल पनि मिलाउनु पर्छ । चलचित्रको अर्को पाटो भनेको उत्तर पूर्वमा भएको एक दुर्घटना हो । सो दुर्घघटनाले उहाँको जीवनलाई खतरामा पार्छ भने उहाँको इमानदारितामा पनि प्रश्न उठाउँछ । 

श्रीकान्त अब वान्टेड मान्छे बन्नुभएको छ । परिवार र उहाँका सहयोगी जेके (शारिब हासमी) सँगै श्रीकान्त भाग्नुपर्ने स्थितिमा पुग्नुहुन्छ । यद्यपि उहाँलाई थाहा छ कि यी सबै कुराबाट बाहिर निस्किने एक मात्र उपाय कुख्यात तस्कर र ‘हिटम्यान’ रुक्मा (जैदीप अहलावत) लाई रोक्नु हो । रुक्माले आफ्ना साथी मीरा (निम्रता कौर) सँग मिलेर ठुलो योजना बनाइरहेका हुन्छन् ।

चलचित्रको तेस्रो सिजनमा श्रीकान्तको जीवनमा आउने आपत्विपत्लाई पहिलाको भन्दा फरक तरिकाले प्रस्तुत गरिएको छ । यस पटक खतरा उत्तर पूर्वमा केन्द्रित छ, जहाँ एक ठुलो लागुऔषधको फैलिँदो जाल देशका लागि गम्भीर सङ्कट बनेको छ । यही जालको पछाडि लुकेको छ रुक्माका अनेकन योजना । रुक्माको हरेक कामलाई पर्दा पछाडि बसेर मीराले नियन्त्रण गरेकी हुन्छिन् । श्रीकान्तलाई केवल देशलाई मात्रै होइन, आफ्नै परिवारलाई पनि मृत्युको छायाँबाट जोगाउनु छ । उहाँको अनुसन्धानले घरपरिवारलाई धेरै जोखिम उठाउनु परेको छ । रुक्मा र मीरा केवल देशका लागि मात्र नभएर परिवारको पछि लागेको थाहा पाएपछि श्रीकान्त आफ्नो परिवारलाई लिएर भाग्न बाध्य हुन्छन् । श्रीकान्त कसरी रुक्माको जालबाट निस्कन्छन् ? के उनी देश र आफ्नो परिवार दुवैलाई बचाउन सफल हुन्छ ?  

मनोज बाजपेयी फेरि एक पटक सिरिजको सम्पूर्ण आकर्षण बन्नुभएको छ । पिता, श्रीमान् र एजेन्टको बिचमा परेका सङ्घर्षलाई उहाँले अत्यन्तै तारिफयोग्य तरिकाले आफ्नो अभिनय पस्कनु भएको छ ।  प्रत्येक फ्रेममा उहाँको उपस्थितिले नै शृङ्खलालाई उचाइमा लैजान पर्याप्त छ । शारिब हासमी र उहाँको साथित्वको केमिस्ट्रीले चलचित्रलाई अझ माथि उठाउने काम गरेको छ । दुवैका हास्यपूर्ण क्षण अत्यन्त मनमोहक लाग्छ ।

रुक्माको भूमिकामा जयदीपले एक फरक शैलीको खलनायकको भूमिकामा देखिनुभएको छ । शान्त, डर लाग्ने हेराइ, चिसो व्यवहार, अनि सोच्नै नसकिने स्वभाव । खलनायकको भूमिकामा उहाँलाई एकदमै सुहाएको छ । निम्रता कौरको भूमिका रहस्यमय छ । उहाँले कथामा नयाँ स्वाद थप्ने काम गर्नुभएको छ । सूची जो प्रियामणिको छोटो भूमिका हुँदाहुँदै पनि प्रत्येक दृश्यमा उहाँको अभिनय अत्यन्त प्रभावशाली छ । यससँगै श्रेया धन्वन्तरी, गुल पनाग, विपिन शर्मा, सीमा विश्वास, जुगल हंसराजलगायतका कलाकारले पनि आआफ्ना भूमिकामा न्याय गर्नुभएको छ । विजय सेतुपतिको छोटो तर प्रभावशाली क्यामियोले अवश्य दर्शकको ध्यान तान्छ ।