काठमाडौं, मङ्सीर ६ गते । नेपालको पहिलो ऐतिहासिक प्रिन्टिङ्ग प्रेस ‘गिद्दे प्रेस’ शनिवार राष्ट्रिय संग्रहालय छाउनीबाट गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ ।
प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्कदा वि.सं १९०८ मा सो प्रेस नेपाल ल्याइएको थियो । राष्ट्रिय संग्रहालय छाउनीका प्रमुख अरुण नकर्मीले उक्त प्रेस गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई हस्तान्तरण गर्नुभएको हो ।

सो प्रेस गोरखापत्र संस्थानको करिब १२५ अघि गोरखापत्र छाप्न प्रयोग भएको कोठमा राखिने तय भएको छ । सो २०३६ असोज १ गते संग्रहालयमा पठाउने निर्णय भएको थियो ।
बेलायतबाट नेपाल ल्याइएपछि तत्कालीन श्री ३ जङ्गबहादुरको थापाथली दरबारमा राखिएको त्यसपछि गोरखापत्रमा पठाइएको थियो । सो प्रेस हस्तान्तरण गर्नुअघि संग्रहालयका संग्रहालय अधिकृत सुवास डंगोलसहितको टोलीले संस्थानको भ्रमण गरी आवश्यक सुझावसहित प्रतिवेदन दिनुभएको थियो ।

विगतमा संरक्षणका लागि सो प्रेस राष्ट्रिय संग्रहालयमा पठाइएको भए पनि स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पाटपूर्जा खुला आकाश मुनि चउरमा मै रहेका थिए भने केही स्टोरमा थन्किएका थिए ।
निकै जीर्ण अवस्थामा रहेको सो प्रेसका केही पाटपूर्जा गोरखापत्र संस्थान परिसरमा जमिनमा दबिएको अवस्थामा रहको अनुमान गरिएको छ । इञ्जिनियरिङ क्याम्पस, थापाथलीमा मेकानिकल विषयमा अध्ययनरत केही विद्यार्थीले स्वयंसेवी रुपमा सहयोग गर्ने बताएको र आवश्यक भए राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि पनि छलफल भइरहेको छ।
