सन्तोष दहित
दाङ, मंसिर ६ गते। नेपाली चलचित्रका महानायक राजेश हमाल शनिबार दाङ आइपुग्नुभएको छ।
उहाँ एक साहित्य उत्सवको अवसरमा दाङको घोराहीमा आयोजित कार्यक्रमका प्रमुख आकर्षणका रूपमा सहभागी हुनुभएको हो।
यस अवसरमा महानायक हमालको जीवनीमा आधारित लेखक युगदेखि युगसम्म पुस्तकमाथि विशेष विमर्श कार्यक्रम आयोजना गरिएको छ। सो विमर्शमा हमालले आफ्नो जीवनयात्रा, संघर्ष र कलाजगतमा पुर्याएका योगदानबारे विचार व्यक्त गर्ने बताइएको छ।
अध्ययन मञ्च दाङका संयोजक सूर्य बीसीका अनुसार कार्यक्रममार्फत हमालको सिर्जनात्मक यात्राबारे विस्तृत छलफल गरिनेछ, जसले नयाँ पुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको छ।
यसैविच दाङ आगमनका क्रममा महानायक हमाललाई घोराहीस्थित कबिला रिसोर्टमा विशेष स्वागत गरिएको छ। थारू समुदायका परिकार र स्थानीय खानपानसहितको आतिथ्यमा उहाँलाई सम्मानपूर्वक सत्कार गरिएको रिसोर्टको प्रबन्धक निर्देशक विकास चौधरीले जानकारी दिनुभयो ।