• १४ वैशाख २०८३, सोमबार

दुई दिनको जिन्दगी (कथा)

blog

जब छिरिन्छ रहस्यको अनन्तः गहिराइमा

हराउँछन् प्रकाश, समय, स्थान र दुरीहरू

भोक, सपना र आकर्षण हुर्किन नपाउँदै 

सम्बन्ध, परिवेश अनि स्वार्थहरू आफैँ भताभुङ्ग हुन्छन्

अहो, यो ब्रह्माण्ड !

अहो, यो ब्ल्याक होल !!

कविता लेखिरहेको थिएँ । उसले नै डाक्यो– “आऊ ।”

मैले आनाकानी गरिनँ । झट्पट तयार भएँ । निस्किएँ कविताको अद्वैत संसारबाट र पुगेँ तुरुन्तै आमन्त्रित स्थानमा ।

हेरेँ समयलाई । ऊ अलिक पर डाँडोको खोँचबाट एउटा थाकेको सूर्यसहित झर्ने तरखरमा थियो । 

हेरेँ साथलाई । मसँगै थिए मेरा एक मित्र महर्षि । ऊ अनुहारभरि श्वैत दाह्री पालेर समयलाई पुरातनबाट नवीनतामा रूपान्तरण गर्न खोजिरहन्थ्यो । उसको खोजीमा उसका गाला र चिउँडोका दाह्री अस्तव्यस्त हुन्छन् । यथास्थिति नै सही उसको दाह्रीभित्र ऊ आफैँ अल्झिरहे झैँ लाग्छ ।

हेर्छु उसलाई । लिखुरे ज्यानलाई पाइन्ट र टिसर्टले छोपेको छ । अनि त्यही टिसर्टमा लेखिएको छ– “मेरो दाह्री तिमीलाई किन भारी ?” तर सोच्छु– उसलाई उसकै दाह्री नै भारी भए झैँ । पुनः हेर्छु उसलाई– एक हातमा बोकेको छ एउटा टुकटुके मोबाइल फोन । अर्को हातमा छ– ‘उत्तरआधुनिकतावादको नवीन सिद्धान्त’ नामक पुस्तक । सरस्वतीको झैँ चार हात हुँदो हो त थप एक हातमा बोक्दो हो एउटा भोको पेट र अर्को हातले बोक्दो हो हृदयको कुनामा सजिएको एउटा रातो गुलाफ । मान्छे अध्ययनशील । पहिरनमा कुनै दिलचस्पी छैन । उमेरले करिब ६५ । सन्तान बिदेसिएका । घरमा एक्लो । विधुर । 

उसले नै बोलाएको थियो– “आऊ दीप देउरालीमा र बिताइदिउँ दुई दिने जिन्दगीका अनमोल पल ।”

म उसले भनेको समयमा, भनेको स्थानमा पुगेँ । त्यहीँबाट हामीले सँगसँगै पाइला चाल्यौँ । बाटो हल्का उकालो थियो । पन्छाउँदै हिड्यौँ बाटाका भिड । छिचोल्दै – तुवाँलोले ढाकेको एउटा मैलो बस्ती । जहाँबाट मोडिन खोजेको थियो परिचित बाटो । ठिक त्यहीँबाट हामीले समात्यौँ एउटा सानो गल्ली र झ¥यौँ ओरालो । झर्नु जस्तो सजिलो केही रहेनछ जिन्दगीमा । झर्नुमै रहेछ एउटा आनन्द र झर्नुमै रहेछ एउटा अद्भुत नियति ।

झर्न थालेपछि महर्षिको अनौठो चाल देख्छु म । उसको चालमा साङ्गीतिक गति हुन्छ । त्यही चालभित्र दिव्य शक्ति चल्मलाउँछ र त्यही चालभित्र उसका अनन्त गहिराइ पनि भेटिन्छन् । जब ऊ हिँडिरहेको उकालोमा रोकिएर ओरालोतर्फ झर्छ– लाग्छ, ऊ निलो गगनमा आनन्दले कावा खाइरहेको छ । महर्षिहरू चढाइमा मात्र हैनन् झराइमा पनि आनन्दित हुन्छन् भन्ने कतै सुनेको÷कतै पढेको थिएँ मैले, उहिल्यै । 

करिब ५० मिटर झरेपछि एउटा सटरमा टाँगिएको हरियो पर्दाभित्र महर्षि फुत्त छिर्छ । म पनि उसको पछि पछि छिर्छु । त्यहाँ मेरो लागि एक रहस्यपूर्ण ब्रह्माण्ड र दिव्य परिवेश रहेछ अर्थात् ब्ल्याक होल ।

यो कथा यही हरियो पर्दाभित्रको रहस्यपूर्ण ब्रह्माण्ड र दिव्य परिवेश झैँ लाग्ने ब्ल्याक होलभित्रको दुई दिनको एक सामान्य घटना हो । 

पहिलो दिनको जिन्दगी

महर्षि हरियो पर्दाभित्र फुत्त छिर्छ । त्यहाँ एउटा अलौकिक, रहस्यपूर्ण र दिव्य परिवेशले सुसज्जित नाट्यशाला छ । यतिखेर दुई दिनको जिन्दगीको एक दृश्यमा रहलिन्छु म । अलमल्लमा छु । त्यसो त पूर्ण कुतूहलतामा पनि छु । केमा छु छु ?! भन्नुपर्दा– सायद छु, दुई दिनको जिन्दगीको घनघोर रहस्यपूर्ण नाट्यशालामा । महर्षि, म र ज्ञात, अज्ञात अन्य कलाकारले अभिनय गरेको एउटा अद्भुत 

नाट्यभित्र छु ।

आँखा चिप्लाइदिन्छु परिवेशभरि– केही बुढा टेबुल छन्, आफैँमा राम्रोसँग उभिन नसकेका । कुमले टेक्दा लिन्ठिङ लिन्ठिङ हल्लिएका छन् । बस्ने मेच त्यस्तै हल्लिएको छ दायाँबायाँ । टेबलमुनि छैन खुट्टा अड्काउने एउटा लामो डन्डी । छोडिदिनु पर्छ खुट्टालाई यसै त्यसै । फेरि आँखा पोखिन्छ, एउटा भद्रगोल मझेरीमा । त्यहाँ यतैकतै व्यग्र ढलेका छन् प्लास्टिकका जग, रित्तिएको पानीको जार, अस्तव्यस्त चुरोटका ठुटा र बुढो एस्ट्रे । 

भित्ता हेर्छु– उही दयनीय गरिबी छ । एउटी किशोरीका अनेक सपना झैँ टाँसिएका छन् रङ्गीन सस्ता पोस्टर टुक्राटुक्रामा । एउटा खोपीमा कोचिएको छ भगवान्‌लाई । हप्तौँ पहिले सल्काइएको अगरबत्तीको खरानी, अभावको आँधीबाट बचेर पनि अझै त्यही यत्रतत्र छरिएर रहेका छन् । ईश्वरप्रतिको अन्धविश्वासमा सुकेका छन् फूलपाति । 

महर्षि थचक्क बस्छ त्यही दायाँबायाँ हल्लिने बेन्चमा । मेरो लागि यो प्रवेश अचम्मको छ । देखिरहेको छु अचम्मका दृश्य । आँखा फ्याँकिदिन्छु महर्षिका आँखामा र सोध्छु उसैलाई– “तिमीले मलाई देउराली लैजान्छु भनेर किन यो भट्टीमा ल्याएको, महर्षि ?”

“देउरालीको भट्टी पसल, रक्सी र छ्याङभन्दा पनि साउनीको बोली असल...,” मलाई हेरेर महर्षिले लोकगीतको एक हरफ गुन्गुनायो ।

मैले थप निहालेँ परिवेश । जस्तामुनि ठोकिएको प्लाई ठाउँ ठाउँमा उप्किरहेका थिए । एउटा बेरोजगार युवाको हजार रहर झैँ एउटा दुब्लो सोकेसमा सपना कतिपय झैँ रिकापीमा राखिएका थिए– चनाको तरकारी, तारेको आलु, उसिनेको अन्डा, कुखुराको पाङ्ग्रा, भैँसीको छोइला र प्लास्टिकको झोलामा एक दर्जन जति तारेको पापड । थपमा केही चुरोटका बट्टा । 

मैले मुन्टो बटारेँ । मुन्टोसँगै आँखामा दृश्य पनि परक्क बटारिए । किचेनको ढोकामा झुन्डिएको थियो हरियो रङको एउटा मैलो पर्दा । जसको चेपबाट देखियो पुरानो किचेन¥याक र मैलो दागी भित्ता । त्यहीँ देखेँ दुई, तीन ठाउँमा झुन्डिएका सुकुटी । केही सुकुटी कालो प्यानमा डढ्दै उढेको आलो खार मेरो नाकको डाँडीमै आइपुग्यो । मेरो फोक्सोले न्वारानदेखिको बल निकाल्यो र दुई, चार खोकी छाडिदियो ।

महर्षि छेउमै बसेर गमिरहेको थियो । यसै मेसोमा भान्छाको त्यही हरियो पर्दालाई कुमले ठेल्दै प्लेटमा सुकुटी फ्राई बोकेर निस्की चालिसे बैँसमा 

रमाएकी साहुनी ।

मैले साहुनीलाई ठम्याइहालेँ । कस्ता चतुर छन् मेरो आँखा ! कति छिटै महिलाको बाहिरी सौन्दर्यलाई ठम्याइहाल्छ । साउनीले आफ्नो बाक्लो कपाललाई कुनै सिउँदो नबनाई खरायोको पुच्छर झैँ एउटा चुल्ठो बनाएकी थिई देब्रे कानको नजिक । अनुहार बाटुलो क्षेत्रीय बान्की परेको । मध्यकद, पुष्ट पाखुरा । कम्मरबाट चिरिएर घुँडा छुँ छुँ गर्ने गुलाबी कुर्था र आकाशको स्वच्छ बादल झैँ सेतो लेगेन्स । मेरा आँखाले पढेको साहुनीको यो नै पहिलो पाना थियो । 

साहुनी आई । छेउकुनाका टेबलबाट जुठा प्लेट बोकी । एक खुर्पे मुस्कान ओठमा पोखी । अनि, हरियो पर्दा पन्छाउँदै छिरी भित्र भित्र जहाँबाट अघि फैलिएको थियो सुकुटी डढेको खार ।

जुठा प्लेटमाथि जुठा प्लेट नै फ्याँकिएको एउटा भट्टीध्वनि पर्दाभित्रैबाट झङ्कृत भयो । ध्वनि, परिवेश र परिस्थिति समयानुकूल कर्णप्रिय र कर्णकटु बन्दारहेछन् । यतिखेर प्लेटमाथि पछारिएका प्लेटबाट निस्किएको सङ्गीत आफैँमा सुमधुर लाग्यो मलाई ।

साहुनी फेरि नायिका झैँ देखापरिन् । म र महर्षि मुख्य अभिनेता छौँ । वल्लो, पल्लो र उपल्लो टेबलमा छरिएका ग्राहक सहायक कलाकार झैँ दोछायामा छन् ।

साहुनी आएर महर्षिको छेउमै बस्छिन् र मेरा आँखा चोरेर महर्षिलाई भन्छिन्– “अङ्कल, के खानुहुन्छ ?”

महर्षि दाहिने हातले आफ्नो गालाभरिको दाह्रीलाई सुमसुम्याउँदै च्यापुभन्दा तल झार्छ र पाँच÷छ वटा लामा दाह्री खेलाउँदै मलाई सोध्छ– “के 

लिन्छौ ?”

म साहुनीलाई आफ्ना प्रस्ट दुई नयनले स्पर्श गर्छु । मस्तिष्कमा सजाउँछु र मेनकाको सुन्दर रूप अनि विश्वामित्रको दाह्रीलाई एक्कासि मस्तिष्कमा खेलाउँछु । 

मैले साहुनीको आँखामा आफ्ना आँखैले आव्रmमण गरी भनिदिए– “एक प्लेट पाङ्ग्रा फ्राई ।”

महर्षिले अर्डर दिए– “एक गिलास पाँचपाने ।”

साहुनीले पोखी पुनः एक खुर्पे हाँसो र पिठ फर्काउँदै छिरी उही पर्दाभित्र । 

नाट्यशालाको अग्रभागमा नायिका थिइनन्, दाह्रीवाल भिलेन र क्यापवाले नायक मात्र थियो । मैले क्यापको छतरीलाई घरर्रर्र घडीको दिशामा नै तालुमाथि घुमाइदिएँ । महर्षिले हेरिरह्यो ।

सिसाको गिलासमा पाँचपाने भरिदिएर टेबलमा राखिदिँदै साहुनीले मलाई भनिन् – “तपाईं के लिनुहुन्छ ?”आँखामा आँखा जुधाएर मैले साहुनीलाई भनिदिएँ– “चोखो माया ।” “लौ, चोखो माया त किम्तीको छ । यति छिट्टै दिइहालौँ र ?”

“कुर्न परे कुर्छु तर म चोखो मायाको भोको छु ।”

साहुनी फिस्स हाँसिन् उही एक खुर्पे हाँसो ।

हरे, यो हाँसो पनि गरिब र धनीको छुट्टाछुट्टै हुँदोरहेछ । उसले एउटा गरिब हाँसो, सस्तो लिपस्टिक पोतिएको ओठको छेउकुनामा पोखिदिई ।

महर्षिले औपचारिक रूपमा ‘चेयर्स’ भन्यो । सिसाको गिलासभित्र रहेको पवित्र पाँचपानेलाई उठायो । ओठमा टाँस्यो । एक चुस्की पियो र आँखा चिम्लिएर मुख खोल्दै लामो हा... ग¥यो । लोकल रक्सी घुड्काइसकेर आँखा चिम्लिँदै हा... गरेका यस्ता दृश्य देख्दा म पुलकित हुन्छु । साँचोमा जीवनको एउटा छुट्टै शाश्वत परिभाषा यही क्रिया र प्रक्रियामा पनि लुकेको हुन्छ । 

महर्षिले गिलासलाई टेबलमा राख्यो । राख्दा कस्तो मिठो आवाज आयो– 

“ट्वाक्क !” रक्सीको एक चुस्की लिनासाथै महर्षिका ओठ नृत्यमग्न हुन्छन् । मलाई थाहा छ, जवानीको सुरुवातीमा केही समय महर्षि विद्यालयको गणित शिक्षक थियो ।

ऊ बर्बराउन थाल्यो । 

“बुझिहाल, कुनै जमानामा म देवगणको गणित शिक्षक थिएँ । जीवनका अनेक कोण-प्रतिकोण मैले नै बनाएको हुँ । जीवनलाई पूरै गुजुल्टिएको धागो बनाएर मान्छेलाई समाधान खोज्न दिने म नै कात्यायन हुँ । देवपुत्रहरूले वेदमा रहेको ब्रह्माण्डभित्र व्याप्त सम्पूर्ण ज्ञानको गरिमा सहजै बुझ्न सकेनन् तसर्थ संंहिता, आरण्यक र उपनिषद्को निर्माण गरियो । लठेतहरूले त्यो पनि बुझ्न सकेनन् । त्यसलाई झन् सहज पार्न मन्त्र, कर्मकाण्ड, ज्ञानदर्शन र गुरुचरणबाट लिने ज्ञानको विकास गरियो ।”

“त्यसपछि देवपुत्रहरूले वेदलाई बुझे त ? वेदका ऋचा फुटाउन त हम्मेहम्मे पर्छ भन्ने सुनेको छु ।”

मेरो प्रश्नमा महर्षि फिस्सा हाँस्यो । पाँचपानेको गिलासलाई दुई हत्केलाले अभूतपूर्ण प्रेमस्पर्श ग¥यो र अर्धमुदित दुई नयनलाई त्यही पाँचपानेमा डुबाइदियो ।

महर्षि मेरो प्रश्नले थप उत्साहित भयो । घुटुक्क पारेर एक मुख पाँचपाने पियो र पिइसकेपछि हा... गर्दै मुख बायो । गिलासलाई टेबलमा ठ्योक्यो । ट्वाक्कको एक मिठो ध्वनि भट्टीको अलौकिक मञ्चमा गुञ्जियो । “वेदका भेदहरू देवहरू नै बुझ्दैनन् । उनका लठायत पुत्रले कसरी बुझ्नु ?”

कात्यायन भनिने महर्षि उल्टो मलाई नै प्रश्न गर्छ ।म हल्लिने बेन्चमा स्थिर हुन्छ र एकाग्रचित्त उसलाई सुनिदिन्छु ।

महर्षि फुसफुसाउँछ– “सम्पूर्ण वेदको व्यवस्थापन गर्न मैले सूत्रलाई जन्माएँ ।”

महर्षिले बाँकी पाँचपानेलाई एक घुड्कोमै सक्काउँदै “बहिनी, अर्को एक गिलास ...’ अपूर्ण वाक्य बोल्यो ।

पर्दालाई कुमले ठेल्दै आजको नायिका कोकको जम्मु बोतलमा भरिएको रक्सी लिएर आइन् । यता आजको नायकलाई आकर्षणको तरङ्गले एक झटारो हान्यो । झटारोले कहाँ कहाँ लाग्यो भन्न असमर्थ छु ।

“तपाईंको प्लेटको मासु त उस्तै छ । खै, के खानुहुन्छ ?” साहुनीले सिधै मलाई आव्रmमण गरी । भन्न त मन थियो– “म सिङ्गै तिमीलाई खान्छु साहुनी ।” तर संवाददाताले यो संवाद मेरो नाममा लेखिदिनै बिर्सेछन् । तसर्थ म अवाक्पूर्ण साहुनीलाई हेरिरहेँ– छैन सिउँदो । भृकुटीमा टाँसिएको छ मलमलको टिकुली । ओठको डिलडिलमा कोरिएको छ एक रङ्गिन किनारा । झरना झरे झैँ मेरा आँखा साहुनीको शिरदेखि पाउसम्म झारिदिन्छु । 

महर्षिको गिलासमा पाँचपाने भरिदिँदा पनि साहुनीका आँखाले मलाई नै स्पर्श गरिरहन्छन् । यो सब भङ्ग गर्न महर्षि प्रस्तुत गर्छ एक समीकरण–

प्रगति+विश्राम–आवेग÷आय×जिजीविषा=जीवन

–‘हल गर, मुला ।’

हो, मसँग अनेक समस्या छन् । रहर छन् । यो नाथे जीवनलाई कति असिनापानीले छुटे । यात्रालाई कति पहिरोले रोके । गति र विश्रामको जोडघटाउ गर्दै जीवनमा अनेक भागा÷गुणन गरियो तर आज महर्षिले दिएको यो समस्या हेरेर छक्क छु ।

मैले सिधै भनिदिएँ– “सक्दिनँ, यार ।”

महर्षिले गिलासको नयाँ पाँचपानेलाई एकै सासमा घुट्क्यायो र आँखा खुम्च्याएर एउटा ठुलो मुख बनाउँदै लामै हा... ग¥यो अनि गिलासलाई टेबलमा तरङ्ग फैलिने गरी ट्वाक्क ! राख्यो ।

वास्तवमा हामीले बनावटी नाटक खेलिएका थियौँ भने महर्षिको यो अभिनयमा दर्शकदीर्घाबाट तालीको परर्र... आवाज आउँथ्यो । एकाएक महर्षि एक जीवन्त कलाकार बन्थ्यो । यो नाट्यशालाभित्र ऊ वास्तविक अभिनय गरिरहेको छ र त मात्र ऊ एक खडुस जँडिया साबित भएको छ ।

ऊ भन्छ– “एक दिन मैले यज्ञका वेदी बनाउन रज्यू गणित प्रतिपादन गरेँ । डोरी (रज्यू) ले नाप्दैनाप्दै यज्ञको वेदी मात्र होइन, दरबार निर्माण गर्ने सिप मैले नै देवपुत्रलाई सिकाएँ । मेरो यही गणितीय ज्ञानबाट लिच्छवी र मल्लकालका कालिगडले पाटी, पौवा, मन्दिर र दरबार बनाए । अहिले मेरो त्यही गणितलाई भक्तपुरे रैथाने नेवाः कालिगडले तेलिया इँटामार्फत निरन्तरता दिइरहेका छन् ।”

म नतमस्तक भएर सुनिरहन्छु । रक्सीले अर्धचेतन मनका कुरालाई स्वैरकल्पनामा घुलन गरी ओकल्न गजबको उत्प्रेरणा दिन्छ । म छक्क छु ।

महर्षिले पुनः थप्यो, “एक दिन मेरो गुरुकुलमा एक नयाँ शोधकर्ता आएका थिए ।”

वास्तवमा महर्षि एकदम अन्तर्मुखी स्वभावका व्यक्ति हुन् । उनी अरूका कुरा सुनिरहन्छन् । कसैसँग पनि आँखा नजुधाईकन चुपचाप बसिरहन्छन् । प्रत्येक शब्दलाई सुनको तोला सोच्छन् र तिनै शब्दलाई तौली तौली बोल्छन् । जति बोल्छन् सब सूत्र झैँ बोल्छन् तर महर्षि यो हरियो पर्दाभित्रको नाट्यशालामा छिरेपछि पाँचपाने जल मुखमा सेचन गर्दै अर्धचेतन मनमा गुजुल्टिएका दमित भावना स्वैरकल्पनायुक्त लामालामा संवादबाट अभिव्यक्त हुने गर्छ । 

महर्षिले आफ्नो दाह्री सुमसुम्याउँदै बोल्न थाल्यो– “बुझ्यौ, म कात्यायन हुँ । मेरो गुरुकुलमा एक दिन एउटा खैरे शोधकर्ता आ’को थियो । पानी झमझम परिरहेको थियो । मैले उसलाई हेरँे– लुगा पूरै भिजेका थिए । यस्तो अवस्थामा मलाई मानवताले जित्यो । मैले आफ्ना वस्त्र धारण गराई कुटीमा शरण दिए ।”

भोलिपल्टको प्रातःकालीन समयमा मैले उसलाई सोधेँ– “तिमी को हौ ? यहाँ कसरी आयौ ?”

“म पाइथागोरस हुँ । लिबिया र इटली घुम्दैघुम्दै म यहाँ आइपुगँे ।”

“किन ? केका लागि आयौ ?”

“मभित्र गणितको प्यास र भोक छ । म यी दुवै कुरा मेटाउन चाहन्छु, महर्षि कात्यायन ।”

“तिमीले एउटा समीकरणको हल ग¥यौ भने म तिमीलाई आफ्नो कुटीमा राखेर थप ज्ञान दिन्छु ।”

मैले महर्षिलाई हेरेँ । सधैँ कोट्याई कोट्याई बोलाउनुपर्ने यो महर्षि आज स्वयम् स्वैरकल्पनाको वायुपङ्खी चढेर मलाई नै पूर्वीय र पश्चिमा शास्त्रमा विचरण गराइरहेको छ । 

महर्षिले साहुनीलाई बोलायो । साहुनीले बोतल बोकेर आई । उसले खाली गिलास तेस्र्यायो । साहुनीले गिलासमा पाँचपाने भर्दै आँखाको नसाले भने मैलाई लठ्याइरहेकी थिई ।

गिलास भरिसकेपछि साहुनी मतर्फ फर्की, “छ्या, यो दाइ त केही नपिउनु हुँदोरहेछ । यस्तो मान्छेले रक्सीसँग केको नाटक गर्नु ! ?”

हो, रक्सीको नाममा म ठुलै बदनाम भएको छु । नपिउनेहरूले ‘पियो’ भनेर गाली गर्छन् । पिउनेहरूले ‘पिइनस्’ भनेर कुर्लिन्छन् । एउटा यही महर्षि छ, जो मैले पिए पनि वा नपिए पनि केही भन्दैन । तसर्थ म उसको साथमा छु । उसका उडन्ते गफमा उड्दै उड्दै रमाइरहेको छु ।

महर्षिले सिलसिला जोड्यो–

“विविध ठाउँहरू घुम्दा पनि गणितीय भोक÷प्यास नमेटिएपछि पाइथागोरस मेरो शरणमा आयो । मैले प्रयोगमा आधारित रज्यू गणितको ज्ञान दिएँ । कोण र त्रिभुजको महìव सिकाएँ । भूमापन, वास्तुकला र भवन निर्माणका लागि ज्यामितीय अनेक 

अभ्यास गराएँ ।”

कर्ण२.लम्ब२ंआधार२ 

यो सूत्र मैले नै पाइथागोरसलाई सिकाएको हुँ तर मोरोले मेरो नाम कतै मेन्सन नै नगरी ज्द्द।एद्दंद्यद्द  भन्ने थेरम संसारभर रटायो । मोरो हरामी रहेछ । एकमनले त मोरोलाई ‘पेटेन्ट राइट’ को नामबाट उजुरी हालिदिउँ जस्तो पनि लागेको थियो । तर जब मैले यो सूत्रको प्रतिपादन गरेँ, त्यसबेला ‘पेटेन्ट राइट’ जन्मेकै थिएन । गरिखाओस् भनी पाइथेलाई छाडिदिएँ ।”

मैले महर्षितर्फ हेरेँ । ऊ ओठको कुनाकाप्चाका जमिबसेको थुकको फिँजलाई चोरी औँलाले पुस्दै रहेछ । फेरि पाँचपाने मगायो । घुटुक्क पा¥यो र गिलासलाई ट्वाक्क टेबलमा राख्यो ।  मलाई थाहा छ– ऊ दाहिने मिर्गाैला फेरेर विगत आठ वर्षदेखि यही सहरमा बाँचिरहेछ । हृदयमा कति चोट होलान्, त्यो त मलाई थाहा छैन तर उसका नयनमा टल्किएका अश्रुबुँदलाई मोतीदाना झैँ मैले पटक पटक गनेको छु । “आजको यो साँझलाई यहीँ रोक्नु पर्छ, महर्षि ।”उसले आज्ञाकारी बालखले झैँ ‘हुन्छ’ भन्ने आशयमा टाउको हल्लायो ।

मैले साउनीलाई बोलाएँ र हिसाब मागेँ । ४२० रुपियाँ मात्र भएछ । क्युआर गरेँ र महर्षिलाई जतनसाथ नाट्यशालाबाट बाहिर निकालेँ । साहुनी हरियो पर्दालाई कम्मरमा बेर्दै “आउँदै गर्नूस् है ?” भन्दै थिई । 

भनाइमा आत्मीयता थियो कि एक्लोपन वा व्यापारिक जाल, मैले बुझ्न चाहिनँ ।

दोस्रो दिनको जिन्दगी

आजको दिन पनि ढल्ने तयारीमा थियो । परको डाँडोबाट एउटा थाकेको सूर्य हिजो झैँ खस्दै थियो । मैले हिजोकी साहुनीलाई सम्झिएँ । यो दुईदिने जिन्दगीको नाट्यशालामा जसले आँखा तर्छ÷जो मनमा बस्छ, उसैलाई त रहेछ नि सम्झिने । मैले साहुनीलाई बेदाग सम्झिएँ र सम्झिएँ महर्षिलाई पनि । तसर्थ ठोकेँ फोन–

“हेलो ! महर्षि, के गर्दै छौ ?”

“यसै, रङबङिएर बसिरहेछु, यार ।”

“आज कि साम्, मेरे नाम् ।”

मैले महर्षिलाई पाल्सी भाषामा साहुनीको पसलमा हुल्ने उत्कृष्ट अभिलाषा दर्शाएँ ।

महषर््िाले ‘हुन्छ’ भन्यो । हिजोकै दोबाटोमा ठिक समयमा ठोक्कियो । 

हामीले त्यहीँबाट उकालो लागेको बाटो तुर्न आरम्भ ग¥यौँ । हरियो पर्दाले हामीलाई कुरिरहेको थियो । हरियो पर्दालाई हटाएर हामी नाट्यशालामा प्रवेश ग¥यौँ । त्यहाँ हिजोको उही गरिब दृश्यले कुरिरहेको थियो । हिजोकै हँसिली÷रसेली साहुनीले पर्खिरहेकी थिई । हामीलाई देखेपछि धपक्क बलिन् । मभित्र पनि ताजगीले रक्तसञ्चार मच्चायो । महर्षिको मनमा के भयो ऊ नै जानोस् ।

हामीले हिजोकै उही मदहोश बेन्चमा बसेर उही टेबलमा कुइनो गाढ्यौँ ।

साहुनी आइन् र मलाई भनिन्– “तपाईं त पिउने नाममा बदनाम हुनुहुँदोरहेछ । भो, नआउनुहोस् ।”

साउनीले मेरो इगोमा नै आव्रmमण गरी । ड्याङ्ङ गोली लागेको इगो समातेर पासा फ्याक्दै भनेँ– “मलाई पनि पाँचपाने दिनूस् त साहुनी ।”

महर्षिले बोल्नै पर्दैन । ऊ यहाँ पाँचपानेको पर्यायवाची भएको छ ।

टेबुलमा पाँचपाने भरिएको गिलास आइपुग्यो । मैले गिलासमा हैन साहुनीलाई हेरेँ । उनको आँखा गिलासको रक्सीभन्दा दोब्बर नशालु थियो ।

महर्षि मलाई साहुनीका रूपमा अल्झनै दिँदैन । तसर्थ उसले एक घुड्को घुट्क्याउँदै भन्यो ‘दीप’, 

जीवन.अनुभूति×मायाजाल२

यसको समाधान गर्न सक्छौँ ?

महर्षिसँग होचो कद, दाह्री÷जुँगाले छोपिएको अनुहार, अन्तर्मुखी स्वभाव र स्वैरकल्पनाले भरिपूर्ण दिमाग छ । जब ऊ सोमरसले आचमन गर्छ, तब उसको बोल्ने क्षमता र स्वैरकल्पनामा रहेको अणुसामथ्र्यको शक्ति विस्फोट हुन्छ ।

मैले पहिलो चुस्की निलेँ । ओहो, कस्तो कडा रहेछ ! जिब्रोदेखि मूलाधार चव्रmसम्म डढेलोको तापले पोले झैँ भयो ।

महर्षिले आफ्नै एकलकाँटे पाराले गिलास समात्यो । हे¥यो । पाँचपाने घुड्कायो र एउटा लामो हा... फ्याँक्यो । आफ्नै सदावहार शैलीबाट गिलासलाई ठोक्यो टेबुलमा ट्वाक्क ! यही आवाजले साहुनीलाई बोलाउने गर्छ ऊ । साहुनी उही हरियो पर्दाभित्रबाट पाँचपानेको जम्बु लिएर आई । मलाई पाँचपाने र सितनभन्दा साहुनीको अनुहार र चालडाल नै बढी स्वादिलो लाग्न थालेको छ ।

साहुनी भान्सातर्फ फर्किएपछि महर्षि बोल्यो– “यो संसार केवल सापेक्षतामा अडिएको छ । गति, स्थान, समय र शक्ति सब मान्छेको परिधि र दृष्टिचेतमा भड्किएको छ । तिमी यही साहुनीलाई अति सुन्दरी देख्छौ हैन ? तर उसको बुढोले एक अमिलो दिन उसलाई पत्रु सोच्दै छाडेर हिँडेको नबिर्स ।”

महर्षि भन्दै गयो । म सुन्दै रहेँ, “म साहुनीलाई केवल भट्टीवाल्नी मात्र देख्छु । के छ तिनीभित्र ? जहाँ तिम्रा आँखा अड्किरहनुपर्ने ? ! साहुनी त जाँडको झोल मात्र हो । उनीसँग नशा मात्र छ । प्यास छैन । चाहना र अपिल केही छैन । यी सबलाई उनको बुढोले उनीभित्रै दागबत्ती दिएर टाढा भागेको छ । तसर्थ यहाँ नअल्झ दीप । उसलाई उसकै अँध्यारोमा नै छोडिदेऊ ।”

महर्षि धाराप्रवाह बोल्न थाल्यो । हरियो पर्दाबाट चियाउँदै साहुनी हामीलाई हेर्दै थिई । मैले महर्षिलाई पनि हेरेँ । ऊ मेरो हिजैदेखिको गतिविधिबाट वाक्क झैँ थियो । खासमा, सापेक्षतावाद मान्छेपिच्छै फरक फरक हुन्छ भनिन्छ ।  – “महर्र्षि, साहुनीप्रति तिम्रो सापेक्षताको सिद्धान्त कस्तो हो ? मलाई सत्य बताऊ ।”

महर्षिले गिलासको सबै पाँचपानेलाई मुखको कुण्डभित्र एकैचोटि हवन ग¥यो । आँखा चिम्लेर हा... गर्दै टेबलमा ट्वाक्क गिलास बजा¥यो । साहुनीलाई हाम्रो सम्मुख आउने बाहना राम्रो मिल्यो । ऊ पर्दाभित्र जुरुक्क उठी । जम्बु बोकी र हाम्रो सामुन्ने आएर रित्तो गिलासलाई पूर्ण गरिदिई । 

यता म भने सधैँ बदनाम छु रक्सीमा । बल्ल आधा गिलास सकिन लागेछ । साहुनी मलाई हेर्दै खिस्स हाँसी । “जीवन सूत्रमै अडिएको छ,” महर्षि भन्छ– “मैले नै अलबर्डलाई गति, स्थान, समय र शक्तिका बारेमा बुझाएको हुँ ।”

“को अल्बर्ट ?” मैले प्रश्न तेस्र्याएँ ।

“अल्बर्ड आइन्स्टाइन, अहिलेको महान् वैज्ञानिक । त्यो मुला, सबै मेरै सूत्रलाई कपिपेस्ट गरेर संसारभरि व्याप्त छ । म भने पूर्वीय ज्ञान बोकेर पनि यही साहुनीको अव्यक्त प्रेमको आशक्तिमा लठ्याउने पाँचपानेमा डुबिरहेको छु ।”

शब्द थप्छ महर्षि–

“हुन त न्युटन पनि जुल्फी हल्लाउँदै मेरो आश्रममा आएको थियो तर मोरो एक्सन र रियाक्सनको नाममा मात्रै अल्झिरह्यो । हरेक वस्तुलाई गुरुत्वाकर्षणले मात्रै कहाँ तान्छ र ?”

महर्षिले जङ्गिँदै हल्लिने टेबलमा एक मुड्की बजा¥यो । टेबलमा महाभूकम्पको एउटा पराकम्पन तरङ्गित भयो । म नाटकको असली दर्शक झैँ उसको सामुन्ने रहेर उसका हरेक व्रिmयाकलाप हेरिरहेको छु ।

फेरि महर्षिले नै थप्यो– “के यो भट्टीसाहुनीका रूपमा आकर्षण छैन ? के उनको प्रेममा सापेक्षता छैन ?”

हो, यो भट्टी, यो साहुनी र यो पाँचपाने रक्सीमा पनि आफ्नै सापेक्षतावादको सिद्धान्त लागु हुन्छ । मैले गरिब देखिरहेको यो भट्टीलाई महर्षिको मनले वैभवको पराकाष्ठा र साहुनीलाई मोहजालभन्दा माथि सोचिरहेको रहेछ । मैले यहाँ मजाक गरिराख्नु हुन्न । ममा भित्री चेत नाटकको पर्दा झैँ सुस्तरि खुल्दै थियो ।

मैले महर्षिलाई सोधेँ– “अल्बर्ट आइन्स्टाइनले तिम्रो कुन सूत्रको कपीपेस्ट गरेथ्यो ?”

महर्षि उवाचः

‘जीवन=अनुभूति इन्टु मायाजाल स्क्वायर’

“जीवन शक्ति हो । यही शक्तिभित्र दिव्य अनुभूति छन् । परिवर्तनको अर्को नाम जीवन हो । मायाजाल जसको गति द्रुत तर मान सधैँ एकनास छ । यही सूत्रबाट सापेक्षताको महìव बुझिन्छ । गुरुकुलमा मैले यही कुरा शिष्यलाई बुझाउन लाख कोसिस गरेँ तर मरे बुझेनन् । खासमा मदमस्त भएका सम्पन्न विद्यार्थीमा ज्ञानको दीप्ति उजागरण गर्न नसकिँदोरहेछ । कहाँ कहाँबाट आएको एक अनपढ तर ज्ञानको भोको अल्वर्टले मेरो सूत्रको महìव बुझ्यो भ.mअद्द  फर्मुला बनाई भौतिक संसारमा रहेको रहस्यको जटिलतालाई सरल बनाइदियो उसले ...”

स्कुल÷कलेजका कक्षाकोठामा बर्सौंदेखि झर्को मान्दै घोकेको फर्मुला र त्यसको परिभाषालाई महर्षिले पाँचपानेको नशामा एकनास बोलिरह्यो– “पाइथागोरे र अल्बर्टेले त मलाई धोका दिए दिए तर आज तैँले पनि यो साहुनीको कामुक देहमा आँखा गाडेर मलाई धोका दिन्छस्, दीपे ? के तेरो घरमा स्वास्नी छैन र ?”

ऊ भन्दै गयो– “म विधुर हुँ । म विगत १५ वर्षदेखि आइमाईको आकर्षण र समीप चाहन्थेँ तर कहिले सन्तानको मायाजाल, कहिले समाजको डर, कहिले कामको बोझ, कहिले आर्थिक अभाव र कहिले आकर्षणको कमीले म कुनै आइमाईको नजिक हुनै सकिनँ । 

जब यो साहुनीसँग पाँच महिनादेखि सत्सङ भयो, मेरो रहर जुर्मुरायो । जीवनले गति लियो । सपनाहरू प्रस्ट देखिए । जिजीविषा लम्बिए । आकर्षणको घनचक्करमा रुमल्लिएँ । साहुनीलाई देखेर म खुसी छु । मलाई भेटेर साहुनी खुसी छिन् । फेरि यी साहुनीले मेरो भाषा मात्र हैन, सङ्केत पनि बुझ्न थालेकी छिन् । साहुनीलाई प्रेम गर्न मैले एकलौटी पाउनु पर्छ । साहुनी मेरो अधिकारभित्र परिसकिन् । साहुनी मेरो आखिरी प्रेम ! साहुनी मेरो 

जीवन ! साहुनी नै मेरो चिता ! साहुनी मेरी प्रिय 

स्वास्नी !” महर्षि अर्धचेतमा बर्बराउन थाल्यो । उसका आँखाबाट अश्रुधारा बगिरहेका थिए । दाह्रीभरि उसकै जुठो रक्सी र ¥याल लत्पतिएको थियो । टेबुलमाथि उसले आफ्नै ज्यानको आधा भाग ढालिदिएको थियो । 

म समय नियाल्छु । कालो सन्नाटाले ढाकेको वातावरण पूर्ण निस्पट्ट थियो । लाग्छ, महर्षि एक रहस्यपूर्ण ब्रह्माण्डको दिव्य ब्ल्याक होलभित्र फसेको छ, जहाँ प्रकाश, समय र दुरी मात्र होइन, उसको आखिरी प्रेम अनि बाँकी जीवन पनि नराम्रोसँग अल्झिरहेको छ ।