• १४ वैशाख २०८३, सोमबार

बेवारिसे व्यक्ति मानवसेवा आश्रममा

blog

लोमन्थाङ गाउँपालिका–५, लोमन्थाङबाट उद्धार गरिएका पुरूष ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), वैशाख १४ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५, लोमन्थाङ बजारको सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भेटिएका एक पुरूषको उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाइएको छ । 

रातको समयमा एक्लै हिँडिरहेको अवस्थामा भेटिएका मानसिक सन्तुलन कमजोर भएका अन्दाजी ३५ वर्षीय पुरूषको नाम, ठेगाना पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले बताउनुभयो । 

स्वास्थ्य अवस्था प्रतिकुल रहेको अवस्थामा प्रहरी टोली, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा उद्धार गरी उपचार तथा सहजीकरणका लागि मानव सेवा आश्रम बागलुङमा हस्तान्तरण गरिएको प्रहरी निरीक्षक महतले बताउनुभयो ।

सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेकालाई स्थानीय तह र प्रहरीको सहयोगमा उद्धार गरी मानव सेवा आश्रममा पठाउने गरिन्छ । सामाजिक दायित्व अन्तर्गत उनीहरूको स्वास्थ्य, सुरक्षा र पुनःस्थापनालाई ध्यानमा राख्दै बेवारिसे भेटिएमा तत्काल आश्रममा पठाउन पाँच वटै स्थानीय तहले मानवसेवा आश्रमसँग समन्वय गर्ने गरेका छन् । 

बेनी–जोमसोम–कोरला सडक सञ्जाल विस्तारसँगै छिमेकी जिल्ला म्याग्दी हुँदै सवारी साधनमा नेपाली तथा भारतीय प्रवेश गरी सडक आसपासका क्षेत्रमा बस्दा जोखिम बढेपछि उद्धार तथा पुनस्थापना र सम्भव भएकालाई परिवारको जिम्मा लगाउने गरिएको मानवसेवा आश्रम बागलुङले जनाएको छ । 

समाजमा कोही पनि बेवारिसे र असहाय अवस्थामा बस्न नपरोस् भनेर आश्रमले स्थानीय तहसँग समेत सहकार्य गर्ने गरेको छ ।