विकास अधिकारी
पश्चिम नवलपरासी, वैशाख १४ गते । पश्चिम नवलपरासीमा चैते धान खेती विस्तार हुँदै गएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले चैते धान खेतीको क्षेत्र विस्तारका लागि किसानलाई सहयोग गर्दे आएको छ ।
गत वर्ष देखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ भैरहवा मार्फत चैते धान खेती प्रवर्धनको कार्यक्रम हुँदै आएको छ ।
गत वर्ष करिब दुई हेक्टर क्षेत्रफलमा मात्र गरिएको चैते धान खेतीको क्षेत्रफल यस वर्ष करिब पाँच हेक्टर पुगेको कार्यक्रम कार्यान्वयन एकाइ भैरहवाका कृषि विज्ञ पुकार बस्यालले जानकारी दिनुभयो ।
चैते धान खेती प्रवर्धनका लागी विभिन्न कार्यक्रम सञ्चालन गरेको र क्षेत्रफल विस्तारको क्रममा रहेको उहाँको भनाइ छ । नवलपरासीमा चैत्र वैशाखमा सिँचाइ सुविधाको समस्याका कारण चैते धान खेतीमा किसानहरू आकर्षित हुन नसकेकोमा अहिले रामग्राम र सुनवलका विभिन्न स्थानमा चैते धान खेती तर्फ किसान आकर्षित भएका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले सिँचाइ पूर्वाधार विकासका काममा पनि सहयोग गर्दे आएको छ । सुक्खायाम हुने भएकाले भरपर्दो सिँचाइको व्यवस्था नभएसम्म खेती गर्न कठिन हुने विज्ञको भनाइ छ ।
तर पर्याप्त सिँचाइको व्यवस्था हुन सके वर्षे धान भन्दा चैते धान खेतीबाट बढि उत्पादन लिन सकिने कृषि विज्ञ बस्यालले बताउनुहुन्छ ।रामग्राम–१७ मा रहेको भोलेबाबा कृषक समुहका अध्यक्ष दिन दयाल उपाध्यायले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट सिँचाइ पूर्वाधार विकास र अन्य धेरै सहयोग पाएको बताउनुभयो ।
तर, सिँचाइको स्रोत वृद्धि नगरे सम्म चैते धान खेती फस्टाउन नसक्ने उहाँको भनाइ छ । अहिले किसानहरू खेती तर्फ आकर्षित भएका छन् तर मुख्य समस्या सिँचाइको छ उपाध्यायले भन्नुभयो ।
उहाँले थप दुई वटा बोरिङ सो क्षेत्रमा हुन सकेमा पाँच सय बिघामा चैते धान खेती लगाउन सकिने जिकिर गर्नुभयो । स्थानीय र प्रदेश सरकारले पनि सिँचाइका पूर्वाधार विकासमा चासो दिन सके किसानहरूलाई सहज हुने उहाँको भनाइ छ ।
चैते धान गर्मी मौसम (फागुन–चैत) मा रोपेर वर्षा सुरु हुनुअघि (जेठअसार )मा भित्राउने गरिन्छ । हाम्रो देशमा धेरैजसो धान असारमा रोपेर मङ्सिरमा काटिन्छ (जसलाई वर्षे धान भनिन्छ), तर चैते धान खेती गर्ने समय र तरिका अलि फरक हुन्छ ।
माघको दोस्रो हप्तादेखि फागुनको पहिलो हप्तासम्म बिउ राखेर फागुनको अन्त्यदेखि चैतको १५ गतेसम्ममा रोपिन्छ । जेठको अन्त्यदेखि असारको पहिलो हप्तासम्म अर्थात वर्षायाम सुरु हुनु अगावै भित्र्याएर फेरि वर्षे धानको लागी तयारी गर्न सकिन्छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत ठुलो मात्रामा हुँदै आएको धानको बाह्य आयात घटाउने योजना अनुरूप सरकारले चैते धान खेतीलाई प्रवर्धन गर्न थालेको हो ।