काठमाडौँ, मङ्सिर ६ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताउनुभएको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन-जीसँग नेकपा’ कार्यक्रममा उहाँले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताउनुभयो।
“मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु। अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ। युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ। त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ”, संयोजक दाहालले भन्नुभयो।
उहाँले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने बताउनुभयो। “नयाँ पुस्ताको युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो। अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ”, दाहालले भन्नुभयो।
संयोजक दाहालले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न ‘जेनजी’ युवाले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको बताउनुभएको छ। उहाँले जेनजी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउँमा पु¥याएको पनि धारणा राख्नुभयो।
आफ्नो पार्टीले लामो समयदेखि हामीले उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान रहेको भन्दै संयोजक दाहालले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र युवाको भावनाअनुसार आफूलाई बदल्ने नयाँ सङ्कल्प जेनजी आन्दोलनबाट प्राप्त भएको जिकिर गर्नुभयो।
नेकपाका नेता जगन्नाथ खतिवडाले ‘जेनजी’ पुस्ताको आवाज आफ्नो पार्टीले मात्रै सुन्ने र त्यसैअनुसार भूमिका निर्वाह गर्ने बताउनुभयो। युवाको चाहना मुलुकबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको भन्दै उहाँले यही सङ्कल्प बोकेर नेकपा अघि बढिरहको बताउनुभयो।
त्यस अवसरमा जेनजी युवा माओवादीमा सहभागी भएको घोषणा गरिएको थियो। रासस