मुकुन्द पोखरेल
दूध सौन्दर्यको हिउँ सिमल
भुवाको लयमा रमाउँदै आयो ।
राजधानीका अङ्गरक्षक जस्तै
फुलचोकी, चन्द्रागिरि
अनि शिवपुरी हुन्
भन्दै हिमवान्को उपहार
घुम्टो ओढाउँदै आयो ।
यस्ता उपहारबाट तीसँगै
नगरकोट र लाँकुरी भन्ज्याङ जस्ता
भाइ पनि निमग्न भए ।
यस्तो अवसर छोप्दै युवकयुवती
हिउँसँग खेल्न, घुम्टो खोल्दै पुगे
ती सुन्दर शिखर चुम्न ।
यसै क्षण मलाई केही संवत्सर
अतीतको सम्झना उर्लंदै आयो
हिउँ ओर्लिएको बिहानी त्यो
म, थिएँ यात्री–लन्डन नगरीको
साबेल सडकको सङ्गीतमा–
हिउँ उठ्दै थियो ।
कफीको स्वादमा नगरवासी
कारलाई तातोपानीको स्नान गराउँदै
मान्छेलाई भेन्टिलेटर झैँ तातैपानी
पियाउँदै थिए, धुकधुकी चलाउन ।
त्यस्ता हिउँ खेलका साक्षी यी मेरा
आँखा बस्दा आश्चर्य मात्र लागेन
हर्षविभोर पनि भएँ, म ।