इतिहास न अनुमानशास्त्र हो, न त वस्तुनिष्ठ सत्य । वस्तुतः सत्यको निकट पुग्ने प्रयास नै इतिहासको दार्शनिकता हो । अभिलिखित शिलालेख, ऐतिहासिक दस्ताबेज, सभ्यताका भग्नावशेष, मूर्ति प्रतिमा, मुद्रा, मिथक–अनुश्रुतिलगायत मूर्त–अमूर्त पुरातात्त्विक तथा ऐतिहासिक सम्पदा नै इतिहास लेखनका आधार र उपकरण हुन् । परिवर्तनको साक्षीका रूपमा रहेका यस्ता ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाहरूलाई वैज्ञानिक तरिकाले सङ्कलन, संरक्षण तथा अभिलेखन, अध्ययन अनुसन्धान गरी प्रदर्शन गर्ने घर–भवनलाई सङ्ग्रहालयको भावार्थमा परिभाषित गर्न सकिन्छ । यसकारण सङ्ग्रहालय एकातिर सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवर्तनको जिउँदो साक्षी हो भने अर्कातिर विगत इतिहासको दर्पण र भविष्यको मार्गरेखा ।
सङ्ग्रहालय कुनै मुर्दाघर होइन, जसले शाकसीय वैभवताको मृत इतिहास पढाओस् । त्यस कथनको प्रतिकथनमा सङ्ग्रहालय त यस्तो जनसांस्कृतिक केन्द्र हो; जसले सभ्यताको आरोह–अवरोहलाई ऐतिहासिक तथा पुरातात्त्विक तथ्य–प्रमाणका आधारमा प्रस्तुत गर्छ । यसकारण हिजोको दिनमा जुन ढङ्गले सङ्ग्रहालयलाई शासकीय वैभवता झल्काउने थलोका रूपमा परिभाषित गरियो, सङ्ग्रहालयको त्यस परिभाषाले कुनै पनि मूल्यमा इतिहासलाई न्याय गर्दैन । किनकि वैभवता र वीरताको गाथाभित्र ओझेल परेका वा पारिएका अन्याय र अत्याचारका दर्दनाक इतिहासलाई प्रस्तुत गर्ने आँट र हिम्मत सङ्ग्रहालयहरूले देखाउनु पर्छ ।
इतिहासका निर्माता शासक हुन् भन्ने भाष्यमै नेपालको बौद्धिक जगत्ले कम्तीमा इतिहास लेखनको आठ दशक बिताएको छ । वस्तुतः इतिहासका निर्माता शासक हुन् भन्ने भाष्यमाथि निर्मम प्रहार गर्दै इतिहासवाद, माक्र्सवाद, उत्तरआधुनिकतावाद र सवाल्र्टन जस्ता सिद्धान्त, पद्धति र अवधारणाका आधारमा इतिहासको व्याख्या गर्नु जरुरी देखिन्छ । वीरताको मिथ्या प्रशंसाले इतिहासमाथि भद्दा मजाक मात्र गर्दैन, यसले देशको भविष्यलाई नै अन्योलको दिशातर्फ धकेल्छ । यसकारण इतिहासको व्याख्यामा सङ्ग्रहालय इतिहासको कुनै मुर्दाघर होइन, जिउँदो सांस्कृतिक प्रयोगशाला बन्नु पर्छ ।
सङ्ग्रहालय कुनै नश्लीय चरित्रको प्रतिविम्ब होइन कि बहुल संस्कृतिको द्योतक हुनु पर्छ । सङ्ग्रहालयले सामाजिक तथा सांस्कृतिक बहुलताको दार्शनिकीलाई प्रदर्शन गरेर साँचो अर्थमा राष्ट्रियताको पुनव्र्याख्या गर्न सक्नु पर्छ । यसका लागि कुनै जाति–समुदाय वा वर्ग–समूहमाथि भएका ऐतिहासिक अन्यायका कारण दुखिरहेका घाउहरूमा न्यायको मलमपट्टी लगाउने साहस सङ्ग्रहालयले देखाउनु पर्छ । इतिहासमा भएका अन्यायहरूप्रति सङ्ग्रहालयले माफी मागेर आफूलाई न्यायको पक्षपाती देखाउन सक्छ । न्याय, स्वतन्त्रता र शान्तिका लागि मानवताको शिक्षा र मानवताको बौद्धिक तथा नैतिक ऐक्यबद्धताको सिद्धान्त नै सङ्ग्रहालयको न्यायिक र समावेशी आधार हुनु पर्छ । यहाँनेर माफी माग्नु कमजोरीको भावार्थ नलागोस्, यो त प्रायश्चित्तको न्यायिक अभ्यास हो । किनकि सङ्ग्रहालयसँग सम्बन्धित परिवर्तित अवधारणा अनुसार सङ्ग्रहालय जनतन्त्र अर्थात् प्रजातन्त्रको प्रतीकका रूपमा प्रस्तुत हुनु पर्छ ।
मानव अधिकार, लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि नागरिक समुदायले गरेका न्यायिक आन्दोलनहरू इतिहासको बुलन्द आवाज हुन् । बिनाविभेद नै जनवर्गीय पक्षधरताका प्रतिरोधात्मक आवाजहरू सङ्ग्रहालयमार्फत प्रतिध्वनित हुनु पर्छ । इतिहासमा कसले जित्यो ? कसले हा¥यो ? त्यस विषयमा आलोचकले व्याख्या गर्लान् तर हार्नेहरू र जित्नेहरू दुवैलाई एकै ठाउँमा राखेर सकारात्मक विभेदको मर्म अनुरूप सङ्ग्रहालयले प्रदर्शनीका माध्यमबाट हार्नेको पक्षबाट न्याय निरुपण गर्न सक्छ ।
वस्तुतः सामाजिक–सांस्कृतिक द्वन्द्व व्यवस्थापन गर्दै समाजलाई न्यायिक मार्गमा हिँडाउन सङ्ग्रहालयले आफ्नो तर्फबाट ऐतिहासिक भूमिका निर्वाह गर्नु पर्छ । यति भन्दै गर्दा सङ्ग्रहालय कुनै न्यायिक अदालत होइन भन्ने तथ्यमा हामी स्पष्ट हुनै पर्छ तर ऐतिहासिक अन्यायहरूमाथि सम्बोधन गरेर सङ्ग्रहालयले इतिहासको कठघरामा आफूलाई सामाजिक न्यायकर्ताका रूपमा प्रस्तुत गर्न सक्छ । यसका लागि सङ्ग्रहालयले आफूलाई बहस र छलफलको केन्द्रका रूपमा उभ्याउन सक्नु पर्छ । अन्तरसांस्कृतिक संवाद, सांस्कृतिक हस्तान्तरण, सामाजिक सद्भाव र दिगो विकासमा सङ्ग्रहालयले आफ्नो महत्तालाई प्रमाणित गर्न सक्छ– गर्नु पर्छ । सङ्ग्रहालयले आफ्नो भूमिकालाई विश्व परिवेशसँग जोड्न जोड दिन्छ भन्ने यस तर्कको सार हो ।
नेपालको सन्दर्भमा विगतमा स्थापित केन्द्रीय सङ्ग्रहालयहरूले वैभवताको इतिहासलाई झल्काउँदै गर्दा सोही सङ्ग्रहालयले कसरी जनइतिहासको खोज गर्न सक्छ भन्नेतर्फ सम्बन्धित सङ्ग्रहालयहरूले ध्यान दिनै पर्छ । मूलधारे भनिने राष्ट्रिय इतिहास लेखनमा नेपालका केन्द्रीय सङ्ग्रहालयहरूले विगतमा के कस्तो भूमिका खेले, त्यसको पुनरवोलकन हुनै पर्छ । इतिहासकारका आँखामा शासकीय वैभवताको इतिहासभित्रै जनइतिहास लेख्न सक्ने आलोचनात्मक चेतना हुनै पर्छ । शासकले जनइतिहास लेख्दैन–लेखाउँदैन तर कहीँ न कतै जनइतिहासका आवाजहरू प्रतिध्वनित हुन्छन् नै सरकारी शिलापत्रहरूमा । शिलापत्रहरूमा गुमनाम इतिहासलाई सङ्ग्रहालयले कसरी खोजी गर्न सक्छ ? त्यो बहसको विषय हो । इतिहास लेखनमा केन्द्रीयता र परिधियताबिच जुन खाडल छ, त्यसलाई जोड्ने सेतु पनि हो सङ्ग्रहालय । कथित मूलधार अर्थात् केन्द्रभन्दा पर स्थानीय– प्रादेशिक अर्थात् क्षेत्रीय सङ्ग्रहालयहरूले तत् तत् क्षेत्रको इतिहासलाई कसरी बोधार्थ गर्छन् र ? त्यो मूलधारको इतिहाससँग कसरी जोडिन सक्छ भन्ने आयामको खोजी गर्न जरुरी छ । बाढीपहिरो, युद्ध, द्वन्द्व जस्ता कारणले विस्थापित भएका र आप्रवासीहरूको कथाव्यथाभित्र इतिहासको मर्म ओझेल परेका हुन्छन् । ओझेल परेका ती इतिहासलाई स्थानीय सङ्ग्रहालय र अभिलेखालयले खोजी र संरक्षण गरी क्षेत्रीय इतिहास लेखनमा योगदान दिन सक्छन् । इतिहासको व्याख्यामा केन्द्रीयता र क्षेत्रीयताको परिपूरक सम्बन्ध हुनु पर्छ । यी दुईबिचको पृथकताले दुवैको अस्तित्व पूर्ण हुँदैन । यसकारण मूलधारे भनिने इतिहास लेखनको पद्धतिमा कथित केन्द्रीय र क्षेत्रीय भनिने दुवै खालका सङ्ग्रहालयले आफूलाई जीवन्त प्रमाणका रूपमा उभ्याउन सक्नु पर्छ, अनि मात्र सङ्ग्रहालयले आफ्नो सार्थकतालाई प्रमाणित गर्ने छ ।
सामाजिक–सांस्कृतिक सम्बन्धलाई जोड्दै सुशासन, सुव्यवस्थाका आधारमा राज्य–राष्ट्रहरूबिच सहअस्तित्व र सुसम्बन्ध कायम हुनु पर्छ जसले युद्धरत देशमा शान्ति स्थापना गर्न भूमिका खेल्न सकोस् । भूमण्डलीकरणले पृथ्वीका सामाजिक–सांस्कृतिक गोलार्धहरूलाई एकाकार गराएर वैश्वेशिक दर्शनको आधार निर्माण गर्न सङ्ग्रहालयको महत्त्वपूर्ण भूमिका हुन्छ । यसकारण कुनै दूरदेशको स्थानीय सङ्ग्रहालयले राष्ट्रियताको भूगोलभन्दा माथि उठेर वैश्वेशिक भावनाको उद्घोष गर्न सक्छ । बदलिँदो युगको पृष्ठभूमिका सङ्ग्रहालय त्यसको साक्षी बन्नु पर्छ । निकट विगत्का विश्व–ऐतिहासिक परिवर्तनहरूमा सङ्ग्रहालयको भूमिकाबारे भविष्यका आलोचकहरूले मूल्याङ्कन गर्लान् तर ती ऐतिहासिक परिवर्तनबाट प्राप्त उपलब्धिहरूमाथि विमर्श गर्ने केन्द्रका रूपमा सङ्ग्रहालयले आफूलाई उठाउनै पर्छ किनकि सङ्ग्रहालय आफैँमा प्रजातन्त्रको प्रतीक हुनु पर्छ भन्नेमा हामीले माथि चर्चा गरिसकेका छौँ ।
कुनै पनि सङ्ग्रहालयले सङ्कुचित मान्यतालाई बोधार्थ गर्दैन । मानव सभ्यताको इतिहास द्वन्द्व र युद्धको इतिहास हो, ऐतिहासिक दस्ताबेज र पुरातत्त्वका पानाहरूमा जीवित रहन्छ । शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि गर्ने अत्याचारलाई इतिहासको सम्झना र सङ्ग्रहालयको संरक्षणमा बचाउनु पर्छ ताकि भविष्यका सन्ततीले अन्यायको इतिहासबाट पाठ सिकून् । यसकारण सङ्ग्रहालय मानवतावाद र विश्वबन्धुत्वको प्रतीक बन्नु पर्छ । जसरी युद्ध वा अन्य कारणले विद्यालयमाथि प्रहार गर्नु हुँदैन भन्ने नैतिक मान्यता छ, त्यसरी नै कुनै पनि मूल्यमा सङ्ग्रहालय र अभिलेखालयहरूमाथि कुनै पनि प्रकारको प्रहार नहोस् भन्नेमा प्रत्येक नागरिक सचेत हुनै पर्छ । किनभने सङ्ग्रहालयले कुनै देशको इतिहास मात्र बोल्दैन; यसले त एक युग, मानवता र मानव सभ्यताको इतिहास बोल्छ । युद्ध र भोकमरीका कारण जीवन गुमाएका नरकङ्कालहरूले सङ्ग्रहालयबाट मानवताको पाठ पढाउँछन् । आज पनि इराक, इरान, युव्रmेनलगायतका केन्द्र एसियाका राष्ट्रहरूमाथि शक्तिशाली राष्ट्रहरूको आक्रमणका कारण तत् तत् देशको वर्तमान मात्र होइन कि विगतका हजारौँ वर्ष लामो सभ्यताको इतिहासलाई समेत नामेट पारिँदै छ । कुनै पनि मूल्यमा सोधभर्ना हुन नसक्ने यस्ता ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाहरूको क्षतिले वर्तमानका दम्भी शासकलाई गिज्याइरहेको मात्र छैन कि भविष्यका सन्ततीले धिक्कार्ने कुख्यात इतिहासको साक्षी बन्न पुगेको छ वर्तमान । यसकारण युद्धका कारण सिङ्गो मानव सभ्यता नै आणविक भट्टीमा जल्दै गर्दा संसारभरका सङ्ग्रहालयले एकै आवाजमा भन्न सक्नु पर्छ, “खबरदार ! सङ्ग्रहालय शान्तिक्षेत्र हो– मानवताको प्रतिध्वनि हो, यहाँ कुनै पनि प्रकारको आतङ्क, प्रहार र हिंसा सह्य छैन ।”
सङ्ग्रहालयसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकम (अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद्), युनेस्को र संयुक्त राष्ट्रसङ्घमार्फत विश्वभरका सङ्ग्रहालयलाई शान्तिक्षेत्रका रूपमा घोषणा गर्न बुद्ध जन्मेको देश नेपाल र नेपाल सरकारले पहल गरेमा शान्तिप्रेमी राष्ट्रका रूपमा नेपाल विश्वसमुदायमा परिचित हुने छ । यसतर्फ नेपाल सरकारको निश्चय नै ध्यान जाने छ ।
इतिहासलाई भावी पुस्ताका लागि हस्तान्तरण गर्ने जिम्मेवारी वहन गरेको सङ्ग्रहालय शिक्षा र शान्तिको प्रतीक हुनु पर्छ । इतिहासको कठघरामा निर्भीक रूपमा प्रस्तुत भएर न्यायका लागि गवाह दिने ऐतिहासिक साक्षीका रूपमा सङ्ग्रहालयलाई बुझ्नु पर्छ । राज्यका लागि सङ्ग्रहालय कुनै पनि मूल्यमा भार होइन, शान्ति र समृद्धिको आधार हुनु पर्छ । अल्पसङ्ख्यक जनसमुदाय, महिला, दलित र उत्पीडनमा परेका व्यक्ति, समूह र समुदायको आवाज मुखरित गर्ने सांस्कृतिक प्रयोगशाला र न्यायिक अदालतका रूपमा आफूलाई प्रस्तुत गर्नु नै सङ्ग्रहालयको वर्तमान दायित्व हो । युनेस्कोका पूर्वमहानिर्देशक इरिना बकोवाले भनेझैँ हाम्रो साझा मानवतालाई संरक्षण गर्न तथा आत्मसम्मान र सहिष्णुताको मौलिक सिद्धान्तलाई मजबुत बनाउन तथा इतिहासको सम्मान गर्ने उपायका रूपमा सङ्ग्रहालयको भूमिकालाई बोध गर्नु र अगाडि बढाउनु आवश्यक छ । सङ्ग्रहालय निरङ्कुश शासकको द्योतक हो भन्ने भाष्यमा निर्मम प्रश्न गर्दै नागरिक स्वतन्त्रताको अलिखित बडापत्र र वैचारिक मन्थनको केन्द्रका रूपमा यसको महत्तालाई उजागर गर्नु पर्छ ।