• ५ वैशाख २०८३, शनिबार

नेपालगन्जमा बजार अनुगमन : म्याद गुज्रेका खाद्य सामग्री फेला

blog

नेपालगन्जमा बजार अनुगमन गर्दै टोली। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख ५ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि सुरु गरेको बजार अनुगमनका क्रममा पसलहरूमा म्याद नाघेका खाद्य पदार्थको खुला बिक्री भइरहेको पाइएको छ भने होटल तथा रेस्टुरेन्टहरूमा सरसफाइको अवस्था निकै नाजुक भेटिएको छ।

उपभोक्ता हित संरक्षण समितिको अगुवाइमा सुरु गरिएको अनुगमनका क्रममा उक्त अवस्था देखिएको समितिका सदस्य सचिव तथा अनुगमन टोलीका संयोजक प्रवीणकुमार रानाले जानकारी दिनुभयो।

उहाँका अनुसार पहिलो दिन नेपालगन्ज–१२, सुर्खेत रोडस्थित अन्सारी ट्रेडर्समा अनुगमन गर्दा करिब ८ हजार रुपियाँ बराबरका म्याद गुज्रेका खाद्य सामग्री फेला परेको र ती सामग्री नष्ट गरिएको छ। भविष्यमा म्याद गुज्रिएका सामान नराख्न चेतावनी पनि दिइएको उहाँले बताउनुभयो।

त्यसैगरी वडा नम्बर १२ कै सञ्जीवनी कलेज एन्ड मेडिकल साइन्सेसको उत्तरतर्फ रहेको न्यू ओम तन्दुरी होटल एन्ड लजमा अनुगमन गर्दा रङ्गिएको मासको दाल प्रयोग गरिएको पाइएको तथा सरसफाइ र स्वच्छताको अवस्था अत्यन्तै कमजोर देखिएको संयोजक रानाले जानकारी दिनुभयो।

उहाँका अनुसार न्यू ओम तन्दुरी होटललाई सरसफाइ र खाद्य स्वच्छताका लागि विशेष निर्देशन दिँदै सिल गर्ने चेतावनीसमेत दिइएको छ। अन्सारी ट्रेडर्स र न्यू ओम तन्दुरी होटल दुवैले नेपालगन्ज उपमहानगरपालिकामा व्यवसाय दर्ता नगरेको पनि पाइएको छ।

दुवैलाई व्यवसाय दर्ताका लागि सात दिनको समय दिइएको र अनुगमनलाई अझ तीव्र बनाइने तथा कैफियत भेटिए कडा कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव राना, आर्थिक विकास समिति संयोजक सङ्गिता रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रतिनिधि किरण फुयाँल, राजस्व शाखाका श्यामबहादुर चौधरी, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष प्रभातकुमार ठकुरी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बजार अनुगमन निकै कम हुने गरेको भन्दै म्याद गुज्रिएका खाद्य सामग्री, मिसावटयुक्त वस्तु तथा होटल–रेस्टुरेन्टको सरसफाइ सुधारका लागि नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो।