सुजल श्रेष्ठ
प्युठान, वैशाख ५ गते । कालाजार, मलेरिया, डेङ्गु, स्क्रब टाइफस लगायत किटजन्य रोग नियन्त्रणका लागि प्युठान जिल्लामा विषादी छर्किने अभियान सुरु गरिएको छ। स्वास्थ्य कार्यालय प्युठानले जोखिमयुक्त स्थानहरूमा विषादी छर्ने कार्य थालेको हो।
चैत २१ गते आगलागी भएको ऐरावती गाउँपालिका–१, छेडाघाट बस्तीबाट अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो। छेडाघाटका विभिन्न घर, गोठ तथा जोखिमयुक्त स्थानमा विषादी छर्किएको उहाँले बताउनुभयो।
जिल्लाको ऐरावती, सरुमारानी र माण्डवी गाउँपालिकाका जोखिमयुक्त क्षेत्रहरूमा विषादी छर्किने योजना रहेको स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत पुष्कलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार ऐरावतीको छेडाघाट र माझीदमार तथा सरुमारानी गाउँपालिकाको दोमैमा शुक्रबार विषादी छर्किएको छ। शनिबार पनि टोली फिल्डमै खटिएर काम गरिरहेको उहाँले बताउनुभयो।