• ५ वैशाख २०८३, शनिबार

बालबिटोरी जग्गा पीडितले लालपुर्जा माग गर्दै बुझाए ज्ञापनपत्र

blog

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख र वडाध्यक्ष ज्ञापनपत्र बुझाउँदै। तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), वैशाख ५ गते ।
कपिलवस्तु नगरपालिका–१ का बालबिटोरी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले लालपुर्जा नपाउँदा समस्या भोग्दै आएका छन्। यस विषयमा ध्यानाकर्षण गराउँदै वडा कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

वडाध्यक्ष मोहम्मद जाहिद खानले काठमाडौँ पुगेर मन्त्रालयका सचिव मदन भुजेलसमक्ष ज्ञापनपत्र पेस गर्नुभएको हो। ज्ञापनपत्रमा जग्गाको नापजाँच कार्य सम्पन्न भइसकेको र विगत पाँच दशकदेखि निरन्तर भोगचलन हुँदै आए पनि लालपुर्जा वितरण हुन नसकेको उल्लेख गरिएको छ।

लालपुर्जा नहुँदा स्थानीयवासी हकभोग, किनबेच तथा बन्धक राख्ने अधिकारबाट वञ्चित भएको जनाइएको छ। यसले उनीहरूको दैनिक जीवन तथा आर्थिक गतिविधिमा असर परेको उल्लेख गर्दै शीघ्र समाधानको माग गरिएको छ।
वडाध्यक्ष खानले समस्या समाधानका लागि धेरै प्रयास गरे पनि हालसम्म उपलब्धि नदेखिएको बताउनुभयो। उहाँले वर्तमान सरकारले यस विषयलाई प्राथमिकतामा राखी छिट्टै समाधान गर्नुपर्ने धारणा राख्नुभयो।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले पनि लामो समयदेखि मन्त्रालयसँग समन्वय हुँदै आएको बताउँदै अब समस्या समाधान हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो।

वि.सं. २०२६ सालमा गरिएको नापजाँचका क्रममा उक्त जग्गा बालबिटोरीका रूपमा राखिएको थियो। त्यसयता स्थानीयले भोगचलन गर्दै आए पनि हालसम्म लालपुर्जा वितरण हुन सकेको छैन।