• ५ वैशाख २०८३, शनिबार

पाँच लाखभन्दा बढी राजस्व सङ्कलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, वैशाख ५ गते।
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो पाँच दिनमा पाँच लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत सोमबारदेखि शुक्रबारसम्म पाँच लाख १४ हजार २५० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी, संस्था नवीकरण र राष्ट्रिय परिचयपत्रबाट राजस्व सङ्कलन गरिएको हो। जसमा राहदानीबाट पाँच लाख दुई हजार ५०० रुपियाँ, संस्था नवीकरणबाट ७५० रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट ११ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। पछिल्लो पाँच दिनमा संस्था दर्ता, हातहतियार नवीकरण तथा नामसारी भएको छैन।

यस समयावधिमा जिल्ला प्रशासन कार्यालयबाट वैवाहिक अङ्गिकृत एक जनासहित १४७ जनाले नयाँ नागरिकता लिनुभएको उहाँले जानकारी दिनुभयो। १२० जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। गैर आवासिय नागरिकता कसैले पनि लिनुभएको छैन। त्यसगरी यस अवधिमा नागरिकता त्याग कसैले पनि गर्नुभएको छैन। नाबालक परिचयपत्र नौ जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन १०४ र राहदानी वितरण १६४ जनाको गरिएको छ।

राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३३१ जना, राष्ट्रिय परिचयपत्र वितरण १९० जना, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २१ जनाको गरिएको छ। यस अवधिमा एक संस्था नवीकरण गरिएको छ। प्रशासनले एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले विगतदेखि यसरी नै सम्पादित कार्यहरू सार्वजनिक गर्दै आएको छ।