धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख ५ गते । गोरुको घुम्ती चालसँग जोडिएको गहुँ दाउनीको परम्परा अहिले थ्रेसर मेसिनले अन्त्य गरिदिएको छ। आधुनिक प्रविधिको प्रयोगले किसानको श्रम मात्र होइन, समय र लागत पनि उल्लेख्य रूपमा घटाएको छ।
सप्तरीको रुपनी गाउँपालिका–२ का किसान रामकृष्ण सिपलिया गहुँ दाउनी अब पहिले जस्तो झन्झटिलो काम नभएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “पहिले गोरुले दाउनी गर्दा धेरै समय लाग्थ्यो, मिहिनेत पनि धेरै पर्थ्याे। अहिले थ्रेसरले खेतमै आएर दाउनी गरिदिन्छ, निकै सहज भएको छ।” उहाँका अनुसार दाउनी गरेबापत प्रतिमन (४० किलो) पाँच किलो गहुँ ज्याला लिने गरिएको छ। इन्धन महँगो भएकाले अहिले पाँच किलो लिने गरिएको हो, पहिले तीन किलो लिने गरिएको थियो।
थ्रेसर सेवा दिने व्यवसाय पनि गाउँमा विस्तार हुँदै गएको छ। शम्भुनाथ नगरपालिका–५ का किसान सबुरलाल साहका अनुसार, “थ्रेसर साहु आफैं मेसिन र मजदुर लिएर खेतमै आउँछन् र दाउनी गरिदिन्छन्, किसानलाई धेरै सजिलो भएको छ।”
पहिलेको दाउनी प्रक्रिया निकै कष्टकर थियो। गोरुको प्रयोग गरेर गहुँ दाउनी गर्दा कम्तीमा एक साता लाग्थ्यो। चर्को घाममा बाली सुकाएर दाउनी गर्दा पनि सबै गेडा छुट्दैनथे, जसले गर्दा पुनः दाउनी गर्नुपर्ने अवस्था आउँथ्यो। यसले समय र श्रम दुवै खर्चिलो बनाउँथ्यो।
तर अहिले थ्रेसर मेसिनको प्रयोगले दस कठ्ठा क्षेत्रफलमा लगाइएको गहुँ करिब दुई घण्टामै दाउनी गर्न सकिन्छ। यसले किसानलाई छिटो काम सक्ने मात्र होइन, अन्य कृषि गतिविधिमा समय दिन पनि सहज बनाएको छ।
थ्रेसर सञ्चालक बेचन दास भन्छन्, “जहाँ किसानले गहुँ काटेर बोझ राखेका हुन्छन्, त्यहीँ हामी मेसिन लिएर पुग्छौं र दाउनी गर्छौं। ट्याक्टरमा जोडेर थ्रेसर चलाउँछौं।” उहाँका अनुसार अहिले अधिकांश किसानले थ्रेसरकै प्रयोग गर्छन् र एउटै टोलमा पाँच–छ जनासम्म थ्रेसर व्यवसायमा संलग्न छन्।
यसले गाउँमा रोजगारी र आम्दानीको नयाँ अवसर पनि सिर्जना गरेको छ। अर्का सञ्चालक अरुण यादवका अनुसार, “सिजनमा मजदुर र डिजेल खर्च कटाएर राम्रो आम्दानी हुन्छ। धान र गहुँ दाउनीबाट वर्षमा चार–पाँच लाख रुपियाँसम्म आम्दानी हुन्छ।”
उहाँका अनुसार किसानहरूले दाउनीबापत प्रायः नगद नभई अन्नकै रूपमा ज्याला तिर्ने गर्छन्। “हामी जुन बालीको दाउनी गर्छौं, त्यही बाली ज्याला लिन्छौं,” उहाँले भन्नुभयो।
यसरी गोरुको परम्परागत दाउनी विधिबाट थ्रेसरमा रूपान्तरणले कृषिमा यान्त्रिकीकरण भित्रिएको छ। यसले उत्पादन प्रक्रिया सहज, छिटो र प्रभावकारी बनाउँदै किसानको खेतीपाती शैलीमा परिवर्तन ल्याइरहेको छ।