• ५ वैशाख २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ५ गते ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-७, मझौरामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

जिल्लास्थित पातो–कठौना भित्रि सडक खण्डमा शुक्रबार पातोबाट अर्नाहा तर्फ जाँदै गरेको स. ८ प. ९८९३ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही मोटरसाइकलमा पछाडि सवार अन्दाजी ५५ वर्षीया मन्जुदेवी मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएको मण्डललाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका-६, बथनाहा निवासी ३२ वर्षीय सुरेन्द्रकुमार मण्डल नेपाल प्रहरीमा कार्यरत भई ट्राफिक पोस्ट हर्कटे, इलाममा कार्यरत रहेको जनाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सकुशल रहनु भएका मोटरसाइकल चालक मण्डल मृतकको छोरा हुनुहुन्छ ।

मृतकको शव पोस्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको र दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।