• ७ वैशाख २०८३, सोमबार

पहिरो हटेपछि बेनीघाट–लार्के सडक दुई सातापछि सञ्चालनमा

blog

पहिरो हटाइएपछि सञ्चालनमा आएको बेनीघाट–लार्के सडकखण्ड । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, वैशाख ७ गते ।
गोरखा जिल्लाको महत्त्वपूर्ण बेनीघाट–लार्के सडकखण्डमा गएको पहिरो हटाइएपछि दुई सातापछि पुनः यातायात सञ्चालनमा आएको छ । गत चैत २२ गतेदेखि अवरुद्ध रहेको उक्त सडक आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ स्थित कालोभीर क्षेत्रमा खसेको सुख्खा पहिरो लामो प्रयासपछि हटाइएपछि सवारीसाधन आवतजावत सुरु भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा हिमालपारिको चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक जीवनमा ठुलो कठिनाइ भोग्नुपरेको थियो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, “उत्तरी गोरखा पुग्ने मुख्य सडक अवरुद्ध भएपछि खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी ठप्प हुँदा स्थानीयवासी मारमा परे। विकास निर्माणका कामसमेत प्रभावित बने ।”

सडक अस्थायी रूपमा भए पनि सञ्चालनमा आएपछि खाद्यान्न ढुवानी र आवतजावतमा सहज भएको चुमनुब्री गाउँपालिका–३, फिलिमका स्थानीय युवा सुजन गुरुङले बताउनुभयो । उहाँका अनुसार यससँगै मनास्लु क्षेत्र तथा चुमभ्यालीतर्फ जाने पर्यटकलाई समेत राहत पुगेको छ ।

सडक सञ्चालनमा आएसँगै उत्तरी गोरखाको होटल व्यवसाय तथा पर्यटन गतिविधिमा देखिएको अवरोध हटेपछि स्थानीय व्यवसायमा सकारात्मक प्रभाव परेको फिलिमका होटल व्यवसायी फुञ्जो लामाले बताउनुभयो ।

सडक खुलाउन धार्चे गाउँपालिकाले स्थानीय दुई जलविद्युत् कम्पनीसँग सहयोग मागेको थियो । सोही अनुरूप साहस ऊर्जा र यारूखोला हाइड्रोपावर कम्पनीले संयुक्त रूपमा पहिरो पन्छाउने काम सम्पन्न गरी सडक सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको गाउँपालिकाले जनाएको छ ।

हाल सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै स्थानीयवासीमा राहत महसुस भएको छ । अब नियमित आपूर्ति, आवतजावत तथा विकास निर्माणका कामहरू सहज रूपमा अघि बढ्ने विश्वास गरिएको छ ।