• ५ वैशाख २०८३, शनिबार

कथाको कथा

blog

भर्खरै कक्षा सकियो । विश्वविद्यालयको आँगनमा छुु । पठाओ बुक गरेर घर जान लागेको । सरको कथा अनलाइनतिर कतै पाइन्छ भने पाऊँ न । म लेख्न सुरु गर्दै गर्छु ।

“हेलो सर ! नमस्कार !

म ईश्वरा ।

मलाई भीम सरले नम्बर दिनुभएको हो । म दर्शनाचार्य, विद्यावारिधि पढ्दै छु । भीम सरले तपाईंको ‘भत्कँदै आँगनहरू’ कथासङ्ग्रह पढ्न सिफारिस गर्नुभएको थियो । काठमाडौँको धेरै जसो पसलमा खोजेँ, कतै पाइएन । भखरै भएको पुस्तक प्रदर्शनीमा पनि पाइएन । सरसँग छ भने दिनुहुन्छ कि भनेर फोन गरेको ।”

“ए, पुस्तक पसलमा पाइँदैन । म अहिले पोखरामा छु । बुढानीलकण्ठमा बसाइ छ । काठमाडौँ आएपछि उपलब्ध गराउँछु नि, हुन्न ?” “हस सर । मैले फेसबुकमा पनि सर्च गरेँ तर भेटिनँ । मलाई नम्बर चाहिँ निपात भण्डारीले दिनुभएको हो ।” 

“प्रोफेसर डाक्टर लालबन्धु शर्मा छ फेसबुकमा । परिवारसँगको फोटो छ । तपाईंको प्रोफाइलमा के छ ? म पनि हेरौँला नि ।”

“मेरो ईश्वरा अधिकारी नै छ सर ।”

“ए, तपाईंको यही नम्बर हैन ? सेभ गरेर राख्छु । काठमाडौँ आएपछि कि तपार्इं बुढानीलकण्ठ आउनुहोला कि म सिंहदरबार आउँछु अनि भेटौँला ।”

“हस् सर, धन्यवाद ।”

पहिलोचोटि ईश्वरा र प्रोफेसर शर्मासँग औपचारिक कुराकानी यसरी सुरु भएको थियो । कुराकानी भएको तेस्रो दिनसम्म ईश्वराले खासै वास्ता गरिन तर आवधिक पत्र बुझाउने समय कम भएकाले चौथो दिन फेसबुकको सर्च बटममा गएर खोजी । अङ्ग्रेजीमा डाक्टर हानेपछि एउटा आइडी आयो । उनी रिटायर्ड भइसकेको कलेजको गतिविधि सेयर गरेको देखेपछि ईश्वराले रिक्वेस्ट पठाई । तैपनि कन्फर्म गर्न उसले म्यासेन्जरमा नमस्कारको इमोजी पनि पठाई । शर्माजीले तत्काल फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेनन् । पाँच दिन जति भएपछि मात्रै एसेप्ट गरे ।  

साथी बनेको पर्सिपल्ट ईश्वराको फेसबुकको म्यासेन्जरमा नमस्कार नै रिप्लाई आयो ।

त्यसपछि उनीहरूबिच निरन्तर वार्ता हुन थाल्यो ।

ईश्वरा : सर, तपाईं काठमाडौँ कहिले आइपुग्नुहुन्छ ?

शर्माजी : पुस ७ गते हुन्छ होला ।

ईश्वरा : लामै रहेछ नि बसाइ ?

शर्माजी : अहिले चितवन आइपुगेको छु । 

ईश्वरा : ए, काठमाडौँ आउने कुरा थियो त किन चितवन पुग्नुभो ?

शर्माजी : सानु काम थियो । त्यसैले यता आइपुगेँ ।

ईश्वरा : चितवनको बसाइ त लामै रहेछ नि ?

शर्माजी : ससुराली हो यहाँ । केही दिन यतै बसाइ हुन्छ ।

ईश्वरा : घरज्वाइँ हो कि ? क्या हो ? लामो छ त बसाइ ?

शर्माजी : हा हा हा, त्यस्तै हुन लागिसक्यो । 

ईश्वरालाई आवधिक पत्र लेख्ने समय कम छ । शर्माजीका कथा प्रयोगका हिसाबले नवीन छन् भनेर भीम सरको सिफारिस छ । प्रयोगका हिसाबले विनिर्माणभित्र विधा भञ्जन अध्ययन गर्न कथा एक से एक छन् । त्यसैले ईश्वरा बारम्बार प्रोफेसर शर्मालाई ताकिता गरिरहन्छे ।

ईश्वरा : सर अलि अगाडि आउन मिल्दैन ? 

शर्माजी : अलि गाह्रो छ । बुटवलसम्म जाने काम पनि छ । 

ईश्वरा : अहो ! कस्तो मोज, ससुराली बस्यो, घुम्यो । 

शर्माजी : ह्वाट्स एप छैन तपाईंको ?

ईश्वरा : छ सर ।

शर्माजी : त्यता भेटौँ न । 

शर्माजीले गफ गर्न खोजेको फिल भयो ईश्वरालाई । उसले चेन्ज बटममा थिची । चिया खाँदाखाँदै ऊ ह्वाट्स एपतिर पसी । 

ईश्वरा : नमस्कार !

शर्माजी भने म्यासेन्जरमै रहेछन् । अफिसको काम सकेर घर पुगेपछि ह्वाट्स एपमा रिप्लाई आयो ।

शर्माजी : ऐश्वर्या ?

ईश्वरा : हजुर, म हो सर, म ईश्वरा ।

शर्माजी : मैले त नम्बर सेभ गर्दा ऐश्वर्या राखेछु । विनिर्माण भइगो । 

ईश्वरा : म हो नि सर ! दिउँसो उता म्यासेन्जरमा गफ भाथ्यो नि हाम्रो ?

शर्माजी : हो हो, अब कुरा मिल्यो । 

ईश्वरा फेरि म्यासेन्जरतिरै फर्की । साँझ छिपिँदै गइरहेको थियो । ईश्वराले खानपानका विषयमा सोधी । शर्माजीले खुलेरै रिप्लाई दिइरहे  । 

शर्माजी : अब सुत्ने बेला भएन ? म त सुत्न लागेको अब ।

ईश्वरा : सरी सर, मैले तपाईलाई डिस्टर्ब गरेँ । हस् पछि कुरा गरौँला । गुड नाइट ।

शर्माजी : गुड नाइट ।

ईश्वरा : गुड नाइट अगेन । ह्याब अ स्विट ड्रिम ।

शर्माजी : ड्रिम त के कसो हो ? अब म सुतेँ । बुढियाले चिसो भो भनेर बोलाको बोलाइछिन् । है त, बाई ।

ईश्वरा : बाई सर, ह्याब अ वन्डरफुल ड्रिम ।

ईश्वराले ओछ्यानमा मिठो निद्रा परेको इमोजी पठाएर त्यस रातको कुराकानी टुङ्ग्याई । 

भोलिपल्ट अफिस पुगेर ह्वाट्स एपमा म्यासेज गरी ।

ईश्वरा : सर नमस्कार ! सपना कस्तो रह्यो त ?

शर्माजी : हे हे । आफ्नो भन्नु पहिला ।

ईश्वरा : हजुरलाई देखेँ ।

शर्माजी : होला खुब ।

ईश्वरा : रियल हो के । नट अ फन, मेरो बेलुका जोसँग कुराकानी ग¥यो, त्यसैलाई सपनामा देख्ने बानी छ । हजुरले के देख्नु भो ?

शर्माजी : के देख्नु भो ? भन्नु खुरुक्क । अनि म भन्छु । आफूलाई सुन्न हतार भइसक्यो । 

ईश्वरा : हजुर भन्नु न । फेरि यो कुराकानीलाई प्रयोगवादी कथा बनाउनुहुन्छ कि ?

शर्माजी : हे हे हे, प्रयोगवादी ?

ईश्वरा : मैले देखेको सपना खतरनाक थियो । साँच्चै तपाईंलाई कथा लेख्न मिल्ने खालको । 

शर्माजी : कस्तो ? भन्नु के, डिटेल भन्नु । 

ईश्वरा : मेरो आइफोनमा नेपाली फन्ट छैन । रोमनमा लेख्न गाह्रो भयो क्या ?

शर्माजी : अङ्ग्रेजीमै लेख्नु न । अहिले सामान्य कुराकानी गरे जस्तै । तपाईंलाई नराम्रो लागेको मलाई राम्रो लाग्ने हो कि ? के थाहा ।

ईश्वरा : सर के गर्दै हो ? म त संसदीय समितिको बैठकमा रिपोर्टिङमा आएको छु । 

शर्माजी : ओके सरी

ईश्वरा : सुनेर बस्ने हो, जर्नालिस्टले त । माननीय सहिद दशरथ चन्द विश्वविद्यालय विधेयकमाथिको छलफलमा संशोधन प्रस्ताव पेस गर्दै छन् । हो, बरा सुदूरपश्चिममा गरिबले डाक्टर पढ्न पाउने ढोका बल्ल खुल्दै छ । समाचार पनि सकारात्मक नै लेख्नु पर्ला ।

ईश्वराले सांसदहरू छलफलमा बसेको विभागीय मन्त्रीसहित खिचेको फोटो ह्वाट्स एपमा पठाइदिई । 

शर्माजी केही समय अफलाइन भए । “कति कुराकानी मात्रै गर्छन् यी मान्छे । आफूलाई चाँडो कथा पाए आवधिक पत्र लेख्न सुरु गर्थें,” ईश्वराले त्यही संसदीय समितिमा बसेर सोची । फेरि शर्माजीलाई जिस्क्याउनु प¥यो । उसले चार्जमा हालेको मोबाइल झिकेर फेरि म्यासेज गरी ।

ईश्वरा : के गर्दै सर ?

शर्माजी : म त ससुराली ।

ईश्वरा : ससुरालीमा के गर्दै हो भनेको ?

शर्माजी : सुत्ने अब, जाडो छ । 

ईश्वरा : अहो ! कति मज्जा के ?

शर्माजी : अरू के गर्नु त खै ?

ईश्वरा : बटौली जानु नि काम छ भनेको हैन ? 

त्यस दिन मौसम बदलिएको थियो । पश्चिमी वायु नेपाल प्रवेश गरेर पूर्वतिर सर्दै बागमती आइसकेकाले आज पानी पर्न सक्ने मौसमविद्ले बिहानै बताएका थिए । नभन्दै पुस महिनाको त्यस दिन घाम लागेको थिएन । ईश्वरालाई पानी पर्ला र कौसीमा तीन दिनदेखि सुकाउँदा पनि नसुकेको ज्याकेट भिज्ला भन्ने चिन्ता बढ्यो । चितवनतिर शर्माजी पनि सुत्छु भन्थे निदाएछन् क्यार ! सांसदहरू पनि ऐनकानुन बनाउने विषय जस्तो गम्भीर रूपमा लिँदैनन् । अलि टाठोबाटो सांसदले संशोधन पहिला पेस गर्छ । अरू त्यही कुरा दोहो¥याउँछन् । भत्ता बचाउन बोले जस्तो गर्छन् । हाजिर ठोकेर निस्किहाल्छन् । सभापतिको रोमा मन्त्रीज्यू सुनिराछन् । सांसदले उठाएका विषयमा मन्त्रीले अन्त्यमा जवाफ दिने संसदीय प्रव्रिmया त छँदै छ । मन्त्रीले नबोलीकन समाचार पनि त बन्दैन । त्यसैले ईश्वरा माननीयहरूलाई सुन्न बाध्य छे । विषय एउटा छ, माननीयहरू अर्को कुरा उठाउँछन् । झन् समानुपातिक त बोल्दै बोल्दैनन् । जनताबाट जितेर आएका पनि ठ्याक्कै विषयमा बोल्नै जान्दैनन् । कठै ! हाम्रो देशका नीतिनिर्माता ? ईश्वरा पुनः मोबाइलको लक खोल्छे । शर्माजीले म्यासेजको रिप्लाई गरेकै रहेनछन् । ऊ पुनः म्यासेज गर्छे । 

ईश्वरा : निदाइसक्नुभो ? ल ल फेरि पनि सपना देख्नु ।

शर्माजी : हो, म निदाएको छु । 

ईश्वरा : हो रहेछ नि !

शर्माजी : म सपनामा छु ।

ईश्वरा : देख्नु देख्नु सपना, म बाधक बन्दिनँ ।

शर्माजी : हे हे, सपना मात्र त होला नि !

ईश्वरा : सपना भत्काउने अधिकार छैन मेरो ।

शर्माजी : हो हो...

ईश्वरा : दिउँसै बुढाबुढी सुतेर सपना देख्न मिल्छ सर ?  

शर्माजी : जो आज्ञा हजुर !

ईश्वरा : मेरो आज्ञा मान्ने हो भने आजै काठमाडौँ आउनुस् ।

शर्माजी अफलाइन भए । मन्त्रीले जवाफ दिएपछि बैठक सकियो । ईश्वरा अफिस फर्की । समाचार लेखी । प्रसारण भएको समाचार रेडियोको अनलाइन पोर्टलमा पनि छापियो । अनलाइनको समाचार यति भाइरल भयो कि छापिएको सात मिनेटमा १७ हजार आठ सेयर । उसले समाचार लिङ्क शर्माजीलाई पनि सेन्ड गरी । निद्राबाट ब्युँझिएर शर्माजीले दुई घण्टापछि रिप्लाई दिए ।

शर्माजी : ग्रेट...

ईश्वरा : मैले सरलाई निकै डिस्टर्ब गरेँ । अब तपाईं काठमाडौँ आएपछि कुरा गरौँला । 

शर्माजी : छैन डिस्टर्ब । रमाइलो लागिराछ । त्यस्तो लामो भाका राख्न कहाँ पाइन्छ ?

ईश्वरा : सर, वेटिङ नै लामो छ त के गर्नु ? जाबो २० मिनेट लाग्ने बाटो हो चितवनबाट । 

शर्माजी : हो हुन त ।

ईश्वरा : आउनुस् । फेरि जानुहोला के ।

शर्माजी : कस्ती देखिनुभाछ ? खै फोटो हेराैँ त ? चिटिक्क परेर हिँड्नुभा होला त ।

ईश्वार : म सानी फुच्ची छु ।

शर्माजी : के भो त ? सानी नभनम्ला ।

ईश्वरा : तर म हजुरको कथाको राम्रो पाठक बन्न सक्छु । 

शर्माजी : अवश्य, के भन्नुहुन्थ्यो सरले ?

ईश्वरा : प्रयोगका हिसाबले राम्रो छ भन्नुहुन्थ्यो सरको कथा ।

शर्माजी : ए...

ईश्वरा : अब मेरो अफिस टाइम सकियो । यतैबाट विश्वविद्यालय जाने हो ?

शर्माजी : शुभयात्रा ।

ईश्वरा : अब रातको ८ बजे घर पुग्छु होला । 

शर्माजी : बल्ल ?

ईश्वरा : म जस्ट कक्षामा पुगेँ । गाडी जाम भएर ढिला भो ।

शर्माजी : गुड लक ।

ईश्वरा : म्याडम पढाइरहनुभएको छ । मेरो ध्यान त्यता छ फेरि हेर्नु न ?

शर्माजी : यता नहेरी पढ्नु । ज्ञानी भएर ।

ईश्वरा : भनेको त हो । 

शर्माजी : हरे !

ईश्वरा : राम !

शर्माजी : आज्ञा होस् । 

ईश्वरा : आज्ञा त गरिसकेको छु त ।

शर्माजी : के गर्नुभो ?

ईश्वरा : कक्षा चलिरह्यो ।

म चल्न सकिनँ

गुरुमाले हेरिरहनुभो

मैले हेर्नै सकिनँ

तिरमिराएका आँखाले 

अक्षरहरूमा तिमी नदेखेपछि

च्यातच्युत पारेर नोटकापी

खोलेको हुँ 

विश्वविद्यालयको ढोका

र, बाहिरिएकी हुँ कक्षाकोठाबाट ।

शर्माजी : घर पुग्नुभयो ?

ईश्वरा : बाटोमा छुु । मन्त्रीले गाडी पठाइदिनुभएको छ । आरामले जाँदै छु । तपाईंले त भातै खाइसक्नुभो होला ? के खानुभो ?

शर्माजी : दालभात, साग, मासु, दुध...

ईश्वरा : ससुरालीमा त ज्वाइँलाई मेजमानी मिलिहाल्छ । आफूलाई त गएर पकाएर अरूलाई खुवाएर मात्रै खान पाइन्छ । 

शर्माजी : अनि श्रीमान् ?

ईश्वरा : घरको काम नगर्ने मान्छे, जहाँ गए नि भो । घरमा पकाएर खानु पर्छ । बाहिर अरूले पकाएको खान पाइन्छ । 

शर्माजी : म जस्तो हुनु प¥यो नि ! ज्वाइँको मेजमानी खाइरहने ।

ईश्वरा : म त जाममा परेको छु । मिल्छ भने कल गर्छु ।

शर्माजी : पुस्तकबारेमा मात्रै कुरा गर्ने भए गर्न सक्नुहुन्छ । अरू कुरा गर्ने हो भने भोलि म आफैँ गर्छु ।

ईश्वारा : कस्तो डराएको हो ? त्यस्तो नराम्रो नसोच्नु न । 

शर्माजी : (भोलिपल्ट दिउँसो) नमस्ते ! के छ खबर । कुरा गर्न मिल्छ ? म बाहिर निस्केको छु । कपाल कालो बनाउन । जेन्स पार्लर खोजिराछुु । 

ईश्वरा : (झन्डै एक घण्टापछि) कस्तो रह्यो त सिँगारपटार ? पहिला कस्तो हुनुहुन्थ्यो ? कपाल रङ्ग्याएपछि कस्तो देखिनु भो ? हेरौँ त ?

शर्माजी : कालो कलर हालेको ?

ईश्वरा : बुढेसकालमा कपाल फुलेकै सुहाउँछ नि ? किन कालो हाल्नुभो ? मैले त सेतो हालेको छु ।

शर्माजी : (टेलिफोनमा) हेलो के छ ? कता हुनुहुन्छ ?

ईश्वरा : भर्खरै कक्षा सकियो । विश्वविद्यालयको आँगनमा छु । पठाओ बुक गरेर घर जान लागेको । सरको कथा अनलाइनतिर कतै पाइन्छ भने पाऊँ न । म लेख्न सुरु गर्दै गर्छु । 

शर्माजी : हुन्छ पठाउँछुु (यति भनेर शर्माजीले फोन काटे र तत्काल शर्मिला शीर्षकको कविता छापिएको अनलाइनको लिङ्क पठाए) ।

ईश्वरा : सर भिडियोमा कुरा गर्न मिल्छ ?

शर्माजी : तत्काल ह्वाट्स एपमै फोन आयो । उनले आफूलाई देखाए । चस्मा लगाएका थिए । तत्काल क्यामरा ब्याक गरेर अर्का एक वृद्धलाई देखाए । सायद उनीहरू गफ गर्दै बाटोमा हिँडिरहेका थिए । 

शर्माजी : म ससुराबासँग छु । नबोलीकन हेर्नु मात्रै है । कस्तो लाग्यो त देख्नुभो ?

ईश्वरा : कुन ससुराबा, कुन ज्वाइँ, चिन्नै सकिनँ मैले त ।

शर्माजी : मलाई ससुराबा जत्तिकै बुढो सोच्नुभाको हो कि क्या हो ?

ईश्वरा : हिरो बनेर कता हो त अब ?

शर्माजी : अब साली पनि आइन्, मम खान जाने रे ।

ईश्वरा : सालीसँग त खास रमाइलो हुन्छ नि घुमघाम ?

शर्माजी : रमाइलै छ । हात समात्न खोज्छिन् उनी । ससुराबा छन् । घरी घरी लाज लाग्छ । बिचरीको बुढो विदेशमा छन् । भिनाजुसँग बेला बेला मस्किन खोज्छिन् बरा ।

ईश्वरा : साली त भेनाको हक लाग्छ भन्थे, हो रहेछ । ल ल, हक प्रयोग गर्नुस् । 

शर्माजी : (बेलुका ९ बजेतिर) कस्ती भएर सुत्नुभएको छ, टुलुक्क हेरौँ न (तत्काल रिप्लाई नदिएपछि) ।

शर्माजी : चाहिने बेलामा नपाइने रहेछ ?

ईश्वरा : सर म त उपसभामुखसँग मकवानपुर आएको छु । आज उहाँकै क्वाटरमा बसिन्छ । सुत्न लागेको, भोलि बिहानै ननिस्किए अफिस भ्याइँदैन । गुड नाइट... ।

शर्माजी : मोज छ । पावर पनि कत्रो रहेछ । डर पो लाग्यो । 

ईश्वरा : डराउनु पर्दैन । साथी हुन् उपसभामुख । त्यही भएर आएको । फेरि यहाँबाट राम्रो रिपोर्टिङ पनि हुन्छ भनेर । अहिले त प्रदेश मुकाम हो नि हेटौँडा ।

शर्माजी : ल ल, म नि सुत्छु । हिजो खास राति राम्रोसँग निदाइएन । बुढियाले डिस्टर्ब गरिन् । आज त एक्लै सुत्न लागेको छु ।

ईश्वरा : (भोलिपल्ट दिउँसो) सर आज नि सुत्नुभो ? कि सपनामा हुनुहुन्छ ? 

शर्माजी : सपनामै छु । तपाईंसँगै छु । हे हे ।

ईश्वरा : सपना भई आँखामा आउने को होला ? 

रहर भई मनमा बस्ने 

को होला ? चोरी लाने मदेखि मलाई 

को होला ?

पुरानो चलचित्रको गीत । साह्रै मन छुुने छ । यस गीतमा भुवन केसी र निरुता सिंहको अभिनय पनि उस्तै बेजोडको । सुटिङ गरेको ठाउँ, हिरो हिरोइनको कपडा पनि परम्परावादी । हुन त अहिले जस्तो प्रविधियुक्त क्यामरा त्यतिखेर थिएनन् । समय फेरियो । नयाँ नयाँ प्रविधि आयो तर पनि त्यो गीत यसरी नै मिल्छ । आज मैले नि प्रयोग गर्न पाएँ । 

शर्माजी : (पर्सिपल्ट) नमस्कार ! के छ ? खाजा खानु भो ? के खानु भो ?

ईश्वरा : खाएँ । कोदोको सुप, फापरको मम अनि मही ।

शर्माजी : सिंहदरबार त कति गरिब भएछ हगी ? गरिबको खाना बेच्दो रहेछ सिंहदरबार । मैले त ससुुरालीमा चिकन फ्राई खाएँ । फ्रिजबाहिरको कोकाकोला पनि ।

ईश्वरा : सिंहदरबार फेरिएको छ । जसरी बुढानीलकण्ठ जवानबाट बुढो भयो । चाउमिन बर्गर, पिज्जा, कोक, फ्यान्टा रुँदै होलान् उता । यता मही, दुध, दही हाँस्दै रमाइरहेछन् । ठालुहरू त्यतै खाँदा हुन् ।  साना सिंहदरबार पसे । आजकल सिंहदरबार मही बेच्न रुचाउँछ । गरिब भएर माननीयहरू यी सब खाइरहेका छैनन् । ठुला मान्छे त बाँचेर जनतालाई दुःखको सेवा दिन यस्ता खान रुचाउन थालेको गणतन्त्र आएपछि नै हो । सुखको सेवा दिने पो मर्न हतारिन्छन् यहाँ । कोदो, फापर खाएर उनीहरू धेरै बाँच्न रुचाउँछन् । गाउँमा सहरी हावा चल्दै छ । त्यही हावाले गाउँमा नराम्रो प्रभाव पार्न थालेको छ । 

शर्माजी : लौ मैले सकिनँ । अँ आज त मेरो सपनाबारे सोध्नुभएन त ?

ईश्वरा : भने पो सोध्नु ?

शर्माजी : भन्न अलि अप्ठेरो खालको छ के मेरो सपना ।

ईश्वरा : खै सर मिल्छ भने भन्नु क्यार ! नत्र मेरो कथा पूरा हुनै लागिसक्यो । 

शर्माजी : सपनामा तपाईं चितवन आउनुभएछ । हामीसँगै रारा घुम्न गएछाैँ । यस्तो चिसोमा । पैसा बचत गर्न हामी एउटै कोठामा बसेछौँ । म एउटा बेडमा सुतेको रहेछु । तपाईं अर्कोमा । डिम लाइट बालेपछि म जुरुक्क उठेछुु । तपाईं निदाइसक्नुभएको थियो सायद । एकछिन बसेर हेरेछु । अनि तपाईंको छेउमा गएर ओड्ने तानेछु । त्यसपछि चिसो हातले तपाईंको गाला स्पर्श गरेपछि तपाईं तसिर्नुभो । सायद निद्रामा हुनुहुन्थ्यो । 

ईश्वरा : कल्पना हो यो ।

शर्माजी : अँ, निद्रामा बुढो भन्ठानेर मलाई तान्नुभो । म नजिक गएँ । स्वास बढ्दै गयो । म टाँस्सिएँ अनि हात तपाईंको... ।

ईश्वरा : भो सर भो । कथा पूरा भयो । तपाईंलाई धन्यवाद (यत्ति भनेर ईश्वराले दुवैतिर शर्माजीलाई ब्लक हान्दिई) ।

पुरुषहरू पुरुष नै हुन् । चाहे लोग्ने, चाहे अरू । अक्सर यस्तै गरेर मन चोर्छन् । ईश्वराले शर्माजीको मनसाय बुझ्न कुराकानी अघि बढाएकी थिई । पदीय हिसाबले माथि रहेका झन् बढी महिलाप्रति सचेत हुन्छन् होला भनेको त ! बोल्दाबोल्दै भित्रै पस्न आँटे । प्रोफेसरलाई ईश्वराले मज्जाले प्रयोग गरी । जसरी कथामा शर्माजीले विनिर्माणको प्रयोग गरेका छन् ।