• ५ वैशाख २०८३, शनिबार

नेपाली साहित्य भक्ति, शक्ति र मुक्ति

blog

नेपाली साहित्यको इतिहासमा विभिन्न समयमा भएका आन्दोलनले समाजको ऐनाका रूपमा काम गरेका छन् । यी आन्दोलन केवल शैली परिवर्तनका लागि मात्र नभई तत्कालीन राजनीतिक निरङ्कुशता र सामाजिक जडताविरुद्धका वैचारिक विद्रोह पनि थिए । जसले नेपाली साहित्यमा धेरै मोड नै ल्याएका छन् । सुक्तिसिन्धु काण्ड १९७४ को सूत्रधार मोतीराम भट्ट र पद्मविलास पन्त हुनुहुन्थ्यो ।  

विसं १९७७ को मकैको खेती काण्डका सूत्रधार सुब्बा कृष्णलाल अधिकारी देखिनुभयो । १९६५ को हलन्त बहिष्कार आन्दोलनका प्रवर्तक साहित्यकार राममणि आदी हुनुहुन्थ्यो । साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको नेतृत्वमा भएको नेपाली साहित्यको अर्को विशिष्ट आन्दोलन हो– विसं १९८७ को पुस्तकालय पर्व । यस्ता थुप्रै आन्दोलनमध्ये २०१३ को झर्रोवादी आन्दोलन पनि प्रभावकारी आन्दोलन हो, जसको नेतृत्व साहित्यकार बालकृष्ण पोखरेल, तारानाथ शर्मा, चूडामणि रेग्मीले गर्नुभएको थियो । नेपाली साहित्यमा २०२० मा भएको आयामेली साहित्यिक आन्दोलनलाई वैचारिक आन्दोलनका रूपमा लिने गरिन्छ । इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभ यो आन्दोलनका अगुवाले त्यो आन्दोलन हाक्नुभएको थियो । साहित्यकारहरू पारिजात, मञ्जुल, रायन, विमल निभाको अगुवाइमा भएको २०२३ र २०२४ को राल्फा आन्दोलन, साहित्यकार कविताराम श्रेष्ठ र शैलेन्द्र साकारको अगुवाइमा २०२६ मा भएको अस्वीकृत जमात, यसै समय साहित्यकार द्वारिका श्रेष्ठले नेतृत्व गर्नुभएको अमलेख आन्दोलन, साहित्यकार भूपी शेरचन र वासु शशीको अगुवाइमा भएको २०२१ को बुटपालिस आन्दोलन, २०२६ मा भवानी घिमिरे र अन्य समकालीन कविले गरेको सडक कविता क्रान्ति, २०६२ मा ज्योतिकिरणको नेतृत्वमा सङ्गठित युवा साहित्यकार अनिल गोर्खाली, भारती मैनाली, भुवन आदिम, मनोज तपस्वी, सीता आस्था, दीपिका मिश्रलगायत स्रष्टाले चलाएको नेपाली गणतान्त्रिक साहित्यिक अभियान, साहित्यकार फणीन्द्र नेपाल र विनय कसजूको नेतृत्वमा भएको तरलवाद आन्दोलन जस्ता आन्दोलनले नेपाली साहित्यलाई परम्परागत घेराबाट बाहिर निकालेर आधुनिक र मौलिक बनाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । नेपाली साहित्यमा यीबाहेक पनि इन्द्रबहादुर राई र कृष्ण धरावासीको ‘लीलालेखन’, हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाको अगुवाइ रहेको ‘सिर्जनशील अराजकता,’ धर्मेन्द्र नेम्वाङको अगुवाइ रहेको ‘रङ्गवाद,’ टङ्क आचार्य र प्रकाश आङदेम्बे नेतृत्वको ‘मुक्त अभियान,’ रश्मीशेखर सुवेदीको ‘सौहार्द अवधारणा’ र यो पङ्क्तिकार ज्योतिकिरणको चिन्तन र प्रवर्तनमा चलेको ‘विद्रोहको दर्शन र काव्य सत्ता’ तथा चिन्तक एवं प्रवर्तक डेनजम साम्पाङको नेतृत्व रहेको ‘स्वीकारोक्ति दर्शन र लेखन’ जस्ता अन्य प्रभावशाली चिन्तन र अभियान पनि सक्रिय रहेका छन् ।

पर्व, काण्ड र आन्दोलनको प्रभाव

नेपाली वाङ्मयको इतिहासमा ‘मकैको खेती काण्ड’ केवल एउटा साहित्यिक घटना मात्र होइन, यो वैचारिक स्वतन्त्रता र राजनीतिक चेतनाको एउटा प्रस्थानविन्दु पनि हो । विसं १९७७ मा सुब्बा कृष्णलाल अधिकारीद्वारा लिखित ‘मकैको खेती’ पुस्तकले राणाकालीन अँध्यारो युगमा बौद्धिक विद्रोहको एउटा दियो बालेको थियो । तत्कालीन राणा शासनमा बोल्नु र लेख्नु अपराध मानिन्थ्यो । सुब्बा कृष्णलालले मकैको खेती गर्ने तरिका सिकाउने बहानामा राणालाई व्यङ्ग्य गर्दै ‘मकै खाने रातो टाउको भएका कीरा’ (राणा शासकहरू) र ‘सेतो टाउको भएका कीरा’ (चन्द्रशमशेर र उनका भाइहरू) को प्रतीक प्रयोग गर्नुभयो । यसले नेपाली साहित्यमा प्रतीकात्मक विद्रोहको जग बसाल्नुका साथै साहित्यकारलाई कलम कहिल्यै शक्तिको दास हुनुहुँदैन भन्ने पाठ सिकायो । मकैको खेती पुस्तक जफत गरिनु र लेखकलाई जेलमा हाली मृत्युवरण गर्न बाध्य पारिनुले नेपाली साहित्यमा साहित्यिक सहिदको अवधारणा जन्मियो । यो घटनाले लेखकको स्वतन्त्रताको मूल्य कति महँगो हुन्छ भन्ने ऐतिहासिक तथ्यसमेत स्थापित गरेको छ ।

मकैको खेती काण्डभन्दा अघि नेपाली साहित्य प्रायः भक्तिधारा र शृङ्गारिक भावमा रुमल्लिएको थियो । कृष्णलालले कृषिको माध्यमबाट समाजको यथार्थ चित्रण र शासकको शोषणलाई उजागर गरेर प्रगतिशील साहित्यको अनौपचारिक शिलान्याससमेत गर्नुभयो । मकैको खेती काण्डले साहित्यमा व्यङ्ग्य र प्रतीकात्मक शैलीको विकास, राणा शासनविरुद्ध जनमानसमा असन्तुष्टिको बीजारोपण, सत्य र न्यायका लागि प्राणको आहुति दिने प्रेरणा र सरल र ठेट नेपाली शब्दको प्रयोग गरी जनजीवनसँग साहित्यलाई जोड्ने प्रयास गरेको पाइन्छ ।

‘मकैको खेती’ पुस्तकले नेपाली साहित्यलाई दरबारिया मनोरञ्जनबाट निकालेर जनताको आवाज बनाउने दिशामा मार्गप्रशस्त गरेको थियो । सुब्बा कृष्णलाल अधिकारीको त्यो साहसले नै पछिल्ला पुस्ताका साहित्यकारलाई निर्भीक भएर कलम चलाउने ऊर्जा दियो । आजको स्वतन्त्र लेखनको जगमा कतै न कतै त्यही ‘मकैको खेती’ बाट सुरु भएको बलिदानको अवशेष रहेको छ ।

यो केवल एउटा पुस्तकको प्रतिबन्ध थिएन, बरु नेपाली बौद्धिकताको जागरणको एउटा कठोर परीक्षा थियो, जसमा साहित्य विजयी भयो र तानाशाही सधैँका निम्ति पराजित भए ।

नेपाली वाङ्मय र राजनीतिक चेतनाको इतिहासमा विसं १९८७ को ‘पुस्तकालय पर्व’ एक अत्यन्तै साहसिक, दूरगामी र क्रान्तिकारी मोड हो । जतिबेला राणा शासनको अन्धकार युगमा शिक्षा र सूचनामाथि कडा प्रतिबन्ध थियो, त्यतिबेला पुस्तकालय स्थापनाको जमर्को गर्नु केवल शैक्षिक अभियान मात्र नभएर स्वेच्छाचारी शासनविरुद्धको वैचारिक विद्रोह थियो ।

पुस्तकालय पर्वभन्दा अगाडि शिक्षा र पुस्तक केवल दरबार र सीमित सम्भ्रान्त वर्गको पहुँचमा थिए । लक्ष्मीप्रसाद देवकोटालगायत ४५/४६ जना युवाले ‘सरस्वती पब्लिक लाइब्रेरी’ खोल्ने जुन प्रयास गर्नुभयो, त्यसले नेपालमा सार्वजनिक पठन संस्कृतिको बीजारोपण ग‍¥यो । साहित्यलाई व्यक्तिको बैठकबाट निकालेर समाजको साझा आँगनमा ल्याउने पहिलो संस्थागत प्रयास यही नै थियो । साहित्य केवल मनोरञ्जनका लागि मात्र होइन, बरु यो त परिवर्तनको संवाहक पनि हो भन्ने तथ्य पुस्तकालय पर्वले स्थापित ग‍¥यो । यस पर्वले नेपाली साहित्यमा स्वच्छन्दतावादी र यथार्थवादी धारालाई मलजल गर्ने वैचारिक धरातल तयार पा‍¥यो । विदेशी पुस्तकको अध्ययनमार्फत विश्वमा भइरहेका लोकतान्त्रिक क्रान्ति र नवजागरणका लहर नेपाली साहित्यकारको चेतनामा प्रवेश पाए ।

राणा प्रधानमन्त्री भीमशमशेरको शासनकालमा पुस्तकालय खोल्न खोज्ने युवालाई जेल हाल्ने र जरिबाना तिराउने काम भयो । यस घटनाले लेखकमा एक प्रकारको प्रतिरोधी चेतना विकास ग‍¥यो । यसपछि नै नेपाली साहित्यमा प्रत्यक्ष वा परोक्ष रूपमा सामन्तवाद विरोधी स्वरहरू मुखरित हुन थाले । रिद्धिबहादुर माथेमा, चित्तरञ्जन नेपाली जस्ता व्यक्तित्वहरूको सक्रियताले साहित्यलाई राजनीतिक अधिकारसँग जोड्न सफल भयो ।

यद्यपि त्यो समयमा पुस्तकालयमाथि प्रतिबन्ध लाग्यो तर त्यसले सिर्जना गरेको छटपटीले पछि विभिन्न साहित्यिक संस्थाहरूको जन्म भयो । पुस्तकालय पर्वकै जगमा उभिएर पछि नेपाली साहित्यका मानक पत्रिकाहरू र वाचनालय विस्तार भए । यसले नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पु¥याउन अनुशासन र सङ्गठनको महìव बुझायो । पुस्तकालय खोलेबापत तत्कालीन राज्य सत्ताले लक्ष्मीप्रसाद देवकोटा, योगवीरसिंह कंसाकार, रिद्धिबहादुर माथेमा आदिलाई गिरफ्तार गरियो । जनही सय  रुपियाँ जरिवाना र कडा निगरानी गरियो । यसको परिणाम नेपालमा वैचारिक क्रान्ति र प्रजातन्त्रको आधारशिला निर्माण भयो । पुस्तकालय पर्व नेपाली साहित्यको इतिहासमा त्यो ठुलो विस्फोट थियो, जसले ढङ्गे युगको मानसिकता बोकेको राणाशाहीलाई पहिलो पटक शब्द र ज्ञानको शक्तिसँग डराउन बाध्य तुल्यायो । पुस्तकालय पर्व केवल एउटा असफल प्रयास थिएन, बरु यो नेपाली साहित्यमा बौद्धिक जागरणको शङ्खघोष थियो । यसले नेपाली लेखकलाई ‘भक्त’ बाट ‘द्रष्टा’ र ‘विद्रोही’ मा रूपान्तरण गर्न ठुलो भूमिका खेल्यो । आज हामीले उपभोग गरिरहेको स्वतन्त्र लेखन र पठनको अधिकार यही ऐतिहासिक जगमा उभिएको छ ।

आयामेली आन्दोलनले नेपाली कविता र कथालाई केवल भावनात्मक कुतकुतीबाट माथि उठाएर दार्शनिक र गम्भीर विमर्शको विषय बनाएको छ । दार्जलिङबाट सुरु भएको यो आयामेली आन्दोलनले साहित्यमा वस्तुको लम्बाइ र चौडाइ मात्र नभएर त्यसको गहिराइ (आयतन) पनि हुनुपर्ने तर्क अघि सारेको थियो । भाषालाई नयाँ अर्थ दिनु, नेपाली साहित्यमा आधुनिकताको जग बसाल्नु र विषयलाई केवल सतहमा होइन, मानिसको गहिराइमा पुग्न प्रयत्न गर्नु आयामेली आन्दोलनको उद्देश्य रहेको साहित्यकार बैरागी काइलाको भनाइ छ ।

झर्रोवादी आन्दोलनले संस्कृत र अन्य भाषाको अत्यधिक प्रभावबाट नेपाली भाषालाई मुक्त गराई जनजिब्रोको भाषालाई साहित्यमा स्थापित गरेको छ । झर्रोवादी आन्दोलन नेपाली भाषामा रहेका अनावश्यक संस्कृत, हिन्दी र अङ्ग्रेजी शब्द हटाएर ‘झर्रो’ वा ठेट नेपाली शब्द प्रयोग गर्नु पर्छ भन्ने मान्यतामा आधारित थियो । यो आन्दोलनको प्रभाव र औचित्यबारे यो आन्दोलनका अगुवा साहित्यकार बालकृष्ण पोखरेलले भन्नुभएको छ, “हामीलाई संस्कृतका शब्दसँग रिस छैन तर नेपाली भाषाको आफ्नै मौलिक सौन्दर्य र सामथ्र्य छ । नेपाली भाषालाई आफ्नै खुट्टामा उभिन सिकाउनु नै झर्रोवादको मुख्य लक्ष्य हो ।”

राल्फा र सडक कविता क्रान्तिले साहित्यलाई दरबार र हुनेखानेको बैठकबाट निकालेर आमजनताको घरदैलोसम्म पु¥याउन सफल भएको मानिन्छ । यसले लोकतन्त्र प्राप्तिको आन्दोलनमा समेत वैचारिक इन्धनको काम गरेको धेरैको मत छ । राल्फा र सडक कविता आन्दोलनपछि नै परम्परागत छन्द र बुट्टा भरिएका लेखनबाट मुक्त भएर आधुनिक ‘मुक्तक,’ ‘गद्य कविता’ र ‘चेतना प्रवाह’ जस्ता नवीन शैलीको विकास भयो । यो आन्दोलनले सामाजिक विसङ्गति र राजनीतिक अन्यायविरुद्ध विद्रोही स्वर उचालेको थियो । राल्फा आन्दोलनको औचित्यबारे बोल्दै साहित्यकार पारिजातले “लेखन केवल मनोरञ्जनका लागि होइन, यो त समाजका विकृतिविरुद्धको एउटा बलियो अस्त्र हो । एउटा लेखकले व्यवस्थाको अँध्यारो पक्षलाई नङ्ग्याउन सक्नु पर्छ” भन्नुभएको छ ।

विसं २०२६ मा भएको अमलेख आन्दोलन पनि नेपाली साहित्यको एउटा विशिष्ट आन्दोलन हो । यो आन्दोलनले परम्परागत लेखन शैली र व्याकरणको बन्धनबाट लेखकलाई मुक्त गर्नुपर्ने कुरामा जोड दिएको थियो । यो आन्दोलनको प्रभाव र औचित्यबारे आन्दोलनका अगुवा साहित्यकार द्वारिका श्रेष्ठले साहित्यमा कुनै पनि किसिमको बन्धन हुनु हुँदैन । विचार र भावलाई स्वतन्त्र रूपमा वहन दिनु नै अमलेख आन्दोलनको सार्थकता रहेको उल्लेख गर्नुभएको छ ।

तरलवाद विसं २०३० मा चलेको अर्को आन्दोलन हो । साहित्य तरल र गतिशील हुनु पर्छ, यो कुनै पनि बेला कुनै पनि रूपमा प्रस्तुत हुन सक्छ भन्ने यसको मान्यता थियो र छ । यो आन्दोलनको औचित्यबारे आन्दोलनका अगुवा साहित्यकार फणीन्द्र नेपालका अनुसार जसरी पानीले भाँडा अनुसारको आकार लिन्छ, साहित्य पनि समय र परिस्थिति अनुसार तरल हुनु पर्छ । जडता नै साहित्यको शत्रु हो भन्ने जगबाट यो आन्दोलन विकास भएको हो ।

विसं २०६२ मा चलेको ‘नेपाली गणतान्त्रिक साहित्यिक अभियान’ राजसंस्था कायम रहेकै बेला तत्कालीन व्यवस्थालाई खुला चुनौती दिँदै खोलिएको संस्था हो । साहित्यमा गणतन्त्रको परिकल्पना नै गणतान्त्रिक साहित्यिक अभियानको प्रारम्भिक रुझान हो । चेतना सङ्गठित भइसकेपछि त्यसले निकास लिन्छ । गणतन्त्रको पक्षमा, बहुलताको पक्षमा, मानवीय गरिमाको पक्षमा उभिने सृजनशील लेखकहरू एक ठाउँमा उभिनु पर्छ । परिवर्तन र सिर्जनाका सम्भावना थिचिएका र शोषणमा परेका मान्छेहरूसँग मात्र छ । यो उत्पीडन भोगिरहेको समाजलाई मुक्त गर्न त्यहाँको भौतिक स्रोत र विभाजित भएका सङ्गीत, साहित्य र कलाका प्रयत्नलाई एउटा प्रवाहको रूपमा ल्याउन आवश्यकताको महसुस हुनु र शोषणरहित समाजको निर्माण गर्ने राजनीतिक जनआकाङ्क्षामा वैचारिक ऐक्यबद्धता निर्माण गर्नु गणतान्त्रिक साहित्यिक अभियानको परिकल्पना र उठान थियो । 

साहित्य र दर्शन

नेपाली साहित्यमा सुरुवाती आध्यात्मिक चिन्तनदेखि आधुनिक अस्तित्ववादी सोचसम्मको यात्रा निकै रोचक रहेको पाइन्छ । दर्शनले साहित्यलाई वैचारिक मेरुदण्ड दिएको छ । दर्शनकै कारण रचना कालजयी बन्न सकेका छन् । नेपाली साहित्यका दार्शनिक धारमध्ये आध्यात्मिक र शास्त्रीय दर्शनको प्रभावले लामो समय ओगटेको पाइन्छ । भानुभक्तदेखि लेखनाथ पौड्यालसम्म आइपुग्दा नेपाली साहित्यमा वेदान्त दर्शन र भक्तिधाराको प्रबल प्रभाव देखिन्छ । आदर्शवाद र नैतिकताको मूल्यबाट सत्यको विजय र असत्यको पराजयको विमर्शसहित मानिसलाई भौतिक आशक्तिभन्दा माथि उठ्न प्रेरित गरेको पाइन्छ ।

मानवतावाद र स्वच्छन्दतावाद नेपाली साहित्यको अर्को दार्शनिक धार हो । लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा ‘मानवता नै ठुलो धर्म हो’ भन्ने दर्शन भित्र्याएको पाइन्छ । 

‘मानिस नै ईश्वर हो’ भन्ने उहाँको चिन्तनले शास्त्रीय जडतालाई तोडिदियो । यहाँ दर्शन प्रकृतिप्रेम र व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको छ । प्रगतिवाद र माक्र्सवादी चिन्तन पनि नेपाली साहित्यको सशक्त दार्शनिक धार हो । विसं २००७ को क्रान्ति वरपरबाट साहित्यमा सामाजिक यथार्थवाद र द्वन्द्वात्मक भौतिकवादको प्रवेश भयो । यसले साहित्यलाई महलबाट झिकेर झुपडीसम्म पु¥यायो । 

श्रमको सम्मान, वर्गविहीन समाजको परिकल्पना र विद्रोही चेत यसका मुख्य खम्बा हुन् । अस्तित्ववाद, विसङ्गतिवाद र उत्तरआधुनिकतावाद नेपाली साहित्यभित्रको अर्को दार्शनिक धार हो । आजको नेपाली साहित्य अझ जटिल र सूक्ष्म चिन्तनतर्फ मोडिएको छ । बिपी कोइरालाले नेपाली आख्यानमा मनोविश्लेषण र अस्तित्ववाद भिœयाएको पाइन्छ । ‘साहित्यमा म अराजकतावादी हुँ, राजनीतिमा समाजवादी’ भन्ने बिपी कोइरालाले साहित्यलाई नयाँ आँखाबाट हेर्न सिकाएको पाइन्छ । 

मानिस आफ्ना निर्णयको उपज हो । ईश्वर वा नियतिले उसको भाग्य लेख्दैन भन्ने अस्तित्ववाद र जीवनको अर्थहीनता र आधुनिक मानिसको एक्लोपन विसङ्गतिवादभित्र कुनै एउटै ‘महासत्य’ हुँदैन, सीमान्तकृत आवाज, पहिचान र विनिर्माण मुख्य कुरा हुन् भन्ने उत्तर आधुनिकतावाद सबै साहित्यभित्र समानान्तर अस्तित्वमा रहेका छन् । पङ्क्तिकार स्वयम् प्रवर्तक रहेको विद्रोहको दर्शन नेपाली साहित्यको पछिल्लो दार्शनिक धार हो । ‘जीवन र प्रकृतिको अस्तित्व विद्रोहसँग अन्तरनिहित छ, हरेक प्राणीको अस्तित्व बाह्य र अन्तर विद्रोहबाट गुज्रिएको हुन्छ, हरेकको मौलिक अस्तित्व विद्रोहबाट निर्माण हुन्छ’ भन्ने विद्रोहको दर्शनको मान्यता हो । साहित्यमा यसको दार्शनिक धार मात्र होइन साङ्गठनिक संरचना र आकार पनि परिकल्पना गरिएको छ । लेखनमा ‘विद्रोही धारा’ र ‘काव्य सत्ता’ यसको लेखन संरचना हो भने विद्रोहको दर्शन यसको वैचारिक आधार हो । नेपाली साहित्यमा साङ्गठनिक संरचनासहितको दार्शनिक धार विद्रोहको दर्शन नै पहिलो हो । पुस्तक ‘विद्रोहको दर्शन र काव्य सत्ता’ नै यसको प्रस्तावना हो । यो दर्शनले साहित्यका सबै खाले बन्धनको अस्वीकार गर्छ । 

साङ्गठनिक संरचनासहित नेपाली साहित्यमा प्रवेश गरेको अर्को दार्शनिक धार स्वीकारोक्ति दर्शन हो । ‘सबैको अस्तित्वको सम्बोधन’ स्वीकारोक्ति दर्शनको मर्म रहेको छ । यस दर्शनका प्रवर्तक डेनजोम साम्पाङद्वारा लिखित पुस्तक ‘अस्तित्वहरूको न्यायिक सम्बोधन’ यस दर्शनको प्रस्तावना हो । स्वीकारोक्ति दर्शनलाई आत्मसात् गर्दै नेपाली साहित्यमा केही स्रष्टाले कलम चलाइरहनुभएको छ । साहित्यकार खगिन्द्रा खुसीद्वारा लेखिएको उपन्यास ‘खुसीको गाउँ’ स्वीकारोक्ति दर्शनमा आधारित पहिलो साहित्यिक पुस्तक हो । अन्य साहित्यकार कर्ण गुरुङ, भक्त राई, दीपा राई, पातलो अन्तरे, आभास श्री खा, ज्ञानबहादुर क्षेत्री र विवश बलिभद्र कोइरालालगायतले पनि यस दर्शन आधारित रहेर कलम चलाउँदै आउनुभएको छ । जीवनका लागि दर्शन भन्ने सन्देश प्रवाहित गर्न विश्वभर यो दर्शन आत्मसात् गर्ने लेखकले एउटै ड्रेस (हरियो सुट) लगाउने र समानताको एउटै सन्देश प्रवाहित गर्ने साङ्गठनिक अभियानसमेत चलाइरहनुभएको छ ।

नेपाली साहित्यिक आन्दोलन केवल साहित्यिक विधाका परिवर्तन मात्र होइनन्, ती त नेपाली समाजको चेतना परिवर्तनका संवाहक हुन् । यिनै आन्दोलनका कारण आज नेपाली साहित्य विश्व साहित्यको तुलनामा उभिन सक्ने गरी आधुनिक, तार्किक र विद्रोही बनेको छ । परम्परालाई तोड्दै नवीनता अँगाल्ने यो क्रमले नै नेपाली वाङ्मयलाई जीवन्त राख्ने छ । साहित्य जब समाजको पदचापसँगै हिँड्न थाल्छ, तब मात्र त्यो आन्दोलन बन्छ र त्यसले युगलाई दिशा निर्देश गर्छ ।

साहित्यमा चिन्तनको भूमिका प्रकाशको जस्तै हुन्छ । भौतिकवादी दृष्टिकोणबाट हेर्दा साहित्य समाजको ऐना मात्र होइन, यो समाज बदल्ने औजार पनि हो । नेपाली साहित्यले हिजोका दिनमा धर्म र मोक्ष सिकाएको थियो । आज यसले अधिकार, पहिचान र अस्तित्वको लडाइँ लड्न सिकाउँदै छ । दर्शनबिनाको साहित्य निष्प्राण हुन्छ र साहित्यबिनाको दर्शन नीरस त्यसैले यी दुईको सङ्गमले नै मानिसको जीवनलाई समृद्धशाली बनाउन सक्छ । नेपाली साहित्यिक आन्दोलनको इतिहास भक्तिबाट सुरु भएर शक्ति (राजनीति), मुक्ति (अस्तित्ववाद) हुँदै आज ‘पहिचान’ र ‘विनिर्माण’ विद्रोह र स्वीकारोक्तिसम्म आइपुगेको छ । हरेक आन्दोलनले नेपाली भाषालाई नयाँ शब्दावली र नेपाली मस्तिष्कलाई नयाँ दर्शन दिएको छ । यी आन्दोलन र दर्शन केवल साहित्यिक विलासिता नभएर नेपाली समाजको रूपान्तरणका वैचारिक संवाहकसमेत हुन् ।